arrow

चिनियाँ ठेकेदार धूर्त निस्कियो, लापरवाहीले भरतपुर–बर्दघाट प्रसारण लाइन अनिश्चित

logo
प्रकाशित २०७३ चैत २ बुधबार
electric-transmission.jpeg
काठमाडौं । देशलाई दीर्घकालमा लोडसेडिङ मुक्त गर्ने र बिजुली खेर जान नदिने रणनीतिक महत्वको पूर्व–पश्चिम २२० केभी प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्डको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनीको चरम लापरबाहीले आयोजनाको भविष्य अनिश्चित भएको छ ।
 
एकपछि अर्को बहाना खोज्दै काम रोक्दै आएको ठेकेदारले पछिल्लोपटक दुई साताअघि ६ वर्षपहिले भएको ठेक्का सम्झौताका दररेट र विलम्ब लागत (दाबी) नपाए कामै नगर्ने पत्र विद्युत् प्राधिकरणलाई दिएपछि आयोजनाको भविष्य अनिश्चित बनेको छ ।
 
वन मन्त्रालयको सहमति पाएर प्राधिकरणले निर्माण सामग्री नवलपरासीमा थुपारेको एक वर्ष बितिसक्दा पनि चिनियाँ सरकारी कम्पनी चाइना सेन्ट्रल पावर ग्रिड (सीसीपीजी) ले दुई साताअघि प्राधिकरणलाई पत्र लेख्दै भनेको छ, ‘पैसा नपाए हामी काम गर्दैनौं ।’
 
सीसीपीजीले अहिलेसम्म प्राधिकरणबाट ९० करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । उसले अहिले आएर उल्टै करिब डेढ करोड रुपैयाँ विलम्ब लागत प्राधिकरणसँग मागेको छ ।
 
चिनियाँ ठेकेदारको ढिलासुस्तीबाट आजित अघिल्ला ऊर्जासचिव सुमनप्रसाद शर्माले चिनियाँ दूतावासमै गएर उक्त कम्पनीलाई काम गराइदिन ताकेतासमेत गरेका थिए । 
 
सन् २००९ मा काम सुरु गरेको ठेकेदारले ठेक्का परिचालन रकम लिएर पनि यो र त्यो बहाना झिक्दै काम नगरेपछि अघिल्ला कार्यकारी निर्देशक मुकेश काफ्लेको पालामा उसलाई कुल ठेक्का रकमको १० प्रतिशत हर्जाना ९लिक्विटेड ड्यामेज० तिराउने निर्णय गरेको थियो ।
 
त्यतिबेला वन मन्त्रालयबाट ६५ प्रतिशत वन कटानीका लागि सहमति नआएको, टावर गाड्ने बाटो (राइट अफ वे) नपाएको र यी समस्या समाधान भए पुनः काम सुरु गर्छु भनेपछि वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरणका उच्च तहका पदाधिकारीसित तीनपटक बैठक गरेर सीसीपीजीले प्रतिबद्धता जनाएको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले बताए ।
 
 ‘अहिले वनबाट पनि सहमति आइसकेको छ । हामीले ९८ प्रतिशत निर्माण सामग्री थुपारेका छौं । काम गर्न बोलाउँदा वास्ता गरेको छैन,’ अधिकारीले मंगलबार भने, ‘यो ठेकेदारको काम गर्ने छाँट देखिएको छैन ।’
 
बुटवलदेखि बर्दघाटसम्म हाल १३२ केभीको दोहोरो लाइन छ । तर बर्दघाटदेखि हेटौंडासम्म १३२ केभीको एकोहोरो लाइन भएकाले बर्खायामको अफ पिक (अत्यधिक बिजुली खपत नहुने समय) मा कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), मध्यमर्स्याङ्दी (७९ मेगावाट) लगायत विद्युतगृहबाट उत्पादित बिजुली पूर्व प्रसार गर्न समस्या रहँदै आएको प्रवक्ता अधिकारीले बताए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ