arrow

पर्वत क्याम्पसको राजनीति : खान नपाउने भएपछि काँग्रेस सांसद्को सहयोग अस्वीकार

गाउँलेको पैसा र जग्गा बेचेर ब्रह्मलूट

logo
रामकृष्ण लामिछाने,
प्रकाशित २०७३ फागुन २३ सोमबार
parbat_campus.jpeg
पर्बत । पर्वत जिल्लाकै सबैभन्दा पुरानो क्याम्पस पर्वत बहुमुखी क्याम्पस दिनप्रतिदिन विवादमा तानिदै आएको छ । स्थानीयको पसिना र मिहेनतले वनेको क्याम्पसमा अनावश्यक राजनीतिक चलखेल र शैक्षिक गुणस्तर धरासायी बन्दै जान थालेपछि स्थानीयका गुनासा र आक्रोशहरु सामाजिक सञ्जालमार्फत प्रकट हुन थालेका छन् । अहिले क्याम्पस पुरै आर्थिक संकटको भूमरीमा फसेको स्थानीयको गुनासो छ । 
 
क्याम्पसले अभिभावकको विश्वास गुमाउँदै जानु, विद्यार्थी संख्या कम हुनु, र आर्थिक हिसावकिताव अपारदर्शी हुनुले पनि क्याम्पसप्रति धेरैको आक्रोश बढेको बुझिएको छ । क्याम्पस प्रशासनभित्र खुल्ला राजनीति हावी हुँदै गएपछि स्थानीय चन्दादाताहरुले सामाजिक संजालहरुमार्फत आलोचना प्रकट गर्न थालेका छन् । 
 
शैक्षिक सुधारको सट्टा क्याम्पस झन धरासायी बन्दै गएपछि त्यस क्षेत्रका शिक्षाप्रेमी तथा चन्दादाता निलकण्ठ शर्माले सामाजिक सञ्जाल फेसबुकमा क्याम्पस संचालक समितिलाई विभिन्न प्रश्नहरु गरेका छन् । उनले अहिलेसम्म कति रकम उठ्यो ? कति खर्च भयो ? कति रकम, कहाँ कोसँग उठाउन बाँकी छ ? शैक्षिक गुणस्तरको सुधार कहाँ पुग्यो ? र  स्नातकोत्तर र प्राबिधिक बिषय पढाउने कुरा के भयो ? भनेर निकै पेचिलो ढंगले क्याम्पस प्रशासनलाई सबालहरु गरेका छन् ।
 
शर्माले आफूले गरेको ५१ हजार नगद सहयोग पनि ‘बालुवामा पानी’ भएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले बर्तमान संचालक समितिका पदाधिकारी र क्याम्पस प्रमुखसँग हिसावकिताव सार्वजनिक गर्न पटकपटक आग्रह गर्दा समेत क्याम्पसले कुनै चासो नदिएकोमा आक्रोश व्यक्त गरेका छन् । शर्माजस्तै स्थानीय शिक्षाप्रेमी भरत पोखरेलले पनि स्नातकोत्तर संचालन गर्न भनेर आफ्ना बाबाको नाममा ५० हजार सहयोग गरेपनि त्यो रकमको उचित सदुपयोग नभएकोमा सामाजिक सञ्जालमार्फनै दुख व्यक्त गरेका छन् । 
 
त्यसैगरि अर्का शिक्षाप्रेमी सर्मिला अधिकारीले पटकपटक हिसाव किताव माग्दा पनि क्याम्पस संचालक समितिले सार्वजनिक गर्न नमानेकोमा गुनासो गरेकी छन् । बि स २०४१ सालमा स्थापना भएको उक्त क्याम्पसको भौतिक तथा शैक्षिक विकासका लागि भनेर पटकपटक महायज्ञ र चन्दा संकलन अभियान चलाईने गरेको छ । 
 
तर, क्याम्पस प्रशासनले संकलन भएको चन्दाले भौतिक संरचना सुधारमा भन्दा कर्मचारीलाई तलव खुवाउन मात्र प्रयोग गर्नेगरेको उनीहरुको आरोप छ । भौतिक अवस्था सुधारमा क्याम्पस प्रशासनले कुनै चासो नदिएकोमा चन्दादाताहरु समेत निकै निराश छन् । क्याम्पसले शैक्षिक गुणस्तरको सुधार गर्दै स्नातकोत्तर तथा प्राविधिक शिक्षा संचालनार्थ भनेर महायज्ञ मार्फत चन्दा संकलन अभियान थालेको थियो । तर अहिलेसम्म क्याम्पसमा गतवर्ष सञ्चालन भएको रजतमहोत्सवकोे आयव्यय समेत सार्वजनिक भएको छैन । 
 
क्याम्पस प्रशासन र संचालक समितिले क्याम्पसमा भएको आम्दानी खर्चको सार्वजनिकीकरण नगर्नु आर्थिक अनियमितताको संकेत भएको अभिभावकहरुले वताएका छन् । क्याम्पस प्रशासनले क्याम्पसको आर्थिक अवस्थाका वारेमा चन्दादाता र स्थानीयहरुलाई समेत लामो समयसम्म कुनै जानाकारी नदिँदा क्याम्पसको अनियमिततामाथिको आक्रोश झन बढेको स्थानीय नारायण रखालले वताए । उनले क्याम्पस प्रशासन पुरै पार्टी राजनीतिबाट परिचालित भएको आरोप लगाउँदै अन्य विचार र आस्था राख्ने दाताहरुको सहयोग समेत लिन अस्वीकार गर्नेगरेको दावी गरेका छन् । 
 
गतवर्ष सांसद अर्जुनप्रसाद जोशीले ‘क्याम्पसले आयोजना गरेको महोत्सवमा कार्यक्रम स्थलमै पुगेर सहयोगको घोषणा गर्दा समेत क्याम्पस प्रशासनले सहयोग लिन हिच्कचाएपछि क्याम्पसभित्रको पार्टी राजनीति छताछुल्ल भएको रखालको दावी छ । क्याम्पसलाई दोहन गरेर अांशिक प्राध्यापकहरुलाई समेत पूर्णकालिन प्राध्यापकसरह तलव खुवाउने गरेको अभिभावकहरुको आरोप छ । 
 
लामो समयदेखि आर्थिक संकट झेल्दै आएको क्याम्पसले त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई तलव खुवाउन पटकपटक क्याम्पसका नाममा भएको जमिन बेच्ने गरेको छ । क्याम्पसकै शैक्षिक विकासका लागि भनेर २०६० सालमा ७ दिने धनधान्याचल महायज्ञ लगाएको थियो । उक्त महायज्ञबाट ५५ लाख भन्दा बढी रकम उठेको स्थानीयको दावी छ । स्थानीयले महायज्ञ सम्पन्न भएको ३ दिनभित्र सार्वजनिक समारोह गरेर सम्पुर्ण हिसाबकिताब सार्वजनिक गर्न माग गरेपनि क्याम्पसले उक्त हिसाव किताव समेत सार्वजनिक गर्न अटेर गरेको उनीहरुको भनाइ छ । 
 
त्यसैगरि गतबर्ष क्याम्पसले आफ्नो रजत जयन्तिको अवसरमा विभिन्न दानदाताहरुसँग झण्डै दुईकरोड रुपैयाँ सहयोग रकम बोलकबोल गराएको थियो । तर बोलकबोल भएको उक्त रकम मध्य ७८ लाख रुपैयाँ मात्र प्राप्त भएको क्याम्पस संचालक समितिका अध्यक्ष चिरञ्जीवि पौडेलले जानाकारी दिए । अध्यक्ष पौडेलले क्याम्पसलाई अहिलेपनि बार्षिक १५ लाख भन्दा बढि घाटा हुने गरेको वताउँदै आफ्नो कार्यकालमा १९ लाख बराबरको जग्गा विक्री गरेको स्वीकार गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ