arrow

सडकपेटीमै राजनीति गर्ने नेता रामहरि ढुंगेलको अवशान !

logo
बाबु नेपाली,
प्रकाशित २०७३ चैत ३ बिहिबार
ramhari-update.jpeg
काठमाडौं । भनिन्छ, सच्चा नेताले आडम्बरी देखाउँदैन । उसले धेरै आश्वासन पनि बाँड्दैन । आफूसंग जे छ त्यसैको सदुपयोग गर्छ । नभन्दै ठ्याक्कै त्यही आदर्शलाई पछ्याइरहने नेपाली काँग्रेसका नेता रामहरि ढुंगेल सायदै कसैलाई आश्वासन बाँडेर पूरा नगरी गएहोलान् ।
 
सामान्य जीवन जीउँदा जीउँदै उनी अप्रत्याशित बितेका छन् । उच्च रक्तचाप र ग्यास्ट्राइटिसले सताइएका उनी काठमाडौंस्थित डिल्लीबजारको एक कोठामा बस्थे । उनको दैनिकी बाटुलेघरको एक चिया पसलमा चिया खाँदै आफ्नो रामेछापका नेता कार्यकर्तासंग राजनीतिक छलफल गर्नुबाटै सुरु हुने गर्दथ्यो र त्यहींबाट बिदा भएसंगै दैनिकी टुंगिने गर्दथ्यो ।
 
अर्थात् उनले बाटुलेघरकै सडकपेटीलाई राजनीति गर्ने थलो बनाएका थिए । सन्त एवं सादगी काँग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको आदर्श पछ्याउने क्रममा उनी अविवाहित रहे । नेताहरु महल ठडाए । उनी एउटा कोठामा सीमित रहे । आकांक्षा नपाल्दा उनी एक्लै हुँदा पनि धनी नै थिए । 
hamrakura
 
उनको सम्पत्ति भनेकै तिनै कार्यकर्ता र उनका कुरा सुन्ने चियापसले थिए । उनको सादगी जीवनप्रति कसैको गुनासो थिएन । बरु नतमस्तक थिए । 
 
रामेछापका उनका कार्यकर्ता एवं नेविसंघका नेता रत्नहरि ढुंगेलको भनाइमा उनी बाटुलेघरका नेता थिए । काँग्रेसका नेता तथा कार्यकर्ताहरु नै झुम्मिन्थे । उनका आदर्शजनक कुराहरु सुनेर दंग पनि पर्दथे । स्वार्थी नेताहरुको भीडमा उनको पहिचान अलग्गै थियो । 
 
दैनिक चियासेवन गर्न आउने नेता नदेखेपछि जब उनीहरु बिहीबार बिहान कोठामै पुगे तब झसंग भए । सुतेको अवस्थामा उनी नबोलेपछि शरीर हल्लाए । तर आफ्ना मनपर्दा नेता त सधैका लागि टाढिएका रहेछन् । कोठामा लम्पसार परेर शान्त मुद्रामा उनको मृत शरीरले उनकै शैलीलाई साथ दिएजस्तो गरेको थियो ।
 
छेवैमा रहेका औषधि भने टुहुरा जस्ता देखिन्थे । ती औषधि खाने मान्छेले साथ नदिने नै भए । उनी एकपटक मन्त्री पनि भए । कृषि सहायक मन्त्री बनेका उनले त्यसपछि खासै राम्रो भूमिका पाउन सकेनन् ।
 
चाकडी नगर्ने उनको बानीले उनको दैनिकीलाई अप्ठेरो त पारेकै थियो तर उनी चुकेनन् । उनको जीवनको अभिष्ट भनेकै काँग्रेसलाई आदर्शमय बनाउनु थियो । त्यो त्यत्तिकै बिलाउने निश्चितै छ । 
 
नेता ढुंगेल बुधबार राति ज्यानलाई गार्हो भएरै हिमाल अस्पतालमा गएका थिए । तर राति घरमै फर्किएर आएका थिए । उनलाई अझै गार्है भएको भए अस्पतालमै बस्थे होला । सायद परिवारलाईसमेत दुःख दिने बानी नपरेका ढुंगेलले अस्पताललाई पनि दुःख दिन खोजेनन् कि !
 
यतिबेला बाटुलेघर र तिनका आसपासका चिया पसलहरुमा उनकै शोकमा डुेवेको छ । उनको गृहजिल्ला रामेछाप र उनको पाटी काँग्रेस पनि शोकमा रहेको छ। ढुंगेलको अवशानले बाटुलेघर सहित सबै केही दिन शोकमै हुनेछन् । केही दिनपछि नयाँ पालुवा फेरिने नै छ । तर ढुंगेलको आदर्शको पनि अवशान हुने हो कि भन्ने चिन्ता चुलिएको छ । 
 
नेताले पाँच तारे होटलमा गर्ने डेटिङ र काठमाडौंमा ठड्याएका आलिशान भवनले सायद ढुंगेललाई खुच्चिङ भनेको होला । तर उनीजस्ता आदर्श खोज्न कहाँ सकिएला । हार्दिक श्रद्धाञ्जली !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ