arrow

उद्योग वाणिज्य महासंघको भावी नेतृत्वकालागि दुई कित्ता, को कतापट्टि ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ फागुन २१ शनिबार
fncci-building-teku-11.gif
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वको लागि दुईवटा प्यानल उठ्ने पक्कापक्की भएको छ । चैत २८ गते नयाँ नेतृत्वको लागि हुने महासंघको चुनावी साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष पदको लागि दुई जनाले प्यानल सहित उम्मेदवारी दिने लगभग पक्कापक्की भएको महासंघ निकट स्रोतले जनाएको छ । 
 
गत कात्तिक ४ गते विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरेसँगै महासंघको अबको अध्यक्ष भवानी राणा बन्ने निश्चित भईसकेकाले अब वरिष्ठ उपाध्यक्षको लागि दुई पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । दुई प्यानलमा महासंघको नेतृत्वका आकांक्षीहरु बाँडिएसँगै महासंघभित्रको आन्तरिक राजनीति चुलीमा पुगेको छ । 
 
महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि अहिले जिल्ला तर्फका अध्यक्ष किशोर प्रधान र एशोसिएट्स उपाध्यक्ष शेखर गोल्छाबीच कडा प्रतिस्पर्धा हुँदैछ । उनीहरुले आआफ्ना सहयोगीहरुलाई कुन्कुन् पद दिने भनेर पनि निश्चित गरिसकेका छन् । अहिले दुबै पक्षको एशोसिएट्स उपाध्यक्ष बाहेकका अरु पदहरुको लागि सम्भावित उम्मेदवारहरु चयन भईसकेका छन् । भवितव्य नभएको खण्डमा अन्तिमसम्म यही गठबन्धनले निरन्तरता पाउने निश्चित देखिन्छ । 
 
तर, एशोसिएट्स उपाध्यक्षमा भने अहिले चन्द्र ढकाल साझा उम्मेदवारको रुपमा रहेका छन् । ज्ञानेन्द्रलाल प्रधान र चन्द्र ढकाललाई अहिलेको गोल्छा पक्ष भने समूह छाड्न पनि नदिने र अर्को पक्षमा उम्मेदवारी दिन पनि नदिने रणनीतिमा लागेको बताईन्छ । यस खेलमा अध्यक्ष पशुपति मुरारका र पूर्व अध्यक्ष चण्डीराज ढकाल समेत सक्रिय रहेका छन् । यसरी दुई मध्ये एकलाई उम्मेदवारीको टिकट दिएपछि अर्काे पक्ष उक्त समूहबाट छुट्ने निश्चित रहेको स्रोतको दाबी छ । तर ढकाललाई भने दुबै पक्षले आफ्नो पक्षमा भित्र्याउनको लागि लागिरहेको बताईएको छ । 
 
स्रोतका अनुसार अहिले वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले आफ्नो प्यानलको तर्फबाट एशोसिएट्स उपाध्यक्षमा ढकाललाई ठाउँ खाली राखेका छन् । प्रधानको समूहबाट एशोसिएट्स उपाध्यक्षको लागि अर्को उम्मेदवार नउठाईएकोले ढकालको उम्मेदवारी निश्चित भएको प्रधान निकट स्रोतले जानकारी दिएको छ । उनी निकट स्रोतले भने ढकाल आफ्नो पक्षमा आउने पक्कापक्की रहेको दाबी गरेको छ । 
 
त्यस्तै, प्रधानको समूहबाट नै जिल्ला उपाध्यक्षमा भने नवलपरासीका गुणनिधी तिवारी र म्याग्दीका प्रमाेद श्रेष्ठ मकवानपुरका अरुणराज सुमार्गीको चर्चा छ । तर श्रेष्ठकाे सम्भावना भने मजबुत रहेकाे स्राेतकाे दाबी छ ।  त्यस्तै, बस्तुगत उपाध्यक्षमा पनि शंकर पाण्डेको उम्मेदवारी निश्चित भईसकेको छ । 
 
उता, वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी शेखर गोल्छालाई अहिलेका अध्यक्ष पशुपति मुरारकाले वरिष्ठ उपाध्यक्षको रुपमा प्रधानलाई उठाउन दबाब दिईरहेको स्रोत बताउँछ । प्रधानलाई मुरारकाले काखी च्यापेको चर्चा समेत चल्ने गरेको छ । तर, गोल्छालाई भने अहिले आफ्नो समर्थनमा आएका सौरभ ज्योति, चन्द्र ढकाल र ज्ञानेन्द्रलाल प्रधानलाई भाग मिलाउन नै हम्मे परिरहेको बताईएको छ । 
 
त्यस्तै, गोल्छा समूहबाट बस्तुगत उपाध्यक्षमा भने उमेशलाल श्रेष्ठलाई उठाउने सम्भावना प्रवल रहेको भएपनि अञ्जन श्रेष्ठ र अनुपबहादुर मल्लले पनि आकांक्षा देखाईरहेकोले यसको व्यवस्थापनमा पनि गोल्छालाई समस्या देखिएको बताईएको छ । 
 
उता, अहिलेका बस्तुगत उपाध्यक्ष दिनेश श्रेष्ठ भने शेखर गोल्छा प्यानलबाट जिल्ला उपाध्यक्षमा उठ्ने तयारी गरिरहेका छन् । दिनेशले आकांक्षा देखाएपछि अहिले जिल्लामा अरुले भने शेखरको प्यानलबाट आकांक्षा नदेखाएको स्रोतले जानकारी दिएको छ । 
 
विगतलाई फर्किएर हेर्दा कसको कस्तो छ सम्भावना ?
विगत २० वर्षदेखिको स्थितीलाई फर्किएर हेर्ने हो भने उद्योग वाणिज्य महासंघको नेतृत्वमा एकाध अपवाद बाहेक गोल्छा घराना र ज्योति गु्रपका सदस्यहरु कहिलै पछि छुटेको इतिहास देखिँदैन । त्यस्तै, महासंघमा चौधरी समूह र गोल्छा समूह भने कहिलै मिलेको इतिहास देखिँदैन । 
 
यही इतिहासलाई हेर्दा अहिले नेपाल चेम्बर परिसंघमा आफ्नो प्रभाव जमाईरहेका विनोद चौधरी शेखर गोल्छाको पक्षमा लाग्न सक्ने देखिँदैन । बरु गोल्छालाई समर्थन नगरेपछि महासंघको सदस्यतामा ठूलो हिस्सा ओगटेको उद्योग परिसंघका संस्थापक चौधरीले प्रधानलाई समर्थन गर्ने सम्भावना देखिन्छ । महासंघ स्रोत चौधरीले गोल्छा घरानालाई समर्थन गर्नु भनेको आश्चर्य नै हुनु रहेको दाबी गर्छ । 
 
उता, पूर्व अध्यक्षहरुको समर्थन अहिलेको समयमा किशोर प्रधानलाई रहेको देखिन्छ । पूर्व अध्यक्ष चण्डी ढकाल बाहेकका अन्य अध्यक्षहरुले संयुक्त रुपमा प्रधानको पक्षमा समर्थन जनाउने तयारी गरिरहेको बुझिन आएको छ । सौरभ ज्योतिका बाबु पद्म ज्योति सक्रिय रुपमा महासंघको राजनीतिमा नरहेकाले उनको समर्थन कता हुन्छ भन्ने तर्फ धेरैले चासो दिने गरेका छैनन् । 
 
उता, एशोसिएट्स उपाध्यक्षको रुपमा चन्द्र ढकाललाई धेरैले चासोका साथ हेरिरहेका छन् । उनीसँग महासंघका धेरै सदस्यहरुको समर्थन रहेकोले उनले समर्थन गर्ने पक्षलाई जीतको लागि सहज हुने आकलन गरिँदै आईएको छ । महासंघनिकट स्रोतले भन्यो, चन्द्र ढकाल गएपछि झनै महासंघमा प्रधानको समूह पनि बलियो बनेर आएको छ । उनलाई महासंघमा अझैसम्म पनि राम्रै पकड रहेको बताईने पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको समेत समर्थन रहेको बताईएको छ । 
 
उता, शेखर गोल्छा पनि आफैंमा बलिया दाबेदार मानिन्छन् । त्यसैमाथि उनले दिनेश श्रेष्ठको इमान्दारिताको भोट प्राप्त गर्नको लागि श्रेष्ठलाई जिल्ला उपाध्यक्षमा निर्विरोध उम्मेदवार बनाउन त खोजेका छन् तर सौरभ ज्योतीको व्यवस्थापन भने उनलाई टाउको दुखाईको विषय बनेको स्रोत बताउँछ । यसरी दुई कित्तामा महासंघको नयाँ नेतृत्वका दाबेदारहरुको नाम सार्वजनिक भएसँगै महासंघमा अब भने चुनावी रस्साकस्सी चल्न थालेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ