arrow

सुन तस्करीमा राजधानीका चार सुनपसल संलग्न

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
gold-plate.jpg.jpeg
काठमाडौं । साढे ३३ किलो सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता खुलेको छ । तस्करीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्सको संलग्नता खुलेको हो । वैभव लक्ष्मीका बाहेक सबै पसलका सञ्चालक फरार छन् ।
 
प्रहरीले बुधबार न्युरोडस्थित वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको छ । त्यही पसलका अर्का सञ्चालक प्रमोद श्रेष्ठ भने फरार छन् ।
 
विशालबजारस्थित आरके ज्वेलर्स र दरबारमार्गस्थित आरके डायमन्डका सञ्चालक राजेन्द्र शाक्य र मलिका बज्राचार्य शाक्य, शालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल पनि फरार छन् । 
 
त्यस्तै, ओटुस्थित साइराम ज्वेलर्सका सञ्चालक अमोल विभुते भाइचन्द्र पनि फरार छन् । प्रहरी प्रधान कार्यालयको सिआइबीले उनीहरूविरुद्ध मुद्दा चलाउन बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा राय प्रतिवेदन बुझाएको छ ।
 
उनीहरूमध्ये वैभवका प्रमोद श्रेष्ठ ओसारपसारमै संलग्न व्यक्ति हुन् भने आरके र शालिमार ज्वलेर्सका सञ्चालकहरूले चोरीको सुन बेच्दै आएका थिए । साइरामका विभुतेले तस्करीको सुन गाल्ने काम गर्दथे । 
 
शालिमार ज्वेलर्सका कर्मचारी राजेन्द्र बोगटी तथा आरके ज्वेलर्सका सञ्चालक समिर श्रेष्ठ तस्करीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । तस्करीका प्रमुख एजेन्ट रामहरि कार्की पक्राउ परेलगत्तै उनीहरू मालिकस“गै लुक्न भारत गएका छन् ।
 
सम्पत्ति पनि छानबिन सुरु
प्रहरीले सुन तस्करीमा संलग्नहरूको सम्पत्ति छानबिन सुरु गरेको छ । कुनै समय ट्याम्पो ड्राइभर रहेका पर्वतका गुप्तलाल (रोशन) भुसालले काठमाडौंमै करोडौँको सम्पत्ति जोडिसकेका छन् । 
 
सामाखुसीमा उनले एक रोपनी जग्गामा भव्य घर बनाउँदै थिए । उनले सामाखुसीको मुख्य सडकमा घर किनेका छन् ।
 
 त्यस्तै, हरि खड्काको लाजिम्पाटमा एउटा घर भेटिएको छ । सिआइबीले मालपोत कार्यालयमार्फत उनीहरूको घरजग्गाको विवरण लिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान मुद्दामा छानबिन अघि बढाएको छ ।
 
३३ विरुद्ध मुद्दा चल्ने
साढे ३३ किलो सुन तस्करीमा ३३ जना संलग्न रहेको निष्कर्ष सिआइबीको छ । जसमध्ये १२ जना पक्राउ परेका छन् भने २१ जना फरार छन् । 
 
सिआइबीले एक एसएसपी, तीन भन्सारका कर्मचारी तथा अन्य आठजना कारोबार र ओसारपसारमा संलग्न हुनेलाई पक्राउ गरिसकेको छ । 
 
सिआइबीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । पक्राउ परेका १२ तथा अन्य फरार २१ विरुद्ध मुद्दा चलाउन सिआइबीले सरकारी वकिललाई राय दिएको हो ।
 
सिआइबीले गत २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो ५ सय ७७ दशमलव ४० ग्राम सुन बरामद गरेको थियो । 
 
विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा एसएसपी श्याम खत्री, भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पक्राउ परिसकेका छन् । 
 
तस्करका मुख्य एजेन्ट रामकृष्ण कार्की सिआइबी हिरासत छन् । सुन तस्करीमा भरियाका रूपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई २१ पुसमै सिआइबीले पक्राउ गरेको थियो । 
 
मुख्य एजेन्ट कार्कीले उत्तरढोकास्थित दरबार दोहोरी सा“झबाट विभिन्न सुनपसलमा तस्करीको सुन बिक्री गर्दै आएका थिए । तस्करी गरेर भित्रयाउँदा एक किलो सुनमा आठ लाख रुपैयाँसम्म नाफा कमाउने गरेका थिए । 
 
सिआइबी निर्देशक डिआइजी नवराज सिलवालले अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिँदै राय लिने काम भइरहेको बताए ।
 
को–को हुन् मुख्य तस्कर ?
 
साढे ३३ किलो सुनको मुख्य मालिक गुप्तलाल (रोशन) भुसाल र हरि खड्का भएको सिआइबीले जनाएको छ । दुवैजना हाल दुबईमा छन् । 
 
सुन बरामद भएको भोलिपल्टै भुसाल दुबई गएका थिए । खड्का दुबईस्थित याक एन्ड यती नेपाली रेस्टुरेन्ट तथा याक एन्ड यती सुनपसलका मालिक हुन् । दुबईको सो सुनपसलका अन्य सञ्चालक पनि तस्करीमा संलग्न हरेको स्रोत बताउँछ ।
 
तस्करीमा लगानी गर्ने चूडामणि उप्रेती (गोरे), रामकिशन अग्रवाल (काले) र अर्जुन खरेलको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ । लगानीकर्ताले सुन ओसारपसारमा आफन्तलाई नै प्रयोग गर्दै आएका थिए । 
 
हरि खड्काका भाइ राजकुमार खड्का र अर्जुन खरेलका भाइ प्रकाश खरेल फरार छन् । लाजिम्पाट उत्तरढोकास्थित दरबार रोधीघरमार्फत तस्करीको सुन विभिन्न पसलमा जाने गरेको प्रहरीले पत्ता लगाएको छ ।
 
तस्करद्वारा विदेशबाटै प्रहरीलाई धम्की
साढे ३३ किलो सुन तस्करीमा फरार रहेका व्यक्तिहरूले विदेशबाटै प्रहरीलाई धम्क्याएका छन् । अनुसन्धान नगर्न भन्दै उनीहरूले फोन गरेर सिआइबीका प्रहरीलाई धम्क्याएका हुन् । 
 
इन्टरनेट कलमार्फत फोन गर्दै उनीहरूले सिआइबीका डिएसपी प्रवीण पोखरेल, वीरेन्द्र जोहारीलगायतलाई धम्क्याएका हुन् । सिआइबीले धम्कीको अडियोसमेत अनुसन्धान प्रतिवेदनमा राखेर बुझाएको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ