arrow

युरोपियन युनियनद्वारा शिक्षा क्षेत्रमा ७० करोडको थप सहयोग

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
EU.jpeg
काठमाडौ । युरोपियन युनियन (ईयु)ले  नेपाल सरकारलाई शिक्षा क्षेत्रमा दिँदै आएको सहयोगमा ६० लाख युरो (करीब रु. ७० करोड)को  थप निकासा गरेको छ। नेपालका लागि युरोपियन युनियनका राजदुत महामहिम रेन्चे टेरिङ्कले अर्थ मन्‍त्रालयका सचिव शान्त राज सुवेदीलाई २०७३ फागुन ०२मा प्रेषित पत्र मार्फत उक्त कुराको जानकारी गराए। 
 
निकासा गरिएको रकम नेपालको शिक्षा क्षेत्रमा जारी युरोपियन युनियनको निरन्तर सहयोग अन्तर्गत हालको बजेट सहायता ३ करोड १२ लाख युरो (करिब ३ अर्व ७० करोड नेपाली रुपैयाँ) को अन्तिम किस्ता हो। “दिगो विकासका निम्ति, सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गरिनु अत्यावश्यक छ। नेपालले शिक्षा क्षेत्रमा गरेको उल्लेखनिय प्रगति सराहनीय छ र आउँदा दिनमा पनि यस कार्यलाई महत्वकासाथ अगाडी बढाउनेनै छ। नेपालले शिक्षा क्षेत्रलाई दिएको महत्वलाई अङ्गिकार गर्दै ईयुले शिक्षा क्षेत्रलाई हाम्रो सहकार्यको प्रमुख आधारबिन्दु मानेको छ”, पत्रमा राजदुत टिरिङ्कले लेखेका छन् ।
 
ईयुको विस्तारित सहयोग क्षेत्र अन्तर्गतको विद्यालय क्षेत्र सुधार योजना/ कार्यक्रम (SSRP)मा प्राप्त अनुदानबाट नेपालमा प्राथमिक तह (कक्षा १ देखि ८)को शिक्षामा जनताको प्रत्यक्ष पहुँच बढ्न गई यसले छात्राहरु र दलित समूदायलाई विषेश लाभदायी बनाएको छ । यस सहयोगबाट आधारभूत शिक्षामा कुल भर्ना दर सन् २००८ को तुलनामा सन् २०१५ मा ७३% बाट वृद्धि भई ८९.४ % रहन गएको  कक्षा दोहोर्‍याउने  विद्यार्थीहरुको प्रतिशत दर कम हुन गएको छ भने कक्षा १ देखि ८ सम्मका  विद्यार्थीहरुमा कक्षामा नियमित उपस्थित हुनेहरुको संख्या पनि उल्लेख्य रुपमा बढ्दो छ। 
 
यसका साथै, शिशु कक्षा पढेर मात्र कक्षा १ मा भर्ना हुने क्रममा पनि उल्लेख्य वृद्धि भएको छ। आधारभूत शिक्षामा आएको सुधारबाट लिङ्ग, वर्ग, जात र जातियताको पहुँचका वीच देखिएको असमानतामा समेत समग्र रुपमा कमी आउनु आफैमा एउटा महत्वपूर्ण उपलब्धि हो। 
 
शिक्षा क्षेत्रमा युरोपियन युनियनको उच्च प्राथमिकता रही आएको  छ । नेपालको गुणस्तरीय शिक्षाका लागि निरन्तर रुपमा तत्पर रहेको र शिक्षाद्वारा नेपालको दिगो विकासमा टेवा पुग्ने कुरामा ईयु विश्वस्त रहेको कुरा उसले दिँदै आएको सहायताबाट प्रष्ट हुन्छ। यसैको निरन्तरता स्वरुप ईयुले नेपालको विद्यालय क्षेत्र विकास योजना/कार्यक्रम (SSDP) का निम्ति ६ करोड १४ लाखयूरो (करीब ७ अर्व नेपाली रुपैयाँ) विनियोजन गरेको छ।  
 
विद्यालय क्षेत्र सुधार योजना/ कार्यक्रम  को सफलता र सहस्राब्दी विकास लक्ष्य तर्फ हासिल गरिएका उपलब्धिहरूमा विद्यालय क्षेत्र विकास योजना/कार्यक्रम आश्रित छ। यस कार्यक्रमले गुणस्तरीय  शिक्षामा पहुँच वृद्धिलाई परिणाममुखी  बनाउने लक्ष्य राख्दछ। विद्यालय क्षेत्र सुधार योजना/ कार्यक्रम जस्तै विद्यालय क्षेत्र विकास योजना/कार्यक्रम पनि क्षेत्रिय अवधारणा अवलम्बन गर्दै यसका मुख्य सरोकारवालाहरु – सरकार, शिक्षक तथा अभिभावकसँग सम्बन्धित संघ संस्थाहरु, नागरिक समाज तथा विकास साझेदारहरुलाई समन्वयकारी, प्रभावकारी र परिणाममुखी तरिकाबाट एकसाथ ल्याई नेपालको शिक्षा क्षेत्रको सम्रग विकासमा केन्द्रित हुनेछ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ