arrow

प्रादेशिक संरचनाअनुसार न्यायालयमा कर्मचारी थप्ने गृहकार्य अन्तिम चरणमा

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
suprem-court.jpeg
काठमाडौं । प्रादेशिक संरचनाअनुसार न्यायालयमा कर्मचारी थप्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ । सर्वोच्च अदालतले सांगठनिक तथा व्यवस्थापन सर्वेक्षण गर्न चारसदस्यीय कार्यदल गठन गरेर कार्य सुरु गरेको थियो । संघीय व्यवस्था लागू भएसँगै अदालतले सबै क्षेत्रमा प्रादेशिक संरचना निर्माण गरेर काम अगाडि बढाएको छ । हाल सातवटा उच्च अदालत निर्माण गरेर न्यायाधीशको पदपूर्तिसमेत गरिसकेको छ । उच्च अदालतमा आवश्यक एक सय ८० न्यायाधीश नियुक्ति टुंगिएसँगै अदालतको प्रादेशिक संचरनामा कर्मचारी थप्ने तयारी भएको छ ।
 
सातवटा उच्च अदालत र नौवटा उच्च अदालतका न्यायिक इजलास तथा वीरगन्ज र ओखलढुंगामा स्थापना गरिएका दुईवटा अस्थायी इजलासमा कर्मचारी थप्ने तयारी गरिएको छ । कर्मचारी थप गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको सर्वोच्चका सहरजिस्ट्रार लालबहादुर कुँवरले बताए । तर, उनले के–कति कर्मचारी थपिन्छन् भन्ने विषयमा भने विस्तृत अध्ययन पूरा हुन बाँकी रहेको कुँवरले जानकारी दिए ।
 
अदालतको प्रादेशिक संरचनामा कर्मचारी थप्न सर्वोच्चका दुई तथा अर्थ मन्त्रालयका एक उपसचिव र सामान्य प्रशासन मन्त्रालयका एक शाखा अधिकृत रहेको चार सदस्यीय कार्यदल गठन भएको थियो । समितिले विस्तृत अध्ययन गरेर कर्मचारी थप्न प्रतिवेदन तयार गरिसकेको जानकारी दिइएको छ ।
 
प्रादेशिक संरचना कार्यान्वयन गर्ने क्रममा पुनरावेदन अदालतलाई उच्च अदालत बनाइएपछि अब कर्मचारीको समायोजनको काम अगाडि बढाउन लागिएको हो । उच्च अदालतका इजलासमा दुई सयसम्म कर्मचारी थप्ने तयारी गरिएको स्रोतले जनायो । यद्यपि, सो संख्या थपघट हुन सक्ने बताइएको छ । कर्मचारी व्यवस्थापनका क्रममा विगतमा पुनरावेदन अदालतमा कार्यरत रहेका कर्मचारी समायोजनसमेत गरिने भएको छ ।
 
समायोजनपछि आवश्यक जनशक्ति लोकसेवा आयोगबाट पदपूर्ति गर्ने तयारी छ । कर्मचारीको पदपूर्ति सर्वोच्चबाट सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पुगेर टुंगो लाग्नेछ ।
(नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ