arrow

ऋण काढेर सडक निर्माण गरे उत्तरी पर्वतका बासिन्दाले

logo
रामकृष्ण लामिछाने,
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
uttar-parbat.jpeg
पर्वत । जिल्लामा भित्रिने सरकारी बजेटको सबैभन्दा ठूलो हिस्सा सडकमै खर्चिने गरेपनि यहाँको एक विकट गाउँका बासिन्दाले १८ लाख रूपैयाँ ऋण र चन्दा खोजेर गाउँसम्म सडक पुर्‍याउन बाध्य भएका छन् । 
 
उत्तरी पर्वतको बाँसखर्क–९ मालगाउँका बासिन्दाले चर्को ब्याजदरमा ऋण काढेर सडक निर्माण गर्न बाध्य भएका हुन् । उनीहरुले लेकफाँटको लोप्रे सिमल्टेचौरदेखि मालगाउँसम्म जोड्ने सडक निर्माण गरेका हुन् । विसं २०६६ मा चिनाखेतदेखि सुरु भएको सडकको ट्र्याक खोल्ने कार्यले बुधबार पूर्णता पाएको हो । सात किमी दूरीको यो सडक निर्माण सात वर्षमा पूरा भएको हो । 
 
सरकारी निकाय र स्थानीयवासीको ४२ लाखको लागतमा सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष समबहादुर तिलिजाले जानकारी दिए । जिविस पर्वत, बाँसखर्क गाविस, सडक, बोर्ड, सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २४ लाख अनुदान प्राप्त भएको थियो भने सडक निर्माण गर्न स्थानीय बासिन्दाले रु १८ लाख ऋण र चन्दा सङ्कलन गरेका थिए । स्थानीय बासिन्दा, सहकारी सङ्घसंस्था, आमा समूहलगायतबाट उक्त ऋण लिइएको हो । यो सडक छिमेकी जिल्ला म्याग्दीको बेनीदेखिमल्लाज–बगरफाँट–बाँसखर्क हुँदै लोप्रे पुग्न छोटो दूरीको हुने अध्यक्ष तिलिजाले बताए ।
 
सडकबाट उत्तरी पर्वतका बाँसखर्क, मालगाउँ, लोप्रे, डाँडाकटेरी, कुवापानी र म्याग्दीका राम्चे, काफलडाँडा र नांगीका बासिन्दा लाभान्वित भएका छन् । उक्त क्षेत्रका बासिन्दालाई म्याग्दीको बेनी पुग्न सजिलो हुने जनाइएको छ । लोप्रेदेखि बेनीसम्म साढे एक घन्टामै आउन सकिने अध्यक्ष तिलिजाले जानकारी दिए । 
 
यसअघि लेकफाँटदेखि मिलनचोकहुँदै बेनी आउन कम्तीमा तीन घन्टा गाडीमा यात्रा गर्नुपर्दथ्यो । जोखिममुक्त छोटो बाटो बनेपछि गाडी चढ्नका लागि महँगोमा जिप रिजर्भ गर्नुपर्ने मालगाउँका बासिन्दाको बाध्यतासमेत हटेको स्थानीयवासीले बताएका छन् । लामो संघर्ष र ऋण धन गरेरै भए पनि गाउँसम्म सडक सुविधा पुगेपछि मालगाउँका बासिन्दा हर्षित बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ