arrow

बजारमा नक्कली श्रृंगारका सामाग्रीको बिगबिगी

logo
गोपाल पोखरेल,
प्रकाशित २०७३ फागुन २८ शनिबार
Udayapur-hamrakura.jpeg
उदयपुर। एक साता अघि त्रियुगा नगरपालिका २ की संगीता अधिकारीले सृंगारका लागि गाईघाट बजारमा फेयर एण्ड लभ्ली किनिन्। तर, प्रयोग गर्न थालेको दुई दिन नबित्दै उनको अनुहारमा ससाना खटिरा निस्किए।  आइतबार स्थानीय एक सैलुनमा दारी कटाएका रवीन राईलाई पनि यस्तै समस्या उत्पन्न भयो। उनको अनुहारमा दारी काटिसक्न नपाउँदै खटिरा निस्कन थाले। दारी काट्नु अघि लगाएको क्रिमका कारण खटिरा आएको अनुमान उनले गरे। संगीता र नवीनलाई मात्र होइन, बजारमा जहिँतहीँ पाइने नक्कली श्रृंगारका  सामाग्रीका कारण प्रयोगकर्ताको स्वास्थ्यमा समस्या उत्पन्न हुन थालेको छ।
 
सदरमुकाम गाईघाट लगायत ग्रामीण बजारमा बिक्री गरिने नक्कली श्रृंगारका सामग्रीले  स्वास्थ्यमा समस्या ल्याएको हो। बजारमा बिक्री गरिने नक्कली साबुन, स्याम्पु, क्रिम, पाउडरलगायतका बस्तु नक्कली भेटिन्छन्।  बुहराष्ट्रिय कम्पनीले उत्पादन गर्ने सामग्री जस्तै देखिने नक्कली श्रृंगारका सामग्रीले उपभोक्ता ठगिने क्रम बढ्दो छ। तर बजार अनुगमन गर्ने निकायले वास्ता गरेकोँ छैन। बजार अनुगमन प्रभावकारी नहुँदा नक्कली वस्तुको बिक्री बढ्दै गएको सर्वसाधारणको गुनासो छ।  “बजारमा लेकमी, गानियर, फेयर एण्ड लभ्ली, भ्यास्लिन नक्कली पाइन्छ” स्थानीय वविता ढकालले भनिन् “हेर्दा उस्तै हुन्छन्, छुट्याउनै गाह्रो पर्छ।” तर प्रयोग गर्दा उल्टो असर देखिने उनले बताइन्। 
 
नक्कली सामग्रीले कपाल झर्ने, अनुहारमा घाउ खटिरा आउने र शरीर चिलाउनेजस्ता समस्या देखिने तारा सिवाकोटी बताउँछिन्। उनका अनुसार अनुहारमा देखिने दाग, चाया र पोतो हटाउन प्रयोग गरिने श्रृंगारका सामग्री नै नक्कली भएकाले अनुहारमा झन विभिन्न समस्या देखा पर्ने गरेका छन्। 
 
हेर्दा सक्कली झैं लाग्ने र धेरै मुनाफा हुने भएकाले बजारका सानाठूला सबै खालका व्यापारीले नक्कली सामान बिक्री गर्ने गरेको उपभोक्ता बताउँछन्। “ सक्कलीकै मूल्यमा नक्कली बेच्न पाएपछि व्यापारीले किन सक्कली समान राख्थे ?” स्थानीय विष्णु कोइरालाले भने, “बजारमा पाइने अरु समानको त कुरै छाडौं दारी काट्ने ब्लेड समेत नक्कली छन्। ”  सक्कली र गुणस्तरीय वस्ुतको बिक्री गर्दा सोचेजति नाफा नहुने भएकाले व्यापारीले नक्कली सामान बेच्ने गरेको उनले बताए। 
 
“ सृंगारका सामग्री मात्रै होइन, सक्कली भनेर सुन त नक्कली बिक्री गरिन्छ,” उपभोक्ताको हितमा काम गर्दै आएका बद्री काफ्ले भन्छन् “ श्रृंगारका सामाग्री नक्कली बिक्री गरिनु व्यापारीका लागि सामान्य हो।” व्यापारीले सर्वसाधारणको स्वास्थ्य र सेवालाई भन्दा नाफालाई बढी महत्व दिएको काफ्लेले बताए।
 
“नक्कली सामाग्रको प्रयोग गर्दा छालासंग सम्वन्धित रोग लाग्न सक्छन् ” व्यूटिसियन रेश्मा दाहाल भन्छिन्, “हेर्दा सक्कली झैं लागेपनि प्रयोग गर्न थालेको एक दुई दिनपछि मात्रै त्यसको असर हेरेर सक्कली नक्कली छुट्याउन सकिन्छ । ” कतिपयको गुणस्तरीय भन्दा पनि सस्तो खोज्ने बानीले नक्कली सामानको बिक्री बढी हुने गरेको उनको बुझाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ