arrow

'भो पुग्यो' भन्दै छोडे पशुपतिले महासंघ अध्यक्ष !

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ चैत ३ बिहिबार
FNCCI-Logo-2073.jpeg
काठमाडौं । अहिले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पाउनको लागि आम निर्वाचनमा सांसद् पद जित्नको लागि भन्दा कठिन बन्न थालेको छ । आर्थिक क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रुपमा ख्याती कमाएको महासंघमा आफ्नो जीत सुनिश्चित छ भन्ने लागेमा उम्मेदवारहरु करोडौं रुपैयाँसम्म खर्च गर्न पनि पछि नपर्ने स्थिती आएको छ । यति मात्रै होईन एकले अर्कालाई होच्याउने र अर्काको नराम्रो कुरा देखाएर आफू नेतृत्वमा पुग्ने फोहोरी खेल पनि अहिले उद्योग वाणिज्य महासंघमा देखिन थालेको छ । 
 
तर, कुनै समय यस्तो थियो कि इमान्दारिता कमाएका कुनै व्यक्तिले भो म अब अध्यक्ष बन्दिन भन्दा पनि उनलाई नै जबर्जस्ती अध्यक्ष बनाईएको नजीर पनि महासंघमा रहेको छ । तर, त्यस्तो दिन अब महासंघले पाउन करिब करिब असम्भव जस्तै होला । 
 
अहिलेको स्थिती हेर्नेहो भने पत्याउन पनि गाह्रो पर्ला, महासंघको इतिहासमा १० वर्षसम्म एउटै व्यक्तिलाई अध्यक्षको रुपमा अरुले नै प्रस्ताव गरेर अध्यक्ष बनाएको यो घटना । पत्याउन अफ्टेरो भएपनि यथार्थ तथ्य यही हो कि तत्कालीन उद्योग वाणिज्य संघको तदर्थ समितिदेखि नै सक्रिय रहेका पशुपति गिरी भने अविवाहित भएकै कारण १० वर्ष महासंघको अध्यक्ष र २३ वर्ष भन्दा बढी महासंघमा सदस्यको रुपमा सक्रिय भए । 
 
वि सं २०२२ सालमा उद्योग वाणिज्य संघको तदर्थ समितिमा जनकपुर अञ्चलबाट प्रतिनिधित्व गरेर सदस्य बनेका गिरी २०२८ सालमा पहिलोपल्ट नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष बने । उनी जीवनभरी नै अविवाहित रहे । त्यही अविवाहित भएको फाइदा उनले उठाए नेपाल उद्योग वाणिज्य संघबाट । 
 
हाम्राकुराले उनलाई नजिकबाट नियालेका केही जानकारहरुसँग उनको बारेमा कुराकानी गरेको थियो । त्यस्तै महासंघले विभिन्न समयमा प्रकाशित गरेको प्रकाशनसमेतको आधारमा गिरीको बारेमा यी तथ्यहरु पत्ता लागेका हुन् । उनलाई राम्रोसँग जानेकाहरु उनी अविवाहित रहेकोले 'धेरै समय महासंघको लागि खर्चिन सक्छन्' भनेर नै उनलाई सबैले अध्यक्षमा उठ्न आग्रह गरेको स्मरण गर्दछन् ।
 
अन्तिम कार्यकाल सकिएपछि त उनले अब मलाई कसैले पनि महासंघको अध्यक्ष बन् भन्यो भनेदेखि उ सँग मैले नराम्रो व्यवहार गर्न बाध्य हुनेछु भन्दै आफू महासंघको अध्यक्ष बनेर अघाएको जनाउ दिएका थिए । यसबाट पनि यो कुरा थाहा हुन्छ कि त्यतिबेला गिरीलाई अविवाहित भएकै कारण कति धेरै दबाब दिएर अध्यक्ष बनाईएको रहेछ भन्ने । यद्यपि पूर्व अध्यक्ष भएपनि उनी दिन विताउन पनि सहज हुने भन्दै २०४७ देखि ५० को कार्यकालमा समेत पुनः सदस्य बनेर कार्यसमितिमा रहेका थिए । 
 
उनले महासंघमा कूल ४ कार्यकाल अध्यक्ष बनेर काम गरे । २०२८ देखि ३०, ३० देखि ३२, ३८ देखि ४१ र ४१ देखि ४४ सम्म उनी अध्यक्ष बनेर महासंघका काम गरे । योसँगै उनी महासंघमा सबैभन्दा लामो समय कार्यसमितिमा बसेर काम गर्ने व्यक्ति बनेका छन् । उनले दुई दशकभन्दा बढी कार्यसमितिका विभिन्न पदहरुमा बसेर काम गरेका थिए । उनीसँगै अर्का सदस्य तोलाराम दुगड पनि सर्वाधिक समय कार्यसमितिमा बसेर काम गर्ने सदस्यको रुपमा रहेका छन् । 
 

Image may contain: 1 person, sunglasses and closeup

के के काम गरे गिरीले ?
गिरीले त्यतिबेलाको समयलाई हेर्दा महासंघको विकासको लागि महत्वपूर्ण काम गरेको मान्न सकिन्छ । उनको पालामा महासंघकै सक्रियतामा सरकारले २०४० सालमा टेक्सटाईल बोर्ड गठन गर्यो । त्यस्तै महासंघकै सल्लाहमा राष्ट्रिय श्रम सल्लाहकार समिति, रोजगारदाता परिषद्को गठन, नेपाल भारत आर्थिक सहायता सम्बन्धि गोष्ठी, २०२८ सालमा उनी पहिलो पटक अध्यक्ष बन्ने वित्तिकै निकासी प्रवद्र्धन विषयक गोष्ठी आयोजना गरेका थिए । 
 
त्यस्तै, उनकै अध्यक्षकालमा महासंघलाई राष्ट्रिय विकास परिषद्को सदस्यता दिलाउन सफल भएका थिए । यस बाहेक पनि विभिन्न किसिमका गोष्ठी तथा सभा सम्मेलनहरु गरेर नेपाली आर्थिक क्षेत्रको विकासका लागि र महासंघको गरिमा बढाउनको लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 
 
गिरीबाट के सिक्न सकिन्छ ? 
गिरीको यो कहानीबाट आफैंमा अहिले महासंघको नेतृत्वले इमान्दारिताको पाठ सिक्नु आवश्यक रहेको छ । अहिले महासंघको हितमा भन्दा पनि आफ्नो व्यक्तिगत हितमा काम गर्ने नेतृत्व पंक्तिलार्इ इमान्दारिता देखाउनेको लागि पद पाउनु कुनै कठिन कुरा होईन भन्ने पाठ गिरीले सिकाएका छन् ।
 
गिरीले यदि आफ्नो व्यक्तिगत हितको लागि संस्थालाई उपयोग गरेका थिए भने उनी आफैं अध्यक्षबाट पछि हट्ने नै थिएनन् होला भन्ने बुझाई महासंघमा लामो समय काम गरेका पूर्व कर्मचारी तथा पूर्व पदाधिकारीहरुको छ । त्यसैले अहिलेको नेतृत्वले पनि गिरीको इमान्दार चरित्रबाट धेरै सिक्नुपर्ने आवश्यकता देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ