arrow

पशुपति मुनी खाल्डो पर्‍यो, दोष लगार्इयाे मुसालार्इ !

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
pashupatinath-temple.jpg.jpeg
काठमाडौं । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौं लिटर पानी पूर्वीढोका हुँदै ब्रह्मनालतर्फ बग्ने गरेको र बलौटे माटो भएकाले बीचमा चुहिएर खाल्डो पर्न थालेको छ ।
 
माटो र बालुवाको पत्र रहेको मन्दिरमुनिको भाग पानीले गाल्दै लगेको र अनगिन्ती ठूला मुसाले आउने–जाने बाटो बनाएको पाइएको छ । इन्जिनियरिङ जियोलोजिस्ट रञ्जनकुमार दाहालले मन्दिरमा प्रयोग हुने पानी ब्रह्मनाल भएर बागमती नदीमा जाने क्रममा ठाउँठाउँबाट चुहिँदै जाने गरेको जानकारी दिए ।
 
पाशुपत क्षेत्रको बृहत् गुरुयोजना बनाउन पशुपति क्षेत्र विकास कोषले विभिन्न विषय/क्षेत्रको कार्यपत्र पेस र छलफल गराउने क्रममा सोमबार दाहालले भने, ‘केहीपटक मैले त्यहाँ पुगेर हेरेको छु । तस्बिर खिच्न नमिलेर मात्र हो । नत्र प्रमाण देखाउन सक्छु । त्यसरी चुहिएर जाने पानीले माटो गलाएको कसैलाई थाहा नहुन सक्छ । बलौटे माटो पनि भएकाले क्रमशः थोरै मात्रामा बगे (क्रिप) पनि आसपासमा पर्खाल भएकाले ठूलो असर नदेखिएको हो ।’
 
कोष कर्मचारीका अनुसार ढुंगाको डुँडजस्तो आकारबाट मन्दिरको पानी ब्रह्मनाल हुँदै नदीमा जाने गरेको छ । दाहालले बागमती नदीपूर्वको आरती गर्ने भाग श्लेषमान्तक वनको भागदेखिकै माटो गलेर रहेकाले समस्या आउन सक्ने पनि बताए । पाशुपत क्षेत्रको गहिरो अध्ययन गरेका आर्किटेक्ट सुदर्शनराज तिवारीले ब्रह्मनालको पानी बीचैबाट माटोमा पर्ने गरेकाले माटो गल्ने र बालुवासमेत भएकाले बगाउने गरेको बताए । उनले सोमबार अन्नपूर्णसँग भने, ‘खासगरी वासुकीनाथ मन्दिरदेखि पूर्वी ढोका हुँदै जाने भाग बढी धसिने सम्भावना छ । पानी जाने ढुंगाको डुँडका लागि अड्याउन राखिएका काठका थाम कुहिसकेका छन् ।’
 
उनका अनुसार गर्भगृह र पानीको निकासा देव राजाभन्दा अघि जय बर्माको समयमै बनाइएको थियो । उनले भने, ‘त्यो मात्र होइन, आर्यघाटमा रहेको शिवलिंगको ब्रह्मा (चार कोणमा रहेको तलको भाग), विष्णु (आठ कोणमा रहेको मध्यभाग) र महेश्वर (गोलो जमिनमाथि देखिने लिंगको भाग) मध्ये माथिको भागले माटोको भुइँ बसेको र लिंग माथि उठेको छ तर कसैलाई थाहा नहुन सक्छ । यसलाई बेलैमा समाधान गर्नुपर्ने देखिन्छ ।’
 
कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुंगानाले गर्भगृहमुनि र पानी बग्ने भागआसपासमा अनगिन्ती ठूला मुसा रहेकाले तिनले ओहोरदोहोर गर्न बाटो बनाउँदा पनि मन्दिरमुनिको भागमा भ्वाङ परेको बताए । मन्दिरमा चढाइने पानी, पञ्चामृत आदि कहाँबाट पसेर कहाँ निस्कन्छ भन्ने पत्तो नहुने उनको भनाइ छ ।(अन्नपूर्ण पोस्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ