arrow

विज्ञहरुको टोली लगेर कञ्चनपुरमा नेपालको भूभाग यकीन गरिने

शहीद परिवारलाई राहत बढाउने र घाईते चापागाईलाई सहयोग थप्न प्रशासन सहमत

logo
र्इश्वरदत्त बडू,
प्रकाशित २०७३ चैत ३ बिहिबार
kanachanpur_jhadap.jpeg
कञ्चनपुर । गत बिहिबार नेपाल भारत कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर भएको घटना पछि गठित सीमा विवाद समन्वय गर्नको लागि विज्ञहरुको टोली सीमा क्षेत्रमा लगिने भएको छ । सीमा विवाद समितिले यस सम्बन्धमा पाँच बुँदे माग सहित बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले  सीमाको समस्या समाधानको लागि विज्ञ लैजाने विषयमा सहमति जनाएका हुन् । उनले यस विषयमा माथिल्लो निकायमा पहल गर्नै आश्वासन पनि दिएका छन् । 
 
बुधबार समन्वय समितिले पाँच बुदे माग अघि सार्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खनाललाई ज्ञापन पत्र बुझाएको हो । समितिले शहिद परिवारलाई राहत बृद्धि, घाईतेको उपचार र सीमा यकीन गर्नमा मुख्य जोडदिईएको छ । 
 
पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष एवं सीमा विवाद समन्वय समितिका संयोजक कृष्ण बहादुर तामाङ्गले सीमा क्षेत्रमा देखिएको समस्या अल्पकाल र दीर्घकालिन रुपमा समाधानका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार शहिद गोबिन्द परिवारलाई दिने भनि सरकारले घोषणा गरेको राहतमा बृद्धि गरिनुपर्ने लगायतका मागहरु राखिएका छन् । 
 
यस्तै समितिले घटना स्थलमा खटाईएको सीमा सुरक्षा बललाई घटना स्थलमै स्थापित गरिनुपर्ने, सीमा स्तम्भ, सीमा रेखा निर्धारणका लागि छिटो भन्दा छिटो सीमा विज्ञलाई झिकाईनुपर्ने, घाईतेको छानबिन गरी निःशुल्क उपचार गर्नुपर्ने र स्थानीय बजार र गाउँमा आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको क्षतिपूर्ति दिलाउनुपर्ने माग अघि सारेका छन् ।
 
ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले समन्वय समितिका मागमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर सकारात्मक भएको बताए । ज्ञापन पत्र बुझाउन समन्वय टोलीमा आएका नेकपा माओवादी केन्द्रका नेता बिर बहादुर थापाले  घटना स्थलमा तत्कालका लागि स्थायी सशस्त्र प्रहरी राख्ने र दीर्घकालनका लागि स्थायी सीमा सुरक्षा बलको कार्यालय स्थापना गर्नका लागि गृहमन्त्रालयमा पहल गर्ने प्रजिअ खनालले बताएको हाम्राकुरालाई जानकारी दिए । 
 
माओवादी नेता थापाका अनुसार दुवै देशका सीमा निर्धारण समितिको टोलीलाई तत्काल उक्त क्षेत्रमा बोलाएर सीमा यकीन गर्न लगाउने र नेपाली सीमा टोलीलाई एकपल्ट उक्त क्षेत्रका बृद्धिजिवीहरुसित छलफल गर्न लगाउने प्रजिअ खनालले टोलीसँग बचन दिएका छन् । 
 
समस्या समाधान नहुन्जेलका लागि व्यवसायिक प्रयोजनका लागि उक्त नाका बन्द यथावत राख्ने समेत प्रजिअले बताए । यस्तै अन्य घाईते र सम्पति क्षति भएकाहरुको स्थानीय प्रहरी प्रशासनमा निवेदन दिन लगाउने विषयमा प्रजिअले समन्वय समितिलाई बताए । राहत बृद्धिका लागि समेत प्रमुख जिल्ला अधिकारी खनालले माथिल्लो निकायमा पहल गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् । 
 
भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिक गोबिन्द गौतमको मुत्यु र अर्का नागरिक टिकाराम चापागाई गम्भीर घाईते भएका छन् । गोबिन्दको मुत्युसँगै उत्पन्न विवादले पुनर्वास क्षेत्र अझैपनि त्रासमय बनेको छ । स्थानीयहरुले माग पुरा नभए पुन आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ