arrow

शेख कमल फुटबलः सेमिफाइनलमा मनाङ र माल्दिभ्सको टीसी भिड्दै

भिडन्त १५ हजार अमेरिकी डलरको

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
press-meet--(1).jpeg
चटगाउँ । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटबल २०१७ को पहिलो सेमिफाइनलमा नेपालको मनाङ मस्र्याङ्दी क्लवले सोमबार माल्दिभ्सको टीसी स्पोर्टस् क्लवसंग खेल्दैछ । नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टीसी स्पोर्टस् विरुद्धको खेल नेपाली समयअनुसार साँझ ६ः१५ चटगाउँस्थित मोहम्मद अजिज रंगशालामा शुरु हुनेछ । 
 
मनाङ समूह ‘बी’ को उपविजेता तथा टीसी स्पोर्टस् समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङले हेड टु हेडमा घरेलु मोहमोदेन स्पोर्टिङ क्लवलाई पछि पारेको थियो । मनाङले समूह चरणको पहिलो खेलमा मोहमोदेनलाई २–० ले पराजित गरेको थियो ।
 
दोस्रो खेलमा अफगानिस्तानको शाहिन आस्मायीसँग ३–१ ले पराजित भएको मनाङ समूह चरणको अन्तिम खेलमा आयोजक अब्हानी लिमिटेडसँग २–२ गोलको बराबरीमा रोकिएपछि हेड टु हेडमा मोहमोदेनलाई पछि पार्दै सेमिफाइनल यात्रा तय गरेको हो । 
 
यता माल्दिभ्सको टीसी स्पोर्टस्ले पहिलो खेलमा ढाका अव्हानी लिमिटेडलाई १–० ले तथा दोस्रो खेलमा कीर्गिस्तानको एफसी आल्गालाई २–१ ले पराजित गरेको थियो । तेस्रो खेलमा भने टीसी स्पोर्टस् दक्षिण कोरियाको पोइचेन सिटिजन एफसीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।  
 
खेलअघि भएको प्रिम्याच कन्फ्रेन्समा मनाङ–मस्र्याङ्दी क्लवका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले टिम सेमिफाइनलको लागि तयार रहेको बताए । माल्दिभ्सको टीसी स्पोर्टस् क्लव पनि केही विदेशी खेलाडीहरुको साथले राम्रो रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताउँदै प्रशिक्षक लोप्साङले मनाङ पनि कमजोर नरहेकाले टीसी स्पोर्टस्लाई हराउने लक्ष्यका साथ मैदान उत्रने बताए ।
 
यस्तै टिमका कप्तान अनिल गुरुङले मिहेनत गरेर खेले टीसी स्पोर्टस्लाई हराउने क्षमता मनाङमा रहेको बताए । अघिल्लो वर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा माल्दिभ्सलाई हराएको स्मरण गर्दै कप्तान गुरुङले यसपटक मनाङको टिममा टिमवर्क राम्रो  भएकाले जित्न सकिने बताए ।
 
‘हामीसँग आठ जना राष्ट्रिय खेलाडी, तीन विदेशी र केही युवा खेलाडीको समिश्रण छ । पक्कै पनि टिम राम्रो बनेको छ ।’ कप्तान गुरुङले भने । 
 
यता माल्दिभ्सका प्रशिक्षक निजम मोहम्मदले मनाङलाई सहजै जित्नेमा आशावादी रहेको बताए । मनाङ र हाम्रो खेल एकै स्तरको भए पनि सोमबार मनाङलाई सहजै जित्ने दाबी गरे ।   
 
यस्तै दोस्रो सेमिफाइनलमा मंगलबार समूह ‘बी’ को विजेता अब्हानी लिमिटेडलेृ चितगोङले समूह ‘ए’ को उपविजेता पोइचेन सिटिजन एफसीसँग खेल्नेछ ।
 
प्रतियोगिताको फाइनल फागुृन २० गते शुक्रबार हुनेछ । प्रतियोगिताको विजेताले ३० हजार अमेरिकी डलर तथा उपविजेताले १५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ