arrow

निर्वाचनका लागि खुट्टा नकमाउ सरकार : नेता नेपाल

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
madhav-kumar-nepal.jpg.jpeg
इटहरी (सुनसरी) । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले समयमा स्थानीय तहको निर्वाचन गराउन खुट्टा नकमाउन सरकारसँग आग्रह गरेका छन् । 
 
संविधान र निर्वाचनका लागि सो पार्टीको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत आइतबार इटहरीमा आयोजित जनसभामा नेता नेपालले लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकको आर्थिक विकासका लागि तीनै तहको निर्वाचन आवश्यक भएको भन्दै संविधानमा असन्तुष्ट दललाई पनि निर्वाचनमा माग लिएर जनतामा आफ्ना एजेन्डा राख्न आग्रह गरे। 
 
उनले भने, “तराई मधेसका मुद्दा बोक्छु भन्ने दलले निर्वाचनमा भाग लिएर एमालेलाई पराजित गर्दा हुन्छ, हामी पराजित भएमा विजयीलाई माला र अबीर लगाउन तयार छौँ, हामीले जितेमा उनीहरुले माला लगाएर मैदान छाडिदिनुपर्छ ।” 
 
एमालेको सो अभियानले हिमाल, पहाड र तराईका जनतालाई भावनात्मक रुपमा जोड्ने र राष्ट्रिय एकतालाई बलियो बनाउने जनाउँदै उनले आफ्नो पार्टीको नेतृत्वका सरकारले तराईमा विकास र सामाजिक विभेद विरोधी कार्यक्रम अघि सारेका उदाहरण प्रस्तुत गरे। 
 
एमाले नेता सुवास नेम्बाङले संविधान संशोधनको माग गर्ने मधेसी मोर्चाका सांसद सात जना मात्र भएको दाबी गर्दै मधेसमा जनमत लिएका काँग्रेस, एमाले र माओवादी केन्द्रका ९० प्रतिशतभन्दा बढी सभासद्ले हस्ताक्षर गरेको संविधानमा राष्ट्रियतालाई आँच पुग्ने गरी गर्न खोजिएको संशोधन प्रस्तान अस्वीकार्य भएको बताए । 
 
सभामा पार्टीका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्य नेम्बाङ, सत्यनारायण मण्डलगायतका नेता अभियानमा सहभागी थिए । 
 
झापाको काँकडभिट्टाबाट शनिबार सुरु भएको अभियानका नेता कार्यकर्ता र्‍यालीसहित विराटचोकमा जनसभा गरी सुनसरीको इटहरी आएका थिए । सोमबार सुनसरीकै इनरुवा र सप्तरीको राजविराज र कञ्चनपुरमा कार्यक्रम हुनेछ । 
 
संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान १५ दिन चल्नेछ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ