arrow

निर्वाचन गराउन नसके सरकारको औचित्य समाप्तः मन्त्री थापा

‘कर्मचारीहरुले रिस्क लिने हो भने अहिलेको भन्दा ५० गुणा बढि काम गर्न सकिन्छ’

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
काठमाडौँ। स्वास्थ्यन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका छन्।   सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले वर्तमान सरकार नै निर्धारित मितिभित्रै तीन वटै तहको निर्वाचन गर्न गठन भएको स्पष्ट पार्दै भने,‘यो सरकार नै आगामी ०७४ माघ ७ गतेभित्रै तीन तहको निर्वाचन गर्न गठन भएको हो, निर्वाचन नै गर्न नसक्ने अवस्था आयो भने सरकारको औचित्य समाप्त हुन्छ, यो कुरा स्वयम प्रधानमन्त्रीले नै भन्नुभएको छ, त्यसैले हामी निर्वाचन सफल बनाउन खरो उत्रिन्छौं।’
 
उनले घोषित मिति मै स्थानीय तहको निर्वाचन गर्ने कुरामा सरकार अलमलमा नरहेको जिकिर गर्दै भने,‘बैशाख ३१ गते नै निर्वाचन हुन्छ, सरकार अलमलमा छैन, निर्वाचन गराउन नसक्ने हो भने सरकारको औचित्य समाप्त हुन्छ, सरकार हुनुको अर्थ हुँदैन, सरकार लम्ब्याउने र तन्क्याउनेको अर्थ हुँदैन।’
 
साक्षात्कारमा बोल्दै मन्त्री थापाले भने,“सरकारले संसदमा टेबुल गराएको संविधान संशोधन प्रस्तावलाई पारित गराउनको लागि हामी हरसम्भव राजनीतिक प्रयास गर्छौं, यसको बावजुदपनि भनेजस्तो निश्कर्ष निस्कने सकेन भनेपनि सबै दल निर्वाचनमा जान उत्साहित हुनुपर्छ, निर्वाचन आफूलाई पुष्टि गर्ने मौका हो।” 
 
मन्त्री थापाले मधेसी असन्तुष्ट दलहरु संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने बताउँदै संशोधन प्रस्ताव पारित नभए त्यहि एजेण्डालाई निर्वाचनमा लैजान आग्रह समेत गरे।  उनले नेकपा (एमाले)को संविधान संशोधन गर्न हुँदैन भन्ने र मधेसी मोर्चाको संविधानले केही पनि दिएन भन्ने सोच नै अतिवादी रहेको गुनासो पोख्दै भने,‘उनीहरु यीनै एजेण्डा लिएर चुनावमा जान्छन्, तर हामी मध्यमार्गी बाटोमा मुलुकलाई निकास दिने एजेण्डा लिएर चुनावमा जान्छौं।’ 
 
मन्त्री थापाले परिणामुखी कामका लागि आफु सदैव लागिरहेको बताउँदै कर्मचारीको सहयोगबाट सन्तुष्ट रहेको विश्वास व्यक्त गरे। उनले भने, “अहिले गरिरहेको कामलाई निरन्तरता दिए स्वास्थ्य क्षेत्रले ठूलो फड्को मार्छ, यहाँ जे नयाँ काम गर्न खोज्यो, त्यहाँ केही न केही पहिला नै आधार तयार भैसकेको छ, जोड्ने काम मात्रै हो, त्यति गरे धेरै गर्न सकिन्छ, यसको लागि म लागिपरिरहेको छु।”
 
उनले सरकारको जुनसुकै निकायमापनि जोखिम मोल्दा पुरस्कार पाईन्छ भन्ने संस्कार बसाल्न सके अहिलेको भन्दा ५० औं गुणा बढि काम गर्न सकिने दाबी गरे।  थापाले भने,‘नेपालका कर्मचारीहरु रिस्क लिन चाहँदैनन्, किनकी उनीहरुलाई रिस्क लिँदा पुरस्कार पाईन्छ भन्ने कुरा केही छैन, उल्टै खतरा छ भन्ने भान हुन्छ, गलत काम हुन्छ कि भनेर नेपालमा धेरै कानून तथा नीतिहरु बनेका छन्।’ उनले आगामी दिनमा देशका ७५ वटै जिल्लामा सुविधासम्पन्न एम्बुलेन्स पुर्याउनेगरि आफूले काम गरिरहेको जनाउँदै थपे,‘यो कार्यलाई देशभरि तिव्रता दिनुपर्छ, एम्बुलेन्सको सेवा पाउनु भनेको लाईफ सेभिङ्को कुरा पनि हो।’
 
त्यस्तै उनले देशभरिका स्वास्थ्य चौकीमा मेडिकल चिकित्सकको नेतृत्वमा जनशक्ति पुर्याउनेगरि आफूले काम गरिरहेको उल्लेख गर्दै भने,‘वर्षमा अण्डरग्राजुएट २५ सय चिकित्सकहरु उत्पादन हुन्छन्, तीनलाई प्रत्येक स्वास्थ्य चौकीमा पुर्याउनको लागि करिब २ अर्ब रुपैयाँ लाग्ने रहेछ, यो पैसा मन्त्रालयको आफ्नै थैलीमा छ।’
 
त्यस्तै उनले निःशुल्क रुपमा दाताहरुले दान गरेको रगत निःशुल्क रुपमा लिनपनि पाउनुपर्नेगरि व्यवस्था अघि बढाउन आफू लागिपरहेको जनाए। उनले थपे,‘यसको लागि ४० देखि ४५ करोडसम्म लागत लाग्नेछ रहेछ, यो वर्षलाई बजेट पुग्दैन्, अर्को वर्षबाट निःशुल्क गराउनेगरि बजेट विनियोजन हुन्छ।’
 
मन्त्रालयअन्तर्गत रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानका खाली रहेका उपकुलपतिको नाम आफुले प्रधानमन्त्रीलाई दिइसकेको भन्दै यसलाई सरकारले चाँडो निर्णय गर्ने बताए। उनले भने,‘मैले करिब डेढ महिना अघि नै प्रधानमन्त्रीलाई नाम दिईसकेको छु, मेरो अधिकार सिफारिश गर्ने मात्रै हो।’ 
 
फरक प्रशँगमा उनले पार्टीभित्र गुट÷उपगुट हुनु स्वभाविक भएको टिप्पणी गरे। उनले भने,‘दुनियाँमै गुट नभएको  पार्टी कहीँपनि छैन, संसारभरि यो चलन हुन्छ, हाम्रो पार्टीमा पनि छन, पार्टी गुटहरुको महासंघ बन्यो भनेमात्रै चिन्ता हो।’ उनले पार्टी पदाधिकारी चयनको लागि ढिलाई गर्न नहुने धारणा राखे। 
 
पार्टीभित्र एउटा पक्षले विरोध गरिरहेको छ नि भन्ने प्रश्नमा उनले भने,‘अहिलेसम्म सरकारले वा पार्टी नेतृत्वले यो गर्नुपर्यो, त्यो गर्नुपर्यो भनेर कुरा उठाएको मलाई अहिलेसम्म थाहा छैन, मैले भनेको यति जना मान्छे राजदुत भएन, अरु नियुक्तीमा आफ्नो मान्छे भएनन् भनेर मुल्यांकन गर्ने कुरा न्यायोचित होईन्, उहाँहरुको आपत्ति के हो भन्ने कुरा नै स्पष्ट छैन, पार्टीले लिएको लाईनसँग हो कि वा सरकारले गरेको राजदुत सिफारिशसँग हो ?।’ 
 
त्यस्तै उनले मानव अंग दान गर्न रहेका केही कानूनी जटिलताहरु फुकाईसकेको जानकारी दिँदै भने,‘अब मानव अंग दान गर्न चाहानेहरुले गर्न सक्नुहुन्छ, ब्रेन डेथ भएकाहरुले आफ्नो अंग अरुलाई दान गरेर जीवन बचाउन सकिन्छ, मैले आम नागकिरलाई सचेतना होस् भनेर आँफैले हिजो अंग दानको घोषणा गरेको छु।’
 
हालै सरकारले गरेको राजदुत सिफारिशबारे के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘राजदुत सिफारिश गर्दा एकैचोटी नाम पेश भयो, यसबारमो अनुभवी मन्त्रीज्यूलेपनि प्रश्न उठाउनुभएको हो, एकैचोटी नाम आएपछि प्रश्नहरु उठाउनुभएकै हो, नाम, विवरण र योग्यता के हो? भनेर विस्तृत अध्ययन गर्न दिईएन।’ थपाले सिफारिश राजदुतमध्ये केहीको नाम सरकारले फिर्ता लिएको छ नि भन्ने कुरा आफूलाई अहिलेसम्म जानकारीमा नआएकोले भोलि बस्ने मन्त्रिपरिषदको बैठपछि मात्रै भन्न सकिने स्पष्ट पारे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ