arrow

तत्काल ताला नखुले काठमाडौंका यी क्याम्पसमा स्ववियु चुनाबै नहुने (नामावली सहित)

प्रहरी लगाएर ताला फाेर्न क्याम्पसप्रमुखहरुले मानेनन्

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
FSU.jpeg
काठमाडौं । विभिन्न विद्यार्थी संगठनहरुको तालाबन्दीका कारण काठमाडौंका ठूला भनिएका केही क्याम्पसहरुमा स्ववियु निर्वाचन नै नहुने सम्भावना बढ्न थालेको छ । स्वतन्त्र विद्यार्थी युनियनको फागुन १८ गतेको लागि तोकिएको निर्वाचनको प्रक्रिया सोमबारसम्म अघि नबढेका ती क्याम्पसहरुमा अर्काेवर्षसम्म स्ववियु चुनाव नै नगराउने पक्षमा त्रिवि देखिएको हो । विभिन्न विद्यार्थी संगठनहरुले गरेको तालाबन्दीका कारण १८ गतेपनि निर्वाचन नगरेका क्याम्पसहरुमा फेरि अर्काे मिति तोकेर स्ववियु निर्वाचन नगराउने त्रिविले जनाएको हो । 
 
अहिले राजधानीका अधिकांश ठूला क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले नै गरेको तालाबन्दीका कारण सोमबारको लागि तोकिएको निर्वाचन प्रक्रिया समेत अघि बढ्न सकेको छैन । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीले अहिलेसम्म त्रिविका कूल ६० वटा आंगिक क्याम्पस मध्ये राजधानीका १३ क्याम्पस र राजधानी बाहिरका ११ क्याम्पसमा निर्वाचनको प्रक्रिया अघि बढेको जानकारी दिईन् । सो बाहेकका क्याम्पसहरुमा तालाबन्दी भएकोले स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढ्न नसकेको हो । 
 
विभिन्न विद्यार्थी संगठन र त्रिविका पदाधिकारीहरुबीच प्रहरी लगाएर ताला फोड्ने सहमति भएपनि सो योजनामा क्याम्पस प्रमुखहरुले नै असहमति जनाएपछि अहिलेसम्म पनि ताला खुल्न नसकेको हो । क्याम्पसप्रमुखहरुले वार्ताको माध्यमबाट निकास खोज्ने बताएपछि प्रशासन लगाएर तालाफोर्ने योजनाबाट त्रिवि पछि हटेको त्रिपाठीले जानकारी दिईन् । 
 
ती क्याम्पसहरुमा अब कहिले हुन्छ त स्ववियू ? भन्ने प्रश्नमा त्रिपाठीले भनिन् ‘फाल्गुन १८ गते निर्वाचन नहुने क्याम्पसहरुमा अर्काे वर्ष नभई निर्वाचन हुँदैन । हाम्रो अरु केही काम छैन र बाह्रै महिना स्ववियु निर्वाचन गरेर बस्नलाई ?’उनले स्थानीय तहमा क्याम्पसहरुले नै सक्रियता देखाएर निर्वाचन गरेको खण्डमा जुनसुकै समयमा पनि स्ववियु निर्वाचन हुन सक्ने भन्दै यही निर्वाचनको लागि त्रिवि भने अव सक्रिय नहुने स्पष्ट पारिन् । 
 
अहिले राजधानीका क्याम्पसहरुमध्ये सानोठिमी क्याम्पस, भक्तपुर क्याम्पस, थापाथली क्याम्पस, पुल्चोक क्याम्पस, मीनभवन क्याम्पस, जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस र नर्सिङ क्याम्पसमा चुनावी प्रक्रिया अगाडि बढिरहेको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए । 
 
त्यस्तै, केन्द्रीय क्याम्पस, ताहाचल क्याम्पस, सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस, अमृत साईन्स क्याम्पस, ल क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या क्याम्पस, विश्वभाषा क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस र पाटन क्याम्पसमा अझै पनि चुनावी प्रक्रिया सुरु भएको छैन । सम्भवतः सोमबारभित्रै ताला फोरिएन भने ती क्याम्पसहरुमा तत्काल निर्वाचन हुने सम्भावना देखिँदैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ