arrow

नेपाली सेना तराईको माहोल बुझ्दै, सेनापति नै उत्रिए फिल्डमा

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
rajendra-chhetri.jpeg
काठमाडौ । तराई–मधेसमा राजनीति र सुरक्षा अस्थिर भइरहेका बेला त्यहाँको पछिल्लो अवस्था बुझ्न प्रधानसेनापति राजेन्द्र क्षेत्री सप्तरी, सर्लाही र धनुषाको दुईदिने भ्रमणमा गएका छन् ।
 
प्रधानसेनापति क्षेत्रीले भ्रमणमा त्यहाँको सुरक्षास्थिति र सम्भावित सुरक्षा चुनौतीबारे जानकारी लिएका छन् । 
 
उनी धनुषास्थित गोरखनाथ गणको वार्षिकोत्सवमा सहभागी भए पनि उनले सर्लाही र सप्तरीसमेत पुगेर त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी लिएको स्रोतले बताएको छ । 
 
उनले सर्लाहीस्थित रणशेर गण र सप्तरीको वन तथा पर्यावरण गणको निरीक्षण गरेका थिए । त्यस क्रममा उनले एमालेको मेची(महाकाली अभियानका क्रममा सप्तरीमा भड्किएको हिंसा र त्यसबाट उत्पन्न असहज परिस्थितिका सम्बन्धमा पनि चासो व्यक्त गरेका थिए ।
 
गणको नियमित निरीक्षण भ्रमण भनिए पनि प्रधानसेनापति क्षेत्री पछिल्लो समय तराई(मधेसको तरल राजनीतिक अवस्था र सुरक्षास्थितिबारे जानकारी लिन गएको स्रोतले बताएको छ । 
 
उनले शिवरात्री एवं सेना दिवसका अवसरमा फागुन १२ गते दिएको सन्देशमा विभिन्न स्वार्थसमूहले तराई(मधेसमा गरिरहेका अवाञ्छनीय गतिविधि सेनाले गम्भीरतापूर्वक नियालिरहेको र आदेश पाए त्यस्ता गतिविधि निस्तेज पार्ने तयारी अवस्थामा रहेको उल्लेख थियो।
 
प्रधानसेनापति क्षेत्रीले आइतबार सर्लाहीस्थित रणशेर गण, सप्तरीस्थित पर्यावरण गण र धनुषास्थित गोरखनाथ गणको निरीक्षण गरे । 
 
तराई–मधेसको पछिल्लो सुरक्षा अवस्था र स्थानीय तहको निर्वाचनका सुरक्षा चुनौती बुझ्न उनी भ्रमणमा गएको जंगीअड्डा स्रोतले बतायो । ‘पछिल्लो राजनीतिक अवस्था र त्यसबाट उत्पन्न सुरक्षा चुनौतीबारे जंगी अड्डा गम्भीर बनेको छ । जंगी अड्डा सबै विषयमा जानकार छ’, उच्च सैनिक स्रोतले भन्यो, ‘त्यसकै सिलसिलामा चिफसापले तराई(मधेसको सुरक्षा स्थितिसम्बन्धमा चासो राख्नुभएको हो ।’
 
प्रधानसेनापति क्षेत्रीले गणपतिहरूसँग मधेसमा संविधान संशोधनको माग गर्द भइरहेका प्रदर्शन, भूमिगत समूहको सक्रियता, सीके राउतका कार्यकर्ताको गतिविधिलगायत विषयमा जानकारी लिएको स्रोतले बतायो ।
गणपतिहरूले उनलाई सप्तरी र धनुषाको सुरक्षास्थिति र सम्भावित सुरक्षा चुनौतीबारे बिफ्रिङ गरेका थिए । उनले वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन सुरक्षा चुनौतीबारे समेत चासो राखेका थिए । 
 
फागुन १० गते जंगी अड्डामा बसेको पृतनापति बैठकमा सेनाले राजनीतिक अस्थिरता र केही बिखण्डनकारी समूहका गतिविधिबाट मुलुकको सुरक्षा कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।
 
तराईमा अवाञ्छित गतिविधि गर्दै आएका सीके राउत र केही विखण्डनकारी समूहले स्वतन्त्र मधेसका पक्षमा खुला सभासम्मेलन गर्न थालेपछि सेना गम्भीर बनेको स्रोतले बतायो । 
 
राजनीतिक दलहरू समयमै संयमित नबने तराई(मधेसमा विखण्डनकारी गतिविधि बढ्न सक्ने निष्कर्षमा सेना पुगेलगत्तै प्रधानसेनापति क्षेत्रीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
 
निरीक्षणमा उनले विभिन्न गण तथा सुरक्षा पोस्टको वस्तुस्थिति, विवरण, तालिम, बन्दोबस्तीलगायत विषयमा जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
सेनाले मुलुक विखण्डन गर्ने र हतियार उठाएर सामाजिक सद्भाव एवं सहिष्णुतामा खलल पार्ने उद्देश्यले भइरहेका गतिविधि सामना गर्न सदैव तम्तयार रहेको बताउँदै आएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ