arrow

अरु दलका नेता जनताको घरदैलोमा, काँग्रेसका नेताभने विदेश शयरमा !

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
Congres-FNL.jpg.jpeg
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची महाकाली अभियान सञ्चालन गरेर आफू निर्वाचन प्रचारप्रसारको लागि जनतामा गएको जनाउ दिएको छ । सरकार परिवर्तनको समयमा राष्ट्रवादको नारा भजाएर केही प्रभाव जमाउन सकेको एमाले स्थानीय निर्वाचनलाई लक्षित गरेर यो अभियान सञ्चालन गरेको हो । 
 
त्यस्तै, संसद्को तेस्रो दल नेकपा माओबादी केन्द्र पनि यतिबेला चुनावी तयारीमा लागिरहेको छ । केहीदिन अघिको हेर्डक्वाटरको बैठकमा पनि सो पार्टीमा स्थानीय निर्वाचनमा तयारीको विषयमा गम्भीर छलफल भएको थियो । एक हिसावले माओबादीले पनि तीब्र तयारीका साथ स्थानीय निर्वाचनमा प्रचारप्रसार गरिरहेको छ । 
 
संसद्को चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि हिन्दूत्वको नारा बोकेर मेची महाकाली यात्रामा निस्कने उद्घोष गरिसकेको छ । यो यात्रा पनि निर्वाचन लक्षित रहेको पार्टी नेताहरु बताउँछन् । मधेश केन्द्रीत दलले पनि निर्वाचनको नाम लिएरै प्रचारप्रसार नगरेपनि अहिले एमालेलाई रोक्ने बाहानामा होस् या त भण्डाफोर गर्ने अभियानको नाममा होस् स्थानीय निर्वाचनको लागि सहयोग पुग्नेगरी उनीहरु पनि जनतासँगै घुलमिल गरिरहेका छन् । 
 
तर, संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका नेताहरु भने घरदैलो अभियानमा जानुको साँटो विदेश शरयमा हिँडेका छन् । काँग्रेसका महामन्त्री सशांक कोइराला अहिले युरोप भ्रमणमा रहेका छन् । उनको यात्रा कहिलेसम्म हो भन्ने टुंगो लागिसकेको छैन । 
त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि केही दिन अघि मात्रै लामो विदेशको बसाई पछि नेपाल फर्किएका छन् । अबको केही दिनमा पार्टी सभापति शेरबहादुर देउवा पनि नेता कार्यकर्ता सहित विदेश भ्रमणमा जाने तयारी गरिरहेका छन् । यी तीन शीर्ष नेता नै अहिले घरदैलोमा जानुको साटो विदेश यात्रामा जाँदा स्थानीय निर्वाचनमा भने प्रतिकूल असर पार्ने होकि भन्ने चिन्ता आम काँग्रेसीहरुमा पर्न थालेको छ । 
 
सत्ता गठबन्धनमा समेत रहेको काँग्रेसका केही नेताहरु मन्त्री बनेका कारण निर्वाचन आचारसंहिताका कारणले चुनावी प्रचार गर्न  नपाउने अवस्थामा छन् । जसले गर्दा मन्त्री बनेका काँग्रेसी नेताहरु चुनावी प्रचारमा लाग्न पाईरहेका छैनन् । 
 
उता, काँग्रेसले अहिलेसम्म पदाधिकारी नियुक्ति गर्न नसक्दा पनि चुनावी प्रचारप्रसार अभियान प्रभावित भइरहेको छ। अहिले काँग्रेसको एकजना महामन्त्री, एक उपसभापति र एक जना सहमहामन्त्री नियुक्त गर्न बाँकी नै छ । त्यस्तै, केन्द्रीय समितिले पार्टीका केन्द्रीय विभागहरुको जिम्मेवारी पनि तोक्न सकिरहेको छैन । 
 
जसले गर्दा कसले के जिम्मेवारी बोकेर जिल्ला जाने भन्ने विषयमा नेपालमा नै रहेका दोस्रो तहका नेताहरुपनि अन्यौलमा रहेका छन् । जसले गर्दा पनि काँग्रेसलाई स्थानीय निर्वाचनमा प्रतिकूल असर पार्ने हो कि भन्ने चिन्ता बढेको हो । यस्तो अवस्थामा उच्च तहका नेताहरु भने चुनावको लागि आवश्यक तयारीमा जुट्नुको साँटो विदेश भ्रमणमा गएकोप्रति कार्यकर्ताहरुमा भने आक्रोश बढ्दै गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ