arrow

माध्यमिक शिक्षा परीक्षाः बच्चाको तनावले आमालाई परीक्षा दिन मुस्किल

बालविवाहले समस्या

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
mother-student.jpeg
जाजरकोट । कार्कीगाउँकी १६ वर्षीया निर्मला खत्री अहिले माध्यमिक शिक्षा परीक्षा दिनु र साथमा रहेको एक वर्षको छोराको पालनपोषण गर्नु मात्र होइन, घर नजिकैको परीक्षा केन्द्रमा परीक्षा दिन नपाएपछि जगतिपुरमा बसेर परीक्षा दिन बाध्य हुनु परेको बताउँछिन् । 
 
जगतिपुरमा होटल नभएका कारण कोठा लिएर परीक्षार्थीले आफैँ खाना बनाई खानुपर्ने र डेढ घन्टा लगाएर पानी बोकेर ल्याउनुपर्ने अर्को बाध्यता रहेको निर्मलाको भनाइ छ । बच्चा सँगै भएका कारण पढाइ पनि राम्रो नभएको उनको भनाइ छ । 
 
“पढ्न लाग्दा छोरा रुन्छ, रुँदारुँदै कसरी पढ्नु ?” उनले भनिन् । उनी जस्तै अर्की भुरकी सबिना पुन पनि १६ वर्षकी भइन् । उनका साथमा पनि ६ महिनाकी छोरी छिन् । छोरीका कारण उनको पढाइ र अन्य काम सवै अलपत्र परेको छ । पढाइ नहुँदा नहुँदै उहाँ ६ महिनाको छोरी च्यापेर जगतिपुरमा परीक्षा दिन आएकी छिन् ।  
 
बिहीबारको परीक्षा दिँदादिँदै तीनपटक छोरीलाई दूध ख्वाउँदा उनले सोचे जति लेख्नसमेत नसकेको बताइन् । छोरी, परीक्षा र बिरानो ठाउँ, अनि आफै खाना बनाएर खानु परीक्षाको सबैभन्दा पीडाको विषय भएको पुनको भनाइ छ । 
 
घर नजिकैको विद्यालयमा परीक्षा केन्द्र भएपनि सेन्टर परिवर्तनले गर्दा विद्यार्थी मारमा परेका छन् ।
 
उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने र छिट्टै बच्चा पाउँदा घरधन्दा र आमाको जिम्मेवारीले गर्दा यहाँका छात्राको पढाइ बिग्रदो अवस्थामा रहेको छ । 
 
आमाबाबाको दबाब र देखासिकीका कारण छिटो बिहे गर्दा जिम्मेवारी बढ्ने समस्याले यहाँका छात्राको पढाइमा समस्या आएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । 
 
परीक्षामा सहभागीमध्ये ३० प्रतिशत विवाहित भएको परीक्षा सहभागी केन्द्राध्यक्षले बताएका छन् । 
 
जिल्ला शिक्षा कार्यालयका अनुसार जाजरकोटमा ६४ माविका १९ वटा परीक्षा केन्दबाट पाँचहजार ६ सय १५ विद्यार्थीले परीक्षा दिँदैछन् । 
 
कुनै पनि विद्यालयले आफू अध्ययनरत विद्यालयबाट परीक्षा दिन पाउने छैनन् । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने भन्दै शिक्षा विभागको परिपत्रअनुसार नै यो निर्णय विगत ४ वर्षदेखि लागू गरिँदै आएको जिल्ला शिक्षा अधिकारी सिंहले बताए । 
 
परीक्षा नियन्त्रकले जिम्मेवारी बिर्संदा 
 
परीक्षामा चिट चोरी रोक्नु र अन्य अमर्यादित कामलाई नियन्त्रण गर्न परीक्षा नियन्त्रकको व्यवस्था गरिएको हुन्छ ।
 
विद्यार्थीको सङ्ख्याका आधारमा नियन्त्रकको व्यवस्था गरी खटाएको हुन्छ । जाजरकोटका अधिकांश परीक्षा केन्द्रमा खटिएका नियन्त्रकले आफैले चिट चोराउने काम गर्दा समस्या भएको विद्यार्थी बताउँछन् । विद्यार्थीलाई उत्तर भनिदिनेदेखि खुलेआम चोरी गर्न दिने गरिएको छ । 
 
अनुगमनमा खटिएका कर्मचारी, पत्रकार परीक्षा केन्द्रमा आएपछि चिट लुकाऊ भनेर निर्देशन दिने काम कक्षा नियन्त्रकको रहेको पाइएको छ । 
 
जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह जगतिपुर परीक्षा केन्द्रमा पुगी विद्यार्थीबाट चिट माग्दा भारी मात्रामा गेसपेपर विद्यार्थीले जिशिअलाई बुझाएका थिए । 
 
प्रहरीका अनुसार कर्मकाण्डी रुपमा गेटमा चेक गर्दा सबै गेसपेपर विद्यार्थीले भित्रै लगेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ