arrow

यसकारण देउवाले यस्ता राजदूत छाने, काँग्रेसलाई तानाशाही पार्टी बनाइँदै

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
deuba-ganeshmanko-batoma.jpeg
काठमाडौं । नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस यतिसम्म निकम्मा निस्केला भन्ने कसैले सोचेकै थिएनन् । राम्रो काम गर्न हजारौं गुणा मेहनत गर्नुपर्छ निकम्मा बन्न एउटै गल्ती काफी छ । त्यसरी नै अहिले चलिरहेका छन् कांग्रेस सभापति शेरबहादुर देउवा । 
 
देउवाको गतिविधिप्रति अहिले काँग्रेसभित्रै चर्को आलोचना हुन थालेको छ । एक वर्षअघि काँग्रेसको बागडोर सम्हालेका देउवाले निर्वाचित भएको एक महिनाभित्रै केन्द्रीय कार्यसमिति पूरा गर्छु भनेर झुठो बोलेका थिए । वर्ष कट्न लाग्दा पनि त्यो झुठो कुरा पूरा गरेका छैनन् । उनी दिनानुदिन गलत निर्णयको शिकार भइरहेका छन् । 
 
त्यसैले त सहमति विपरीत पार्टीलाई एकल ढंगबाट सञ्चालन गरेको निष्कर्ष निकाल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेको छ । कांग्रेस महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको पौडेल पक्षीय बैठकले तत्काल केन्द्रीय कार्य समितिको बैठक नबोलाएमा हस्ताक्षर संकलन गर्ने चेतावनीसमेत दिएको छ ।
 
बैठकस्थलबाटै वरिष्ठ नेता पौडेलले सभापति देउवालाई टेलिफोन गरेर राष्ट्रिय मुद्दाहरूमा छलफल गर्न तत्काल बैठक राख्न माग गरेका थिए । बैठकमा पौडेल पक्षीय नेताहरूले पार्टीलाई सहमति र संस्थागत रूपमा अघि नबढाएको भन्दै आपत्तिसमेत प्रकट गरेका छन् । 
 
पछिल्लोपटक राजदूत नियुक्तिबाट आक्रोशित बनेका पौडेल समूह सरकारको कामकारबाहीको पनि कडा आलोचना गरेका छन् । त्यसो त राजदूत नियुक्ति अहिलेसम्मकै कलंकको विषय बनेको छ । आर्थिक चलखेलका आधारमा राजदूत नियुक्ति गरिएको भन्दै काँग्रेसभित्रै त्यसलाई सच्याउन आग्रह गरिएको छ । 
 
अहिले १४ जना राजदूतको नियुक्तिका लागि सिफारिस गरिएको छ । त्यसमध्ये काँग्रेसका ६ जना छन् । माओवादी केन्द्रका ४, राप्रपाका ३ तथा फोरम लोकतान्त्रिकका एक जना परेका छन् । आर्थिक प्रलोभनमा परी राजदूत बनाइएको आरोप खेपेको काँग्रेस कोटाका चार जना काँग्रेस नै हैनन् भन्ने चर्चा चुलिएको छ । 
 
कांग्रेस कोटाबाट राजदूत भएका आशा लामा, भीम उदास र रमेशप्रसाद कोइराला कांग्रेस नै नभएको खुलेको छ । यस्ता व्यक्तिलाई राजदूत नियुक्ति गर्दा पार्टीको छविसमेत बिगारेको आरोप पौडेल पक्षको छ ।
 
लोकतान्त्रिक संघर्षमा लागेका र कांग्रेसप्रति आकर्षित विज्ञहरूलाई नबनाएर आर्थिक चलखेलको आधारमा राजदूत नियुक्ति गर्दा कांग्रेसमा लाग्ने आम कार्यकर्ता र नेताहरूमा निराशा छाएको भन्दै पौडेल समूहले राजदूत सिफारिस भएका विवादास्पद व्यक्तिहरूको नाम फिर्ता लिन दबाब दिएको हो । 
 
तर हातमा आइसकेको लक्ष्मीको पोको फर्काउने चलन नेपाली राजनीतिमा छैन । अझ त्यो पनि शेरबहादुर देउवाले । गैरकाँग्रेस अनि म्यानपावर कम्पनीका संचालकजस्ता पनि राजदूत सिफारिसमा परेपछि काँग्रेसको हालत के होला । पैसाको पोको बुझाएपछि जस्ता पनि काँग्रेस । 
 
त्यस्ता अवसरवादीलाई पहिले चैते काँग्रेस भनिन्थ्यो । अहिले त सबै काँग्रेस चैते जस्ता भइसके । त्यसो त राजदूत नियुक्तिको विषयमा देउवा र पौडेलबीच व्यवस्थापिका संसद् भवनमै चर्काचर्की परेको थियो । गैरकांग्रेसलाई सच्याउन पौडेलले देउवासंग भनेका थिए । 
 
तर देउवा ‘हाम्रै मान्छे हुन्’ भन्दै पन्छिएका थिए । देउवाले सच्याउन नमिल्ने बताएपछि केही छिन दुई नेताबीच चर्काचर्कीसमेत परेको थियो । पार्टीमा मन्थन हुनु जरुरी छ । तर काँग्रेस यस्तो तानाशाही शैलीमा अगाडि बढिरहेको छ कि यसको अन्ततोगत्वा हुने भनेकै अधोगति हो । काँग्रेस नै ध्वस्त हुनु हो । 
 
मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भए पनि काँग्रेसभित्र तानाशाही प्रवृत्ति हावी छ । हुन त देउवाको अहिलेको जीवनी तानाशाही उद्दत छ ।
 
उनकी जीवनसंगिनी आरजुको पालनपोषण राणाको हातबाट भएकाले पनि उनी उन्मुक्त हुन सकेकी छैनिन् । त्यस्तै हुन् देउवा पनि सरकारमा भएका बेलामा हचुवामा निर्णय गरेर पार्टी सभापतिलाईसमेत जानकारी नदिएर उल्टै पार्टी नै फुटाउने हैसियत राखे । 
 
अहिले देउवा पुनः प्रधानमन्त्री बन्नका लागि पार्टीलाई दाउमा राखेर मुलुकलाई ध्वस्त पार्ने खेलमा लागेका छन् । त्यसका लागि गैरकांग्रेसलाई राजदूत बनाउनु कुन नौलो कुरा भयो र ! (जनभावना साप्ताहिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ