arrow

विद्यालय पुनःनिर्माणमा जुटे पूर्व शिक्षक विद्यार्थी

logo
प्रकाशित २०७३ चैत २ बुधबार
school-reconcru.jpeg
दोलखा। मुलुकमा प्रजातन्त्र आउनुभन्दा अघि खुलेको सुस्पा क्षमावती उच्च माध्यामिक विद्यालयको भूकम्पपछिको पुनःनिर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ ।
 
विसं २००५ मा स्थापना भएको उक्त विद्यालय भवन भूकम्पका कारण पूर्णरुपमा क्षति भएको थियो । अहिले भवन र छात्रावास पुनःनिर्माण कार्य भइरहेको छ । सो विद्यालयका पूर्व शिक्षक र विद्यार्थी समाजको संयुक्त भेलाले पुनःनिर्माण कार्य अगाडी बढाउने निर्णय गरेको हो । 
 
शनिबार जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशिछवाले पुनःनिर्माण कार्यअन्तर्गत सो विद्यालयको आठ कोठे भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। काशिछवाले विद्यालयको शैक्षिक गतिविधि निरन्तर रुपमा बढाउनुपर्नेमा जोड दिए ।
 
शैक्षिक सुधारका लागि विद्यालयहरुबीच अन्तक्र्रिया गराउने थालनी समेत गरेको शिक्षा अधिकारी काशिछवाले बताए । “शिक्षकलाई विषय बस्तुको मात्र ज्ञान भएर हुँदैन, बालबालिकाको चाहना र स्तर बुझेर मात्र बढाउनुपर्छ, पढाएको विधि कुन–कुन हो ? पस्किन जान्नुपर्‍यो र बच्चाको मनोभावना बुझेर पढाउनुपर्यो,” उनले सुझाव दिए । 
 
गौरीशङ्कर बहुमुखी क्याम्पसका अध्यक्ष राजेन्द्र मानन्धरले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र भूकम्पपछिको पुनःनिर्माणमा पूर्व शिक्षक विद्यार्थीको नमुना विद्यालय बनाउने कार्य उल्लेखनीय रहेको बताए । सो अवसरमा विद्यालयको पुनःनिर्माणका लागि वरिष्ठ इन्जिनियर महेन्द्रबहादुर कार्कीले सहयोग गरेको  पाँचलाख सो विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
 
समाजका सल्लाहकार माधव खकुरेल र द्वन्द्व विश्लेषक डा विष्णु उप्रेतीले उक्त विद्यालयको शैक्षिक र भौतिक निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। समाजका अध्यक्ष मिलन तुलाधरले विद्यालयको मूल भवन निर्माण, छात्रावास निर्माणमा आफूहरु क्रियाशील रहेको र शैक्षिकस्तर वृद्धि गर्न शिक्षक, विद्याथी र अभिभावकलाई क्रियाशील हुन आग्रह गरे।
 
विद्यालयका प्रधानाध्यापक मुकुन्दराज शिवाकोटीले विद्यालयकको शैक्षिक गुणस्तर वृद्धि गर्न र भौतिक निर्माणका कार्यलाई तीव्ररुपमा अगाडि बढाइरहेको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तसिंह थामीले विद्यालयको उन्नति, प्रगति र भौतिक पूर्वाधार निर्माणका लागि निरन्तर प्रयास गरिहेको बताए ।
 
सो अवसरमा अध्यक्ष तुलाधारले विद्यार्थीलाई गीतसङ्गीतमा प्रोत्साहन गर्ने उद्देश्यले अजिता तुलाधरको तर्फबाट रु १० हजार प्रदान गर्नुभयो । भेलामा सहभागिले शिक्षाको स्तर बढाउन चौतर्फी प्रयाश जारी राख्नुपर्ने, शिक्षकले ध्यान दिएर पढाउनुपर्ने र विद्यार्थीले पनि लगनशील भएर पढनुपर्नेमा जोड दिएका थिए । 
––––––
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ