arrow

१० दिनभित्र तीनै तहको निर्वाचन कार्ययोजना पेस गर्न सर्वोच्चको आदेश

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
supreme-court-nepal.jpeg
काठमाडौँ । सर्वोच्च अदालतले तीनवटै तहका निर्वाचनको कार्ययोजना १० दिनभित्र पेस गर्न सरकारको नाममा बिहीबार आदेश दिएको छ । अदालतले निर्वाचन कानुन निर्माण र निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउन भएको प्रगतिबारे पनि जानकारी मागेको छ ।
 
न्यायाधीशद्वय हरिकृष्ण कार्की र अनिलकुमार सिन्हाको संयुक्त इजलासले निर्वाचन कार्ययोजना पेस गर्न आदेश दिएको हो । संविधानअनुसार ७ माघ ०७४ मा तीनवटै तहको निर्वाचन सक्नुपर्नेछ । 
 
स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको छ । अब प्रदेश र संघीय संसद्को निर्वाचन मितिसहितको कार्ययोजना सरकारले अदालतमा पेस गर्नुपर्नेछ ।
 
‘माघ ७ गतेभित्र तीन तहकै निर्वाचन सम्पन्न गर्ने संवैधानिक सीमालाई ध्यानमा राखेर आफ्नो दायित्व पूरा गर्न दृढ रहेको भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको लिखित जवाफबाट देखिएको परिप्रेक्ष्यमा उक्त निर्वाचनहरू सम्पन्न गर्न आवश्यक पर्ने कानुनहरू निर्माण गर्ने सन्दर्भमा के कुन चरणमा छन् ?’ अदालतको आदेशमा भनिएको छ, ‘निर्वाचन क्षेत्र निर्धारण आयोग सम्बन्धमा के–कस्ता कार्यहरू भएका छन् र माघ ७ गतेभित्र संघीय प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्नेसम्बन्धी कार्ययोजना के कुन अवस्थामा रहेको छ ? त्यो जवाफ १० दिनभित्र नेपाल सरकारसँग माग गरी आएपछि नियमानुसार पेस गर्नू ।’
 
डा चन्द्रकान्त ज्ञवाली, लीलाधर उपाध्यायसहितका अधिवक्ताले असोजमा दायर गरेको रिटमा सर्वोच्चले सरकारका नाममा आदेश दिएको हो । 
 
उनीहरूले तीनवटै तहको निर्वाचन घोषणाका लागि सरकारका नाममा परमादेश जारी गर्न माग गरेका थिए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ