arrow

एसएसबीद्धारा नेपाली हत्या प्रकरणःनेपाल प्रहरीको पेस्तोल हराएको दाबी

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
govinda-gautam.jpeg
धनगढी । भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली भूमिमा मारिएका गोविन्द गौतमको पोस्टमार्टम र फरेन्सिक रिपोर्ट भारत सरकारले मागिरहेकै बेला नेपाल प्रहरीले अर्को एउटा रहस्योद्घाटन गरेको छ । कञ्चनपुर पुनर्वासको आनन्द बजारमा बिहीबार भएको झडपमा नेपाल प्रहरीका असईको पेस्तोल हराएको दाबी घटना भएको सात दिनपछि नेपाल प्रहरीले गरेको छ ।
 
प्रहरीका अनुसार हराएको पेस्तोल अझै फेला परेको छैन । गत बिहीबार कञ्चनपुर पुनर्वासस्थित नेपाली भूमिमै आएर भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक गौतमलाई गोली प्रहार गर्दा भएको हुलदंगामा प्रहरी सहायक निरीक्षक माधव भट्टको पेस्तोल हराएको प्रहरीले दाबी गरेको छ । 
 
एक साताअघि भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गौतमको निधन भएपछि नेपाल सरकारले उनलाई सहिद घोषणा गरेको छ भने उनको हत्या आफ्ना सुरक्षाकर्मीबाट भएकोमा भारतीय प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् ।
 
प्रहरी सहायक निरीक्षक भट्टको चाइनिज पेस्तोल दोहोरो झडपका क्रममा हराएको सुदूरपश्चिम क्षेत्रका डीआईजी रोमिन्द्र देउजाले बताए । 
 
पेस्तोलमा ७ राउन्ड गोली भरिएको म्यागेजिन लोडेड रहेको डीआईजी देउजाको भनाइ छ । ‘हुलदंगाका क्रममा असई भट्टको पेस्तोल हराएको छ, त्यसमा सात राउन्ड लोडेड म्यागेजिन थियो, त्यसको खोजबिन भइरहेको छ, डीआईजी देउजाले भने । 
 
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा दरबन्दी भई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा कार्यरत भट्टको पेस्तोल झडपका क्रममा हराएको दाबी गरिएको हो । 
 
क्षेत्रीय प्रहरी कार्यालय दिपायलले पेस्तोल हराएको भन्दै असई भट्टमाथि अनुसन्धान सुरु गरेको छ ।
 
घटनाको दिन भारतीय सुरक्षाकर्मीले सात राउन्ड फायर गरेको थियो जसमध्ये एक गोली नेपाली नागरिक गोविन्द गौतमलाई लागेको थियो । 
 
घटना भएको भोलिपल्ट भारतको लखिमपुर जिल्लाका जिल्लाधिकारी आकाश द्वीपले गौरीफन्टामा नेपाली मिडियालाई प्रतिक्रिया दिँदै घटनामा भारतीय प्रहरीले फायर नखोलेको तर नेपाल प्रहरीको हतियार ‘मिसिङ’, भएको बताएका थिए । उनले नेपाल प्रहरीले गोली चलाएको दाबी गरेका थिए ।
 
आनन्द बजार आसपासको ५६ किलोमिटर भारतीय सीमा क्षेत्रको जिम्मा पाएका भारतीय सीमा सुरक्षा बल एसएसबीको ४९ बटालियनका कमान्डेन्ट दिलबाग सिंहले पनि घटनाको दिन भारतीय सुरक्षाकर्मीले फायर नखोलेको दाबी गरेका छन् ।
 
‘हाम्रो तर्फबाट कुनै फायर भएको छैन, नेपाल प्रहरीको हतियार हराएको खबर आएको छ, तपाईंको देशमा धेरै मानिसले हतियार चलाउन जानेका छन्, नेपाल प्रहरीको हतियार कसैको हातमा परेर, तिनीहरूले नै चलाए कि !’ कमान्डेन्ट दिलबाग सिंहले भने । 
 
हतियार हराएको सात दिनसम्म पनि खोजबिनका लागि नेपाल प्रहरीले कुनै समिति गठन गरेको छैन । ‘छिट्टै हतियार खोज्न समिति गठन हुनेछ’, डीआईजी देउजाले भने । 
 
उनले सुरुमा कञ्चनपुरको तनाव, त्यसपछि एमालेको मेची(महाकाली अभियानका लागि सुरक्षा व्यस्थापनका कारण छानबिन समिति गठन हुन नसकेको बताए ।
 
गौतमको सेती अञ्चल अस्पतालमा पोस्टमार्टम गरिएको थियो । सेती अञ्चल अस्पतालका दुई दर्जन चिकित्सक टोली गौतमको पोस्टमार्टममा खटिएको थियो तर चिकित्सकले पोस्टमार्टन रिपोर्टबारे केही बोल्न नमिल्ने जनाएका छन् ।
 
 ‘यो कानुनी घटना भएकाले हामीले केही बोल्न मिल्दैन, प्रशासनलाई सोध्दा हुन्छ’, सेती अञ्चल अस्पतालका प्रमुख डा अशोक श्रीपाइलीले भने । 
 
डीआईजी देउजाले गौतमको पेटमा पूरै बुलेट नभेटिएर बुलेटको टुक्रा मात्रै भेटिएको र त्यसको जाँचका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रतिक्रिया दिए । 
 
उनले हुलदंगामा यसरी हतियार हराउन सक्ने उल्लेख गर्दै असई भट्टको गल्ती भए कारबाही गरिने प्रतिक्रिया दिए ।
 
‘असई भट्टलाई पनि हुलदंगामा ढुंगा र इँटाले लागेको छ, उनी लडेपछि पेस्तोल गायव भएको छ, हुलदंगामा यस्ता घटना हुन्छन्, हामी छानबिन गरिरहेका छौं । भट्टको गल्ती भए कारबाही हुन्छ’, डीआईजी देउजाले भने ।
 
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले भने बुधबार पनि प्रहरीको हतियार हराएको घटनाबारे अनभिज्ञता प्रकट गरे । ‘हामीलाई त्यसको जानकारी आएको छैन’, उनले भने । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ