arrow

सरकारको प्राथमिकतामा नसर्ने रोगः ‘आवश्यक स्वास्थ्य परीक्षण र उपचार जिल्लामै’–मन्त्री थापा

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
gagan-sign-padbhar.jpeg
काठमाडौं । सरकारले नसर्ने रोगलाई प्राथमिकतामा राख्ने भएको छ । सर्ने रोगभन्दा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या बढ्न थालेपछि सरकारले यस्ता रोगलाई प्राथमिकतामा राखेको हो । 
 
पछिल्लो समय मुटु, श्वासप्रश्वास, क्यान्सर, मधुमेहजस्ता रोगहरूले धेरै मानिसको मृत्यु भइरहेको छ । चिकित्सकहरूले पटक–पटक नसर्ने रोगप्रति गम्भीर बन्न सरकारलाई आग्रह गर्दै आएका थिए ।
 
स्वास्थ्यमन्त्री गगन थापाले सरकारको प्राथमिकतामा नसर्ने रोग परेको बताएका छन् । बिहीबारदेखि राजधानीमा नसर्ने रोगबारे सुरु भएको दुईदिने तालिममा उनले नसर्ने रोगको न्यूनीकरणका लागि जनचेतना जगाउन र यस्ता रोग लागेमा स्थानीयस्तरमै स्वास्थ्य संस्थामा परीक्षण गराई उपचार गराउनका लागि यो कार्यक्रम लागू गरिएको बताए । 
 
‘सरकार विगतदेखि सर्ने रोगलाई कसरी कमी गर्न सकिन्छ भन्नेमा लागेको थियो । तर, पछिल्ला वर्षहरूमा नसर्ने रोगका कारण मर्नेहरूको संख्या बढ्न थालेको छ । 
 
त्यसैले नसर्ने रोगको रोकथाम र उपचारमा जोड दिइएको हो । अब आवश्यक स्वास्थ्य परीक्षण र उपचार जिल्लाहरूबाटै हुनेछ,’ उनले भने ।
 
स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले नसर्ने रोगको न्यूनीकरणका लागि सरकारले पहिलेदेखि नै लगानी गरिरहेको चर्चा गर्दै यो रोग लाग्नै नदिन रोकथाम र रोगको सुरुआतमै परीक्षण गर्ने विषयमा व्यवस्थित कार्यक्रम सुरु गरेको बताए ।
 
मन्त्री थापाले नसर्ने रोगबारे तत्काल स्वास्थ्य परीक्षण र उपचार गर्न आठ जिल्लामा सेवा सुरु भएको बताए । 
 
उनले यो सेवालाई चाँडै देशैभरिका अस्पतालमा पु¥याउने लक्ष्य रहेको पनि बताए । ‘नसर्ने रोगबारे सामान्य स्वास्थ्य परीक्षणसमेत जिल्लाका स्वास्थ्य संस्थामा हुँदैन,’ मन्त्री थापाले भने, ‘यसलाई प्रभावकारी बनाउन आवश्यक छ । पहिलो चरणमा आठ जिल्लाबाट सेवा सुरु गरेका छौँ । त्यसको सेवा हेरेर चाँडै देशभरि सेवा विस्तार गर्नेछौँ ।’
 
विश्व स्वास्थ्य संगठनको सहयोगमा सरकारले केही महिनादेखि इलाम र कैलाली जिल्लामा नसर्ने रोगबारे स्वास्थ्य परीक्षण र उपचार गर्दै आएको छ । 
 
दुई जिल्लाको सेवालाई मध्यनजर गरेर सरकारले आफ्नै लगानीमा आठ जिल्लामा सेवा सुरु गरेको बताएको छ । पहिलो चरणमा पाल्पा, बागलुङ, म्याग्दी, रौतहट, मकवानपुर, बर्दिया, सुर्खेत र अछाम रहेका छन् । योसँगै नसर्ने रोगको कार्यक्रम १० जिल्लामा पुगेको छ ।
 
चार वर्षमा ७५ जिल्लामा सेवा
सरकारले आगामी चार वर्षमा सबै जिल्लाका स्वास्थ्य संस्थामा नसर्ने रोगबारे कार्यक्रम पुर्याउने पुनर्जागरण महाशाखाका निर्देशक डा।मोहम्मद दाउदले बताए । 
 
सरकारले सुरु गरेको १० जिल्लामा उपचार, रोकथाम, स्वास्थ्य परीक्षण, जीवनशैली परिवर्तनदेखि रगत परीक्षण, क्यान्सरको सामान्य उपचार, मुटुरोग, श्वासप्रश्वास, मधुमेहलगायतको उपचार हुनेछ ।
 
नसर्ने रोगबारे सरकारले थालेको अभियान सराहनीय रहेको भन्दै दाउदले यसले नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या घटाउन सहयोग पुग्ने दाबी गरे । 
 
१० जिल्लाका पाँच सय स्वास्थ्य संस्थाबाट नागरिकहरूले नसर्ने रोगबारे स्वास्थ्य उपचार पाउने भएका छन् । ‘औपचारिक रूपमा नसर्ने रोगबारे १० जिल्लामा कार्यक्रम सुरु भएको छ । 
 
यसका लागि पहिलो चरणमा पाँच करोड रुपैयाँ विनियोजनसहित बिरामीको स्वास्थ्य परीक्षण र उपचारका लागि आवश्यक पर्ने सबै सामान स्वास्थ्य संस्थामा पठाइसकिएको छ,’ दाउदले भने ।
 
आठ जिल्लाबाट सेवा सुरु
तालिममा सहभाीगहरूले जिल्लाका स्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई यससम्बन्धी तालिम दिनुपर्ने हुन्छ । 
 
विश्व स्वास्थ्य संगठनले ‘पेन’ प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र श्वासप्रश्वासलगायतका रोग नियन्त्रण गर्ने योजना भए पनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर नमुना कार्यक्रम सुरु गरेको थियो । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ