arrow

'नेपालका ८० प्रतिशत मतदातालाई मत हाल्न सिकाउनुपर्छ'

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
yadav-election-commission-2017.jpeg
काठमाडौं। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन शिक्षाका हिसाबले नेपालमा असी प्रतिशत मतदाता अशिक्षित रहेकाले मतदाता शिक्षालाई अभियानकै रुपमा लगिने बताएका छन्। प्रमुख आयुक्त यादवले आयोगले मतदाता शिक्षालाई उच्च प्राथमितामा राखेर हरेक मतदान केन्द्रमा कम्तीमा तीनजना मतदाता शिक्षा कार्यकर्ता वा मतदाता शिक्षा स्वयंसेवकलाई परिचलान गरिने जानकारी दिए।
 
आयोगले स्थानीय तह निर्वाचनका लागि मङ्गलबारबाट सुरु गरेको दुई दिने मतदाता शिक्षा कार्यक्रमको ‘मुख्य प्रशिक्षक प्रशिक्षण’कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त यादवले भने, ‘‘स्थानीय निर्वाचनमा अनुगमनलाई कडाइ गरिने छ, दलहरुका लागि मात्र होइन मतदाता शिक्षा कार्यक्रममा खटिएका आयोगका कर्मचारी पनि अनुगमनमा पर्ने छन्।’’
 
आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचन प्रक्रियामा नयाँ संवैधानिक व्यवस्था अनुसार स्थानीय निर्वाचन निकै जटिल भएकाले करिब एक करोड ४० लाख मतदातालाई मतदाता शिक्षा दिने कार्य चुनौतीपूर्ण रहेको बताए।
 
आयोगका सहसचिव नवराज ढकालका अनुसार, मतदाता शिक्षा स्वयंसेवकलाई मतदाताको घर दैलोमा पठाउने योजना छ। उनले मतदाता शिक्षा कार्यकर्ता र स्वयम सेवक खटाउँदा सकेसम्म समावेशी हिसाबले खटाइने जानकारी दिए।
 
दुई दिनसम्म चल्ने मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ३० जना सहभागी छन्। मुख्य प्रशिक्षकहरुले क्षेत्रमा, क्षेत्रीय प्रशिक्षकले जिल्लामा र जिल्लाका प्रशिक्षकले मतदान केन्द्रलाई लक्षित गरी प्रशिक्षण दिने छन्। मतदाता शिक्षा मुख्य प्रशिक्षक कार्यक्रममा आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरी पौड्याल, सुधीरकुमार शाह तथा आयोगका कर्मचारी तथा निर्वाचनमा सहयोग गर्दै आएका गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ