arrow

स्थानीय निर्वाचनमा मनोनयन दर्ता गर्न कुन पदमा कस्तो छ प्रक्रिया ?

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
Election_local_2074.jpeg
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको लागि मिति घोषणा गरेसँगै मुलुक चुनावी माहोलमा डुब्न थालेको छ । यससँगै स्थानीय निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारले मनोनयन दर्ता गर्नु अघि के कस्ता प्रक्रियाहरु पूरा गर्नुपर्छ भन्ने सवालमा पनि धेरैलाई चासो बढीरहेको हुनसक्छ । 
 
कुनैपनि उम्मेदवारले स्थानीय तह सम्बन्धि ऐनले तोकेको योग्यता पूरा गरेको छ भने उसले ऐन बमोजिम हुने निर्वाचनमा तोकिए बमोजिम उम्मेदवारी मनोनयन गर्न सकिने प्रावधान छ । त्यस्ता उम्मेदवारले आफ्नो उम्मेदवारी मनोनयन गर्दा एकजना प्रस्तावक र एकजना समर्थक राख्नुपर्ने प्रावधान अन्य निर्वाचनमा जस्तै यस निर्वाचनमा पनि राखिएको छ । यसरी प्रस्तावक र समर्थक बस्ने व्यक्ति गाउँपालिका वा नगरपालिकाको वडा अध्यक्ष र वडा सदस्यको पदको लागि सम्बन्धित वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्तिहुनु पर्नेछ । 
 
त्यस्तै,  अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदको लागि पनि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति हुनु पर्छ भने गाउँ कार्यपालिका र नगर कार्यपालिकाका महिला तथा दलित वा अल्पसङ्ख्यक समुदायबाट हुने सदस्यको लागि सम्बन्धित गाउँ सभा वा नगर सभाको सदस्य, (घ) जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यको लागि सम्बन्धित जिल्ला सभाको सदस्य हुनु आवश्यक हुने व्यवस्था तोकिएको छ । 
 
त्यस्तैगरी, दलले खडा गरेको उम्मेदवारको सम्बन्धमा त्यस्तो दलले निजलाई औपचारिक पत्र समेत दिएको हुनु पर्नेछ जसका लागि औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको पदाधिकारीले त्यस्तो पत्रको एक प्रति निर्वाचन अधिकृतलाई समेत पठाउनु पर्नेछ । मनोनयनपत्र पेश गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्ने व्यवस्था मिलाउनु पर्नेछ । तर दलले एकजना मात्र उम्मेदवारी दिएमा यो प्रावधान लागू हुने छैन ।  
 
अर्काे तर्फ गाउँपालिका वा नगरपालिकाको वडा समितिका महिला वडा सदस्य पदमा मनोनयनपत्र पेश गर्दा दलले कम्तीमा एक जना दलित महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्ने व्यवस्था मिलाउनु पर्नेछ । तर दलले एक जना मात्र महिला वडा सदस्य पदमा उम्मेदवारी दिएमा भने यो प्रावधान लागू हुने छैन । कुनै व्यक्तिलाई मनोनयन गरिएको अवस्थामा निजले मनोनयनपत्रमा आफ्नो मञ्जुरी लेखी दस्तखत समेत गर्नु पर्नेछ । कुनै व्यक्तिलाई एउटा निर्वाचनको लागि बढीमा दुई मनोनयनपत्रद्वारा मनोनयन गर्न सकिनेछ । 
 
अर्काे तर्फ दलको तर्पmबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको सो समिति वा प्रदेश समितिको पदाधिकारीले प्रमाणित गरी उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने अन्तिम मिति भन्दा कम्तीमा पन्ध्र दिन अगावै आयोगलाई उपलब्ध गराउनु पर्नेछ र आयोगले त्यस्तो विवरण मनोनयनपत्र दर्ता गर्न तोकिएको मिति अगावै सम्बन्धित निर्वाचन अधिकृत समक्ष पठाईसक्नु पर्नेछ । 
 
यसरी रीत नपु¥याई मनोनयनपत्र दाखिला भएको अवस्थामा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रुपमा मान्यता नदिईने स्थानीय तहसम्बन्धि ऐनले प्रावधान राखेको छ ।
 
उता, उम्मेदवारको मनोनयनपत्र उम्मेदवार आफैंले वा निजको प्रतिनिधि वा प्रस्तावक वा समर्थकले सम्बन्धित निर्वाचन अधिकृत समक्ष पेश गर्नु पर्नेछ । यसरी पेश भएको मनोनयनपत्र सम्बन्धित निर्वाचन अधिकृतले यस ऐन बमोजिम रीतपूर्वकको छ वा छैन हेरी रीतपूर्वकको भए दर्ता गरी तोकिए बमोजिमको निस्सा मनोनयनपत्र दर्ता गर्न ल्याउने व्यक्तिलाई दिनु पर्नेछ । निर्वाचन अधिकृतले प्रस्तावक वा समर्थक नभएको वा प्रस्तावक वा समर्थक दोहोरिएको वा यस ऐन बमोजिमको धरौटी राखेको निस्सा नभएको वा प्रस्तावक वा समर्थक वा उम्मेदवार हुने व्यक्तिको सहीछाप नभएको वा अन्य रीत नपुगेको मनोनयनपत्र दर्ता गर्न ल्याएमा रीत नपुगेको जति सच्याउन लगाई त्यस्तो मनोनयनपत्र दर्ता गर्नु पर्नेछ । 
 
यसरी रीत नपुगेको कुरा सच्याउनु पर्ने व्यहोरा नसच्याई मनोनयनपत्र दर्ता गराउन चाहेमा सोही व्यहोरा मनोनयनपत्रमा जनाई त्यसको सूचना मनोनयनपत्र दर्ता गराउने व्यक्तिलाई दिनु पर्नेछ । निर्वाचन अधिकृतले मनोनयनपत्र दर्ता गर्ने समय समाप्त भएपछि निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ । यसरी प्रकाशित सूचीमा उल्लिखित कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा उजूरी दिन चाहने उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा निर्वाचन अधिकृत समक्ष उजूरी दिन सक्नेछ । मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नु पर्ने अन्य कागजात तोकिए बमोजिम हुनेछ । 
 
माथि उल्लेखित प्रक्रिया पुर्याई दर्ता भएको मनोनयनपत्र जाँच गर्न निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा उम्मेदवार वा निजको प्रस्तावक, समर्थक वा निजले लिखित रुपमा अधिकार दिएको एकजना प्रतिनिधि उपस्थित हुनु पर्नेछ । उक्त पत्रमा उल्लेख गरिएका व्यक्तिको उपस्थितिमा त्यस्ता सम्पूर्ण उम्मेदवारको मनोनयनपत्र जाँच गर्नेछ ।  
 
तर त्यसरी उपस्थित हुनु पर्ने कुनै उम्मेदवार वा निजको प्रस्तावक, समर्थक वा प्रतिनिधि उपस्थित नभएमा पनि मनोनयनपत्र जाँच गर्न र त्यस सम्बन्धमा कानून बमोजिम निर्णय गर्न सक्ने अधिकार मनोनयनपत्र जाँच गर्ने व्यक्तिलाई दिईएको छ । यसरी मनोनयनपत्र जाँच गर्ने स्थानमा त्यसरी जाँच गर्ने समयमा हुलदङ्गा लगायत अन्य असामान्य परिस्थिति उत्पन्न भएमा, प्राकृतिक विपद्को कारणले काबुबाहिरको परिस्थिति उत्पन्न भएमा मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही सम्बन्धित व्यक्तिले स्थगित गर्न सक्नेछ । 
 
यसरी मनोनयन दर्ता गर्ने व्यक्तिको योग्यता संविधान र स्थानीय तहको निर्वाचन सम्बन्धि ऐन विपरित रहेमा, उम्मेदवार हुने व्यक्तिको मञ्जुरी नभएमा वा निजको वा निजको प्रस्तावक र समर्थकको सहीछाप नभएमा वा कीर्ते सहीछाप भएमा, तोकिएको समयभित्र मनोनयनपत्र दर्ता नभएमा र मनोनयनपत्र दाखिला नभएमा उक्त मनोनयन पत्र रद्द हुने निर्वाचन ऐनले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ