arrow

निर्वाचन आचारसंहिता मिच्दै दर्जनौं सांसद विदेश यात्रामा, केही दर्जन तयारीमा

आठ सांसद शनिबार बेलायत जाँदै

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
samsad-baithak.jpeg
काठमाडौं । सभामुख ओनसरी घर्तीमगरलाई समेत पत्तै नदिई दर्जनौं सांसद निर्वाचन आचारसंहिता कुल्चँदै विदेश सयरमा छन् भने केही दर्जन विदेश भ्रमणको तयारीमा छन् ।
 
निर्वाचन आयोगले मुलुकलाई प्रतिनिधित्व गर्नेबाहेक अन्य प्रयोजनका लागि कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्ति विदेश भ्रमणमा जान नहुने आचारसंहितामा स्पष्ट गरे पनि दर्जनौं सांसदहरू अध्ययन भ्रमण, गोष्ठी र सेमिनारको बहानामा विदेश घुमिरहेका छन् । 
 
तीन दर्जनभन्दा बढी सांसद संसद्का कर्मचारीसहित विदेश भ्रमणको तयारी गरिरहेका छन् ।
 
संसद् सचिवालयका अनुसार राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीमगर र सोही समितिका सदस्य माओवादी केन्द्रका सांसद सन्तु दरै सभामुख ओनसरी घर्तीमगरलाई समेत जानकारी नदिई जापान पुगेर फर्केका छन् ।
 
संसद्को महिला, बालबालिका समितिका चार सांसद मंगलबार अमेरिका गएका छन् । सभामुख ओनसरी घर्तीमगरलाई कुनै जानकारी नदिई महिला, बालबालिका समिति सभापति रञ्जु ठाकुर, कांग्रेस सांसदद्वय अतहर कमाल मुसलमान र सरिता प्रसाईं तथा माओवादी केन्द्रकी सांसद अनिता परियार महिला सशक्तिकरण सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका गएका हुन् । 
 
यस्तै सभामुख र संसद् सचिवालयलाई कुनै जानकारी नदिई कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितका सांसद कोरिया पुगेर फर्केका छन् । 
 
नेपालमा पिस फेडरेसन संस्था सञ्चालन गरिरहेका परिवार दलका अध्यक्ष ढकालकै नेतृत्वमा हालै मात्र कांग्रेसका रामहरि खतिवडासहितका सांसद फिलिपिन्स भ्रमण गरेर फर्केका छन् ।
 
यता विकास समिति, अर्थ समिति र अन्तर्राष्ट्रिय समितिका सांसद तथा कर्मचारी पनि यसै साता विदेश भ्रमणको तयारीमा छन् । 
 
निर्वाचन आयोगले भने सरकारी स्रोतसाधनको प्रयोग गरेर सांसद र कर्मचारीहरू विदेश भ्रमणमा जानु आचारसंहिताको उल्लंघन भएको बताएको छ ।
 
विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा बेलायती अन्तर्राष्ट्रिय संस्था (डीएफआईडी) को सहयोगमा ८ सांसदसहित ९ सदस्यीय टोली चैत ५ गते बेलायत जाँदैछ ।
 
यस्तै खाडी मुलुकमा नेपाली श्रमिकको अवस्था अध्ययन गर्न भन्दै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति प्रभु साह श्रीमती दिनाकुमारी साहसहित केही खाडी मुलुकको भ्रमणमा जाने भएका छन् । 
 
संसद्को अर्थ समितिका सभापति प्रकाश ज्वालाको नेतृत्वमा समितिको ८ सदस्यीय टोली स्विट्जरल्यान्ड र जर्मनीको अध्ययन भ्रमणमा जाँदैछ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ