arrow

महासंघ हाँक्ने यी हुन् १७ भाइ !

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ चैत १ मंगलबार
fncci_president_list-2017.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले रहिले स्वर्ण वर्ष पार गरिरहेको छ । वि सं २०२२ सालमा एउटा सानो कोठामा गठन भएको २१ सदस्यीय तदर्थ समितिबाट यावत उतारचढाव बेहोर्दै आजको दिनसम्म आईपुगेको महासंघ आजको दिनमा धनीहरुको संस्था, आर्थिक क्षेत्रको सबैभन्दा ठूलो संस्था, अर्थतन्त्रको समानान्तर सरकार आदि इत्यादि यावत नामले चिनिने गरेको छ । 
 
यो संस्था अहिले पनि अन्य संस्था भन्दा भिन्न रहेको छ । राष्ट्रिय निर्देशन ऐन अन्तर्गत् चलेको यो संस्थालाई अरुको जस्तो वर्षैपिच्छे नवीकरण गरिरहनु पर्दैन । तर, तत्कालीन समयमा अन्य संस्था जस्तै गरी आर्थिक संकट बेहोरेको यो संस्था अहिले कसरी धनीहरुको संस्था बन्योे ? यसलाई सुरुवाती अवस्थाबाट आजको दिनसम्म ल्याउनको लागि कसकसले महत्वपूर्ण भूमिका निर्वाह गरे ? त्यो महासंघको आगामी पुस्ताले सोच्न पर्ने विषय हो । महासंघले यो ५० वर्षे कालखण्ड भने सहज नभई संघर्षको कठिन यात्रा पार गर्दै आजको दिनसम्म आईपुगेको छ । 
 
एउटा कोठाबाट सुविधासम्पन्न सचिवालय निर्माण गर्नको लागि महासंघको कुनै एउटा कार्यसमितिका एक जनाको प्रयासले त अवश्य पनि सम्भव हुँदैन । त्यसैले यसको विकासको लागि महासंघसँग आजसम्म जति जना आवद्ध भएका छन् । ती सबैको भूमिका महत्वपूर्ण रहेको छ । तर पनि कार्यसमिति अध्यक्ष भने यसकालागि अझै विशेष रहन्छन् । 
 
महासंघले आजको दिनसम्म आईपुग्दा कूल १७ जना अध्यक्ष पाएको छ । तदर्थ समितिका अध्यक्ष लोकराज जोशीदेखि आजसम्मका अध्यक्ष पशुपति मुरारकासम्मको कार्यसमितिलाई हेर्दा अहिलेसम्म १७ जनाले महासंघमा ५० वर्ष नेतृत्व गरे । जुन सबैभन्दा पहिले को बने त्यसपछि क्रमशः को को अध्यक्ष बने भन्ने सवालमा तल विस्तृतमा उल्लेख गरिएको छ । 
 
महासंघको सबैभन्दा पहिलो अर्थात् तदर्थ समितिका अध्यक्ष हुन् लोकराज जोशी, नेपाल चेम्बरका तत्कालीन अध्यक्ष समेत रहेका जोशीलाई त्यतिबेला चेम्बरको पनि नेतृत्व गरिरहेको आधारमा राजा महेन्द्रले आग्रह गरेर अध्यक्ष बनाएका थिए । उनले २ वर्ष महासंघमा अध्यक्ष बनेर काम गरे । 
 
त्यसपछि आए जुद्ध बहादुर श्रेष्ठ । निकै हठि स्वभावका श्रेष्ठले महासंघमा ४ वर्ष अध्यक्षको रुपमा काम गरे । दोस्रो र प्रतिनिधिबाट छनोट भएका महासंघको पहिलो अध्यक्ष पनि श्रेष्ठ नै हुन् । श्रेष्ठपछि अध्यक्ष बने पशुपति गिरी । महासंघको इतिहाँसमा सबैभन्दा धेरै पटक अध्यक्ष बनेका गिरी, कहिले निर्विरोध त कहिले निर्वाचनबाट नै महासंघको अध्यक्षको रुपमा निर्वाचित भए । जीवनभरी अविवाहित रहेका गिरीले पनि महासंघलाई राम्रोसँग नेतृत्व गरेको जानकारहरु बताउँछन् । 
 
त्यसपछि ३ वर्षे कार्यकालको लागि हरिप्रसाद गिरी अध्यक्ष बनेर आए । एउटामात्रै कार्यकाल महासंघको नेतृत्व गरेका गिरी महासंघको चौथो अध्यक्षको रुपमा निर्वाचित भएका हुन् । त्यसपछि अध्यक्ष भनेर आए इन्द्रभक्त श्रेष्ठ । पाँचौं अध्यक्षको रुपमा रहेका श्रेष्ठले पनि ३ वर्ष महासंघको नेतृत्व गरेका थिए । यसरी पाँच कार्यकालसम्म नेतृत्व गर्ने महासंघका नेताहरुले महासंघलाई स्थापित गराउनको लागि महत्वपूर्ण भूमिका मात्रै खेलेनन् । यसलाई देशभर विस्तार गराउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 
 
जब महासंघमा महेशलाल प्रधानको कार्यकाल आयो महासंघले धेरै सफलताको खुड्किलो उक्लियो । कोठामा सीमित महासंघ आफ्नै जग्गामा जान बल गर्यो । यद्यपि घर बनाएर महासंघ आफ्नै भवनमा भने पद्म ज्योतिको पालामा गएको हो । प्रधानको समयमा महासंघले विभिन्न विदेशी संस्थाहरुबाट कार्यक्रम ल्याउनेदेखि सचिवालयलाई बलियो बनाउनेसम्मको काम भयो । उनले महासंघमा ६ वर्ष नेतृत्व गरे । 
 
उनको दोस्रो कार्यकाल सकिएपछि नयाँ नेतृत्वको लागि आए विनोद चौधरी । निकै ठूलो महत्वाकांक्षा राख्ने स्वभावका चौधरीको समयमा पनि महासंघले निकै उल्लेख्य काम गर्यो यसको विस्तृतमा हाम्राकुराले केही समय अघि उल्लेख गरेको थियो । उनले महासंघमा दुई वर्ष मात्रै नेतृत्व गरे ।  त्यसपछि आए ज्योति ग्रुपका पद्म ज्योति । चौधरी जस्तै उच्च आकांक्षा राख्ने र काम गर्न सक्ने क्षमता समेत रहेका ज्योतिले पनि महासंघको विकासका लागि महत्वपूर्ण योगदान गरेका थिए । 
 
त्यसपछिका अध्यक्षहरुमा क्रमशः आनन्दराज मुल्मी, प्रदीप कुमार श्रेष्ठ र रविभक्त श्रेष्ठ अध्यक्ष बने । उनीहरुले पनि तत्कालीन समयको माग अनुरुप संस्थाको गरिमा बढाउन र व्यवसायीहरुको अधिकारकोलागि महत्वपूर्ण काम गरेका थिए । उनीहरुले पनि समान २ र २ वर्ष महासंघको अध्यक्ष बने । 
 
२०६० सालपछि विनोदबहादुर श्रेष्ठ अध्यक्ष बने । उनले पनि १२ औं अध्यक्षको रुपमा २ वर्ष महासंघको नेतृत्व गरे । भने महासंघलाई व्यवसायीहरुको आफ्नै संस्थाको रुपमा विकास गराउनको लागि समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 
 
त्यसपछि अध्यक्ष बनेका चण्डीराज ढकालले त झनै व्यवसायीहरुलाई महासंघप्रति अपनत्व महशुस गराउन र सरकारसँग साझेदारी गरी काम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । उनी पनि महासंघमा २ वर्ष अध्यक्ष बने । त्यसपछि आएका कुशकुमार जोशी र सुरज बैद्यले समान ३ वर्ष महासंघको नेतृत्व गरे भने त्यसपछि साधारण सभाबाट अध्यक्ष बनेर पनि पूरा कार्यकाल अध्यक्ष बन्न नपाएका प्रदीपजंग पाण्डेले एक वर्ष महासंघको नेतृत्व गरे ।
 
उनले पनि आफ्नो कार्यकाल रहुन्ज्यालसम्म महासंघको गरिमालाई उकास्नको लागि सक्दो कोशिस गरेका थिए । तर, एक वर्षमा उनले महासंघ छाडेपछि भने बाँकी रहेको कार्यकालका लागि अध्यक्ष बनेका पशुपति मुरारकाले पनि महासंघको पक्षमा रही महासंघको सुदृढीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । मुरारकाको यही चैत मसान्त सम्म कार्यकाल रहेको छ । त्यसपछि महासंघको संशोधित विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा स्वतः अध्यक्ष हुनेछिन् । 
 
यसरी स्थापनाकालदेखि आजसम्म आईपुग्दा कूल १७ जनाले महासंघको नेतृत्व गरेका छन् । ती सबै १७ जनाको नेतृत्वमा बनेको कार्यसमितिको अथक प्रयासले महासंघ आजको यो अवस्थामा आईपुगेको हो । यसलाई अबको नेतृत्वकर्ताहरुले पनि मनन गर्नुपर्ने देखिन्छ ।
 
याे पनि हेर्नुहाेस्।
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ