arrow

'७ दिन कुरेको भए कमल थापा प्रधानमन्त्री !'

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
kamal-thapa-news.jpeg
काठमाडौं । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले आफूलाई आफ्ना शुभचिन्तकहरुले ७ दिन कुरेको भए आफू प्रधानमन्त्री बन्ने सम्भावना रहेको भए पनि उपप्रधानमन्त्री बनेर हतार गरेको टिप्पणी गरेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लवमा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले शुभचिन्तकहरुले यस्तो बताएको भएपनि आफूलाई पदको मोह नभएकोले तोकिएकै मितिमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नको लागि आफू सरकारमा गएको बताएका छन् । उनले आफूहरुको सहभागिताले प्रचण्ड सरकारलाई नैतिक बल पुगेको विश्वास दिलाए । 
 
उनले संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा संसदमा निर्णायार्थ पेश गरे आफूहरु सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पारेका छन् । साक्षात्कारमा बोल्दै उपप्रधानमन्त्री थापाले आफ्नो पार्टी संविधान संशोधन प्रस्तावमा कुनैपनि द्धिविधा र अस्पष्ट नरहेको बताउँदै भने, ‘हाम्रो पार्टी यो संशोधन प्रस्तावको विपक्षमा छ, यसको विपक्षमा मतदान गर्छ, तपाईहरु ढुक्क हुनुहोस्, अझ यो प्रस्तावलाई पारित गराउनको लागि सरकारले सदनमा निर्णायर्थ पेश गर्यो भने हामी त्यतिखेर सरकारबाट बाहिरिएर, सबै मन्त्रीहरुले राजीनामा दिएर प्रस्तावको विपक्षमा मतदान गर्छौं ।’ 
 
राप्रपाका अध्यक्ष समेत रहेका मन्त्री थापाले आफ्नो पार्टीको संविधान संशोधन प्रस्तावबारे पूर्ववर्ती अडानमा कुनैपनि परिवर्तन नभएको जिकिर गर्दै भने,‘प्रस्तावबारे पहिला जे अडान थियो, अहिलेपनि त्यही छ, म सरकारमा सहभागी हुँदैमा हाम्रो पार्टीको नीतिमा कुनैपनि परिवर्तन भएको छैन, अहिले संसदमा रहेको संविधान संशोधन प्रस्ताव पारित हुनुहुँदैन भन्ने पक्षमा हामी छौं ।’ उनले संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी नरहेको र यसको पक्षमा मतदान नगर्ने भनेर भनिसकेकोले अब कति पटक भन्नुपर्ने भन्दै प्रश्न तेर्साए । 
 
साक्षात्कारमा मन्त्री थापाले मधेश केन्द्रित दलहरुको माग पूरा गर्नको लागि आफू मन्त्री भएको दिनदेखि नै वार्ता तथा छलफललाई अघि बढाईसकेको जानकारी दिँदै भने, ‘म मन्त्री भएको दुई दिन भयो, तर मैले मन्त्री भएकै दिनदेखि मधेश केन्द्रित दलहरुको माग पूरा गर्नको लागि विशेष तयारी गरिसकेको छु, उहाँहरुसँगको छलफल तथा वार्तालाई तिव्रता दिएको छु, वार्ता भनेको गोप्य हुनुपर्छ, कसैलाई क्यामेरामा देखाएर बोल्ने कुरा होईन, आज वार्ता सफल हुन नसक्नुको कारण नै पब्लिसिटी गर्ने चलन भएकोले हो, यसले बैठकमा भएका कुराहरुलाईपनि बाहिर ल्याउने र छताछुल्ल पार्ने काम भएको छ, यसले वातावरण बनाउनुको सट्टा बिगारेको छ ।’ उनले आफूले पहल  गरेको वार्ता सफल हुनेमा विश्वस्त रहेको स्पष्ट पारे। 
 
उनले आफूहरु चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमा सहभागी भएको स्पष्ट पारे। मन्त्री थापाले भने, ‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री भएदेखि नै हामीलाई सरकारमा आउन आग्रह गर्नुभएको थियो, तर हामीले अहिले आवश्यक छैन भनेर भनेको थियौं, तर एकता महाधिवेश सम्पन्न भएलगत्तैपनि मलाई उहाँले सरकारमा सहभागीताको लागि आग्रह गर्नुभएकै हो, अहिले सरकारको स्थायित्वमाथि गम्भिर प्रश्न चिन्ह खडा भएकोले र चुनावको सुनिश्चितता र संविधान कार्यान्वयनको लागि हामी सरकारमा सहभागी भएका हौं ।’
 
सरकारले निर्वाचनको मिति घोषणा गरेदेखि नै आफ्नो पार्टीले स्वागत गरेको उल्लेख गर्दै थापाले भने, ‘निर्वाचनलाई सफल बनाउनको लागि हाम्रो पार्टीले चुनावको सबैभन्दा पहिले स्वागत गरेको हो, सरकारको स्थायित्वको बारेमा प्रश्न चिन्ह खडा हुन थालेपछि प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले राप्रपाबाट शीर्ष नेताहरुबाटै सरकारमा आउनुपर्यो भनेर फेरि आग्रह गर्नुभएकोले हामी सरकारमा सहभागी भएका हौं।’ उनले निर्धारित समयभित्रै चुनाव गर्ने शर्त र आधारमा आफूहरु सरकारमा सहभागी भएको पटक–पटक जिकिर गरे।
 
थापाले अब बैशाख ३१ गते नै निर्वाचन हुनेमा कसैले पनि कुनै शंका तथा उपशंका गर्न नहुने बताए । उनले भने, ‘निर्वाचन सम्पन्न गर्नको लागि युद्धस्तरमा काम भैरहेको छ, निर्वाचन आयोगलाई सबै सामाग्री जुटाईदिन्छौं ।’ उनले अघि थपे,‘चुनाव निश्चित रुपमा हुन्छ, अब सबैलाई चुनावमा जुट्नको लागि म आग्रह गर्दछु ।’
 
उनले लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले मधेश केन्द्रित आन्दोलनरत दलहरुलाईपनि चुनावमा सहभागिता गराउनुपर्ने बताए। उनले भने,‘मधेशी मोर्चालाईपनि सम्मानजनक ढंगबाट निर्वाचनमा सहभागी बनाउने वातावरण बनाउन हरसम्भव प्रयास भैरहेको छ ।’ उनले थपे,‘मैलेपनि जिम्मेवारी बहन गरेसँगै वार्ता तथा छलफललाई गम्भिर रुपमा अघि बढाएको छु।’
 
त्यस्तै उनले निर्वाचन आयोगले दिएको निर्देशन बमोजिम तोकिएकै मितिभित्र कर्मचारी खटनपटन मन्त्रालयले गर्ने विश्वास दिलाए। उनले भने,‘निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्न सरकार तथा विभागीय मन्त्रालयको हिसावले हामी तयार छौं ।’ 
 
उनले स्थानीय तहको प्रतिवेदन सार्वजनिक गर्नु नै अभूतपूर्व उपलब्धि भएको टिप्पणी गरे । उनले भने, ‘स्थानीय तहको प्रतिवेदन सार्वजनिक भएको छ, यसमा उमंग र हलचल आउनुपर्ने थियो, यसलाई पूर्णता दिनको लागि निर्वाचन हुँदैछ ।’ उनले भोलि एक विशेष सार्वजनिक कार्यक्रम गरेर ललितपुर उपमहानगरपालिको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्ने त्यहीँबाट ७४४ तह कार्यान्वयनमा ल्याउने उद्धघाटन हुने जानकारी दिए । 
 
मधेशी मोर्चालाई भ¥याङ बनाएर तपाई सत्ता पुग्नुभयो भन्ने आरोप छ नि भन्ने पत्रकारको जिज्ञासामा थापाले भने,‘यो विल्कुल गलत कुरा हो, यो सरकारको स्थायित्वमा प्रश्न चिन्ह आउने भएकोले राप्रपा बाध्य भएर सरकारमा सहभागी भएको हो ।’ उनले चुनाव गर्न संकट आए हामी सरकारलाई काँध थाप्न तयार छौं भनेर बोल्ने एमाले पार्टीले यस्तो गलत आरोप लगाउनु नैतिक अधिकार नभएको स्पष्ट पारे । 
 
उनले भने, ‘हिजो निर्वाचनको सुनिश्चितताको लागि सरकारलाई काँध थाप्छौं भन्नेहरुले हामी पनि निर्वाचनको सुनिश्चितताको लागि सरकारमा जाँदा नकारात्मक रुपमा हेर्नुपर्नेको कारण के हो ?’ उनले आफूलाई अचम्म लागेको बताउँदै थपे, ‘आफ्नो पछि लाग्दा ठिक, अरुलाई समर्थन गर्दा बेठिक भन्ने प्रचलन ठिक भएन् ।’
 
उनले मधेश समस्या समाधान गर्नुपर्ने कुरामा आफुहरु गम्भिर रहेको बताउँदै भने, ‘केपी ओली नेतृत्वको सरकारमा मैरै नेतृत्वमा वार्ता समिति गठन भएको थियो, त्यतिवेला सिमांकनसहित सबै विषयमा संशोधन गर्नेगरि प्रस्ताव मैले नै तयार पारेको थिएँ, त्यतिखेर ओलीजीको समर्थन थियो, उहाँकै निर्देशनमा मैले प्रस्ताव तयार पारेको थिएँ, अहिले आएर दोहोरो चरित्र देखाउने काम भैरहेको छ ।’ उनले सरकारमा रहँदा एउटा कुरा गर्ने र सरकारबाट बाहिरिँदा अर्को कुरा गर्ने प्रवृत्ति आफ्नो पार्टीमा नभएको समेत स्पष्ट पारे। थापाले भने,‘यस्तो प्रवृत्ति सबैले त्याग्नुपर्छ ।’
 
त्यस्तै उनले तोकिएकै मिति ०७४ बैशाख ३१ गते चुनाव नहुने भयो भने सबैभन्दा पहिले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताउँदै भने,‘चुनाव नहुने भयो भने हाम्रो पार्टी एक मिनेटपनि सरकारमा बस्दैन्।’
 
तपाईको पार्टी संघीयता विरोधी र यसको नेतृत्व तपाईले गरिरहनुभएको छ, अनि तपाई अहिले आएर किन संघीय मामिला मन्त्री बन्नुभयो नि? भन्ने पत्रकारको जिज्ञासमा मन्त्री थापाले भने,‘मुलुकमा संघीयता अघि बढिसकेको छ, यसलाई फर्काउन सकिँदैन्, तर संघीताका कारण मुलुकको राष्ट्रियता, अक्षुणता र भौगोलिक अखण्डतामा कम भन्दा कम क्षति होस् भन्ने पक्षमा छौं।’ 
 
उनले संघीयतामा मुलुक अघि बढिसेकेकोले अब आफूहरु चुप लागेर बस्न त नसक्ने बताउँदै भने,‘कमण्डलु बोकेर पशुपतिनामा जाने कुरा त आउँदैन नि, राजनीति त गर्नेपर्यो नि।’उनले राप्रपा कुनै पनि हालतमा नफुट्ने जिकिर गर्दै भने,‘यो पार्टी अब कसैले चाहेर पनि फुटाउन र टुटाउन सक्दैन्, पार्टी एक ढिक्का भएर अघि बढ्छ, डा. प्रकाशचन्द्र लोहनीले हिजो यहीँ रिपोर्टर्स क्लब नेपालबाट पार्टी परित्याग गरेको घोषणालाई मैले त्यति महत्व दिएको छैन।’
 
उनले डा. लोहनीको पार्टी परित्यागले कुनै फरक नपार्ने समेत स्पष्ट पारे । उनले भने, ‘तर लोहनीले पार्टी परित्याग गरेको खबरले मलाई दुःखी तुल्याएको छ, उहाँहरुले ठीक ढंगले बुझ्न सक्नुभएन् ।’ यद्धपी उनले लोहनीले राजनीतिबाट सन्यास लिन खोजेको भए आफ्नो भन्नु केही नभएको तर अर्को नयाँ पार्टी खोल्न उक्त कदम चालेको भए आत्मघाती बाहेक अरु केही नहुने ठोकुवा गरे। उनले डा. लोहनीले आफूमाथि लगाएका सबै आरोपहरु कपोकल्पित, असत्य र निराधार भएको स्पष्ट पारे। 
 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ