arrow

गृहमन्त्रीलाई ओलीको चेतावनीः भन्छन् – ‘हल्का नहुनुस्’

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
oli-large.jpg.jpeg
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पार्टीको मेची–महाकाली अभियान बिथोल्ने प्रयास भए सह्य नहुने चेतावनी दिएका छन् । शुक्रबारबाट सञ्चालन हुन लागेको तराई राष्ट्रिय जागरण अभियानबारे जानकारी दिन बुधबार पार्टीद्वारा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले त्यस्तो चेतावनी दिएका हुन् ।
 
‘हामीले अप्रिय घटना भए जिम्मेवारी लिनुपर्ने वक्तव्य जारी गरिसकेका छौँ, त्यसलाई लाइट्ली (हल्का) नलिनु होला,’ ओलीले भने, ‘हामी कसैका ¥याली, सभा बिथोल्ने असंवैधानिक र अलोकतान्त्रिक काम गर्दैर्नौँ, त्यो उद्दण्ड व्यवहार एमालेलाई स्वीकार्य हुनेछैन ।’
 
एमालेले अध्यक्ष ओलीसहित शीर्ष र केन्द्रीय नेताहरूको सहभागितामा ५ चैतसम्म ठूलो जनसमूह उतार्ने गरी झापादेखि कञ्चनपुरसम्म जागरण अभियान चलाउँदै छ । 
 
केही दिनअघि गृहमन्त्री विमलेन्द्र निधिले एमाले तराई आए प्रतिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले कडा चेतावनी दिएका हुन् ।
 
हल्का व्यवहार नदेखाउनुस् गृहमन्त्रीजी
म गृहमन्त्रीलाई सम्झाउन चाहन्छु– गृहमन्त्री कुनै दल या भूगोलविशेषको होइन, एमाले उहाँलाई मनपर्छ या पर्दैन, बेग्लै कुरा हो, एमाले भवितव्य आइपरेर बनेको पार्टी होइन, संवैधानिक हैसियतसहित उपस्थित छ । उहाँको कर्तव्य देशमा शान्ति–सुव्यवस्था कायम गर्ने हो, भ्रम फिँजाउने होइन । कुनै अप्रिय घटना भए जवाफदेही हुनुपर्ने वक्तव्य जारी गरिसकेका छौँ । यसलाई लाइट्ली (हल्का) नलिनुस्, गृहमन्त्रीजी । हामीले धेरै गृहमन्त्री देखेका छौँ । कसैका पनि सभा, र्‍याली हामी बिथोल्दैनौँ, त्यसो गर्नु असंवैधानिक र उद्दण्ड व्यवहार हुन्छ, त्यसलाई एमालेले स्वीकार गर्दैन । एमालेलाई लखेट, आउन नदेऊजस्ता कुराहरू पनि आएका छन्, हतार नगरौँ, चुनावमै भेटौँला । किन दन्तबजान गर्नु ? वक्तृत्वकलामा जित्नुछैन एमालेलाई, चुनावमै भेटौँला ।
 
प्रधानमन्त्रीको सम्बोधन गज्जब
अस्ति साँझ एउटा सम्बोधन आयो । प्रधानमन्त्रीको त्यो सम्बोधन गज्जबको लाग्यो, कसले वितण्डा मच्चायो रु कसले मधेस र पहाडबीच साम्प्रदायिकता भड्काउन खोज्दै छ रु तर, म अहिले त्यतापट्टि जान चाहन्न । यो संविधानले अधिकार र अवसरमा कतै विभेद गरेको छैन । सुशासनका पक्षमा भोलि संशोधन गर्नुपर्ने पनि हुन सक्छ, तर संविधानले ठग्यो भन्दै भ्रम फिँजाइएको छ ।
 
नाममा बिजनेस चलाएर मिसाइलको बिक्री ?
एमाले र केपी ओली मधेसविरोधी भन्दै भ्रम फैलाइएको छ । सरकारको नेतृत्वको अवसर पाउँदा एमालेले जति तराईलाई कसैले बजेट छुट्याएन, भविष्यमा पनि त्यति छुट्याउन गाह्रै पर्ला । यदि मेरै नाममा कसैको ‘बिजनेस’ चल्छ भने त्यो राम्रै कुरा हो, तर देशकै लागि विषाक्त मिसाइल बिक्री गर्नु राम्रो होइन ।
 
अभियान‘ तमसोमा ज्योतिर्गमय हो
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अगुवाइ गरे, तर त्यो पृथ्वीनारायणको होइन देशको एकीकरण नेपाली जनताले लडेर मात्रै सम्भव भएको हो । त्यस्तै, राष्ट्रिय एकता, समृद्धिको लडाइँको अगुवाइ एमालेले गर्छ, तर त्यो एमालेको मात्रै होइन, राष्ट्रिय जागरण अभियान हो । त्यसैले यसमा सबैको सहभागिता हुनुपर्छ । राष्ट्रिय एकताको पक्षमा यो असतोमा सद्गमय‘ तमसोमा ज्योर्तिगमय जस्तो हो, कुनै दलविशेष या कसैका विरुद्ध होइन । झुटका ठाउँमा सत्य, भ्रमहरूको ठाउँमा स्पष्टता, सचेतना फैलाउने नेपाली जनताको अभियान हो ।
 
तराईका जनताले चुनावमा भूलचूक सच्याउँछन्
मलाई अहिले ताजुव लाग्छ, प्रतिपक्ष चुनाव माग्छ, सरकार बाध्य भएर घोषणा गर्छ । सत्तापक्षीय दलहरू विरोध गर्छन् । कोही चुनाव गर्ने, कोहीचाहिँ विरोध गर्नेछन् । तराईमा अघिल्लोपटक भूलचूकले ११ सिट जितेका हुन् । त्यो भूलचूकलाई अबको चुनावमा जनताले सच्याउनेछन् । ९१ प्रतिशतले बनाएको संविधान स्वीकार नहुने, २–४ जनाले जबर्जस्ती जे भन्यो त्यही हुनुपर्ने ? कसले पढाएको हो यस्तो लोकतन्त्र ।
 
गल्ती गर्‍यौँ, अब हुन दिन्नौँ
हामीले २ नम्बर प्रदेश त्यसरी बनाउनु गल्ती थियो । संविधान बनाउने वेला कांग्रेसको जोडबलमा सहमति गर्‍यौँ, तर पछि गलत मनासय बुझेपछि कांग्रेसलाई पनि मनाएर गल्ती सच्याई संविधान बनायौँ । अब जति बिग्रिए पनि बढी बिग्रन दिने पक्षमा हामी छैनौँ । संशोधन प्रस्ताव पारित हुँदैन, हुन दिन्नौँ । त्यसमा तराई र पहाड छुट्याउने कपट छ । प्रधानमन्त्रीले चुनावमा मोर्चा आउँछन्, मनाउँछु भनेपछि जिम्मेवार पार्टीको हैसियतमा विरोधबीच टेबुल गर्न दिएका हौँ, फेरि सैद्धान्तिक छलफलमा लगे आउँछन् भनियो । मैले त प्रधानमन्त्री र सत्ताधारी पार्टीहरूलाई भनेको भन्यै छु, गत सालको मंसिरमै संशोधन गर्दा मान्छन् भनेको होइन भन्ने दोहो¥याइरहेकै छु । त्यो पास गरेपछि बिर्सियो, त्यसैले अब पनि अवस्था त्यस्तै हुन्छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ