arrow

नवौ रनिङ सिल्डमा मालिका मावि पहिलो

logo
प्रेम रौले,
प्रकाशित २०७३ फागुन २० शुक्रबार
badimalikamavi.jpeg
बाजुरा । जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको यो वर्षको उपाधी पनि मालिका माविले हात पारेको छ । आटीचौरमा भएको यो वर्षको सिल्डमा पनि अंक तालिकामा पहिलो हुँदै मालिका माविले नै उपाधी हात पारेको हो । मालिकाले यस अघि दुई वटा सिल्ड हात पारिसकेको छ । तीन वर्ष लगातार प्रथम हुनेले सिल्ड हात पार्ने प्रावधान छ । 
 
मालिकाले सिल्ड सञ्चालन भएका सबै वर्षका खेलमाको उपाधी आफ्नो पोल्टामा पार्दै आएको छ । सहभागि ३३ वटा विद्यार्थीलाई पछि पार्दै मालिका पहिलो भएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष हिक्मत थापाले बताए । सिल्ड यो वर्ष सदरमुकाम बाहिर आयोजना गरिएको हो । यस अघिका वर्षमा मालिका माविमै खेल आयोजना हुने हुँदा गृह मैदानमा स्थान सुरक्षित राख्ने गरेको आरोप चिर्दै मालिकाले यो वर्ष पनि पहिलो स्थान सुरक्षित राखेको विव्यस अध्यक्ष दिर्घराज पाध्यायले बताए ।
 
सञ्चालित १३ वटा खेलमा मालिका माविले २१६ अंकका साथ पहिलो भएको छ । उसको निकटम प्रतिस्पर्धी संस्थागत विद्यालय कन्भर्स एकेडेमीले १०९ अंक सहित द्धितीय स्थान हात पारेको छ । भने अम्लीस मावि दहकोटले १०७ अंक सहीत तृतीय स्थान सुरक्षित गरेको छ । कबड्डीमा मालिका मावि छात्र छात्रा दुबैमा प्रथम स्थान ल्याउन सफल भयो भने कन्भर्स एकेडेमी छात्र छात्रा दुबैमा द्धितीय भएका छन् ।
 
अघिल्ला वर्षमा पनि मालिका माविलाई कन्भर्स एकेडेमी, अम्लीस मावि, जनज्योती माविले पछ्याउने गरेका थिए । ६४ मावि सञ्चालनमा रहेपनि यस अघिका वर्षहरुमा ३० बढी विद्यालय सहभागि भएका थिएनन् । यो वर्ष हालसम्मकै बढी ३३ विद्यालय सहभागि भएका थिए । घरेलु मैदानमा उपाधीको दाबेदार दशरथ माविले पनि अपेक्षा अनुसारको स्थान सुरक्षित गर्न सकेन् । खेलमा सहभागि नामी विद्यालय जनप्रकाश मावि कोल्टी, रत्न मावि कैलाशमाडौं, भानुदय मावि कुल्देवमाडौं पशुपति मावि ब्रह्मतोला लगायत अंक तालिममा निकै तल रहेका छन्  । 
 
बढी अंकका खेलहरु भलिबलमा छात्र त्रिभुवनेश्वरी प्रथम, त्रिशक्ति मावि द्धितीय भएपनि छात्रा तर्फ जनज्योती मावि दहकोट प्रथम, अम्लीस मावि दहकोट द्धितीय स्थान ल्याउन सफल भएका छन्  । प्रथम भएसँगै मालिका माविले १५ हजार नगद पुरस्कार पाएको छ । भने कन्भर्स एकेडेमीले १२ हजार प्राप्त गरेको छ । मालिकालाई असारमा थप ५० हजार पुरस्कार स्वरुप दिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 
 
खेल गएको फागुन १५ गतेबाट सुरु भएको हो । ६ दिनसम्म चलेको खेल विवाद रहीत शान्त र सभ्य तरिकाले सम्पन्न भएको आयोजकले बताएको छ । प्राकृतिक रुपमा समृद्ध र रमणिय स्थान आटीचौरमा भएको खेल हेर्न पुगेका खेलप्रेमीहरुले छेडेदह ताल, बढालेक क्षेत्रको समेत अवलोकन गर्न पाएका छन् । 
 
अर्को वर्ष हुने दशै रनिङ सिल्ड कोल्टीमा गर्ने गरी झण्डा हस्तान्त्रण गर्ने भनिएपनि जनप्रकाश माविका विव्यस पदाधिकारी र प्रधानाध्यापाकको उपस्थिति नभएकोले घोषणा नगरिएको अध्यक्ष हिक्मत थापाले बताए । खेलको पूर्व उद्योग मन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका हुन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ