arrow

काठमाडौं उपत्यकामा एकाएक इन्धन अभाव, रहस्य यस्तो

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
petrol-distribution-in-nepal.jpg.jpeg
काठमाडौं । काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । बुधबार नारी दिवसमा इन्धन वितरण नभएको र मधेस आन्दोलनको त्रासले माग वृद्धि भएको आयल निगमले जनाएको छ । निगम प्रवक्ता सीताराम पोख्रेलले सामान्य अवधिभन्दा माग दोब्बर भएको बताए ।
 
प्रवक्ता पोख्रेलले बिहीबार दोब्बर माग भएपछि आपूर्ति पनि बढाएको बताए । ‘आइतबार, सोमबार र मंगलबार ३ लाख ५० हजारदेखि ४ लाख लिटरसम्म पेट्रोलको माग थियो,’ उनले भने, ‘बुधबार सार्वजनिक बिदाको दिन वितरण भएन । बिहीबार माग धेरै भएपछि ८ लाख लिटर पेट्रोल वितरण गरेका छौँ ।’ थानकोट डिपोले बुधबार दिउँसोबाट लोडिङ थालेकाले साँझसम्म पम्पमा इन्धन पुगेको थियो ।
 
प्रवक्ता पोख्रेलका अनुसार बिहीबार बिहानैबाट उपभोक्ताको लाइन बढेपछि थानकोट डिपोले ८ लाख लिटर पेट्रोल र ९ लाख ५० हजार लिटर डिजेल वितरण गरेको थियो । ‘सामान्य अवधिभन्दा दोब्बर बढी वितरण गरिएको छ,’ उनले भने । अमलेखगन्जबाट आयात गरेको इन्धनले नपुगेर नेपालगन्ज डिपोबाट समेत उपत्यकालाई इन्धन आयात गर्न लागिपरेको उनले बताए ।
 
सरकारी पम्पमा लाइन
उपत्यकामा साझा सहकारी, सेना, प्रहरी र सशस्त्रले सञ्चालन गरेका पम्पमा बुधबार बिहानैबाट उपभोक्ताको लाइन लागेको थियो ।
 
सरकारी सवारीसाधनलाई इन्धन वितरण गर्नुपर्ने भएकाले यस्ता पम्पले निजीभन्दा बढी मौज्दात राख्ने गर्छन् । 
 
निगमले थानकोट डिपोमा ट्यांकर लोड थालेपछि सरकारी पम्पले मौज्दात इन्धन वितरण गर्ने गरेका कारण उपभोक्ताको भीड बढ्ने गर्छ । 
 
पुल्चोकको साझा सहकारीमा बुधबार बिहानदेखि मोटरसाइकल–स्कुटर र चारपांग्रे सवारीसाधनको बाक्लो लाइन थियो । 
 
उपत्यकामा सरकारी स्वामित्वको संस्थाका ८ वटा पम्प छन् । यी पम्पले निजीभन्दा दोब्बर परिमाण इन्धन वितरण गर्ने गर्छन् ।
 
भण्डारण छैन
उपत्यकामा इन्धन वितरण गर्ने निगमको थानकोट डिपोमा पर्याप्त भण्डारण गृह नहुँदा समस्या बारम्बार दोहोरिँदै आएको छ । 
 
हाल थानकोट डिपोमा पेट्रोलको १० लाख लिटर क्षमताको एउटा मात्रै भण्डारण गृह छ । अर्को भण्डारण गृह बिग्रिएको छ । 
 
उपत्यकामा माग बढेर आठ–नौ लाख लिटर पुग्दा सो भण्डारण गृहले अपुग हुने गरेको छ र अमलेखगन्जबाट ट्यांकरमा ओसारेको इन्धन सोझै पम्पमा लैजानुपर्ने बाध्यता छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ