arrow

चिनियाँ उच्च अधिकारीको बाक्लिँदै नेपाल भ्रमण, रक्षामन्त्रीको नेपाल भ्रमण चैतमा

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
china-flag.jpeg
काठमाडौं । आगामी एक महिनाभित्र चीनको तीन उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने तय भएको छ । चिनियाँ रक्षामन्त्री, परराष्ट्रसचिव र कम्युनिस्ट पार्टीको एसिया मामिला हेर्ने उच्च अधिकारी काठमाडौं आउन लागेका हुन् । कूटनीतिक स्रोतका अनुसार उनीहरू सबै तीनदिने भ्रमणमा आउन लागेका हुन् । 
 
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रोपोगाण्डा प्रमुख लिउ छिपाओले ३ पुसमा तीनदिने नेपाल भ्रमण गरेका थिए । तीन दिनपछि तिब्बतको जनकंग्रेस प्रमुख बाइमा छिलिनले नेपाल भ्रमण गरेका थिए । उनीपछि नेपाल आउन लागेको यो नै उच्चस्तरीय प्रतिनिधिमण्डल हो ।
 
चीनको परराष्ट्र मामिलासम्बन्धी सहायकमन्त्री कोङ सुयान्यु ७ देखि ९ चैतसम्मका लागि नेपाल आउने तय भएको छ । परराष्ट्रसचिव शंकरदास वैरागीको औपचारिक निमन्त्रणामा दुईपक्षीय संयन्त्रको बैठकमा सहभागी हुन उनी आउन लागेका हुन् । नेपाल र चीनका परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको ११औँ बैठकका लागि उनलाई परराष्ट्र मन्त्रालयले ११ पुसमा पत्र पठाएको थियो ।
 
८ चैतमा हुने औपचारिक बैठकमा नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक, सांस्कृतिक विषयमा छलफल हुनेछ । नेपाल र चीनबीच भएका सबै सम्झौताको समीक्षा र भ्रमणहरूका विषयमा सो बैठकमा छलफल हुने कार्यक्रम छ । ‘बैठकमा नेपाल–चीन सम्बन्धका सबै विषयमा बृहत् छलफल हुन्छ,’ परराष्ट्रसचिव वैरागीले भने । बैठकमा नेपालको नेतृत्व परराष्ट्रसचिव वैरागीले तथा चीनको नेतृत्व सहायकमन्त्री कोङले गर्नेछन् ।
 
चिनियाँ कम्युनिस्ट पार्टीका नेता बिहीबार आउँदै
चिनियाँ कम्युनिस्ट पार्टीको एसिया विभाग हेर्ने उच्च अधिकारी डोउ इन्योङ बिहीबार काठमाडौं आउने तय भएको छ । उनले बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको छ । स्रोतका अनुसार उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् । साँझ उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले उनको सम्मानमा रात्रिभोज दिने कार्यक्रम छ । तर, उनको भ्रमणबारे औपचारिक रूपमा नेपाल र चीन दुवैले प्रतिक्रिया दिएका छैनन् ।
 
सैन्य अभ्यासको अन्तिम तयारी
नेपाल र चीनका सेनाबीच सैन्य अभ्यासको तयारी अन्तिम चरणमा पुगेको छ । सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथी विनोद श्रेष्ठ नेतृत्वको टोली बेइजिङ पुगेर चिनियाँ जनमुक्ति सेनासँग सैन्य अभ्यासको मोडालिटीबारे छलफल गरेको छ । सैन्य टोली हाल बेइजिङमा छ ।
 
‘विपत् व्यवस्थापन, माउन्टेनियरिङ अभ्यासलगायतमा अनुभव साटासाट गर्न चीनसँग सैन्य अभ्यास हुन लागेको हो,’ रक्षामन्त्री बालकृष्ण खाणले नयाँ पत्रिकासँग भने, ‘भूकम्पपछिको विपत्मा नेपाली सेनासँग विभिन्न देशका सेनाले सहकार्य गरे, त्यस्तो अवस्थाको सामना गर्ने विषयमा सैन्य अभ्यासका क्रममा अनुभव आदानप्रदान हुन्छ । सेनाले यसबारे तयारी गरिरहेको जानकारी मलाई दिइएको छ ।’ चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले १४ पुसमा सैन्य अभ्यास हुने सार्वजनिक गरेका थिए ।
 
रक्षामन्त्री चाङको भ्रमण ११–१३ चैतमा
रक्षामन्त्री बालकृष्ण खाणको निमन्त्रणामा चीनका रक्षामन्त्री चाङ वाङक्वान ११–१३ चैतसम्म नेपाल आउँदै छन् । उनले रक्षामन्त्री खाणसँग १२ चैतमा औपचारिक दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ । नेपाल हुँदै श्रीलंका जान लागेका रक्षामन्त्री चाङसँग नेपाल र चीनबीचको रक्षा सम्बन्ध र नेपाली सेनालाई उपलब्ध गराउने चिनियाँ सहयोगसम्बन्धी छलफल हुनेछ । रक्षामन्त्री खाणले चिनियाँ समकक्षीको भ्रमणबारे विस्तृत तालिका आइनसकेको बताए । मन्त्री खाणले मंगलबार नयाँ पत्रिकासँग भने, ‘उहाँलाई हामीले निमन्त्रणा गरेका हौँ, राष्ट्रपति सी जिनपिङ आउन अलिक समय लाग्ने भएकाले यो तहको भए पनि राजनीतिक भ्रमण हुन लागेको छ, तर विस्तृत कार्यतालिका आइसकेको छैन ।’
(नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ