arrow

अमेरिकी सेना प्रमुख नेपाल आउँदै, भारत र चीनलाई तातो

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
काठमाडौं । अमेरिकी नौसेना (नेभी) प्रमुख ह्यारी बिन्क्ले ह्यारिस आइतबार नेपाल भ्रमणमा आउने भएका छन्। अमेरिकी नौसेना का एडमाइरल ह्यारिस अमेरिकी सेनाको प्रभावशाली प्यासिफिक कमान्डका कमान्डर हुन्।
 
सन् २०१५ मा अमेरिकी नौसेना प्रमुखमा नियुक्त भएका ह्यारिस केही समय यता नेपाल आउन लागेका वरिष्ठ अमेरिकी सैन्य अधिकारी हुन्।
 
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तीनदिने नेपाल भ्रमणका क्रममा ह्यारिसले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री प्रकाश शरण महत र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसंग भेटवार्ता गरी नेपाल—अमेरिका सैन्य सहकार्य र सहयोगबारे छलफल गर्ने भएका छन्। 
 
रक्षा मन्त्रालयका प्रवक्ता उत्तम नागिलाले अमेरिकी नौसेना प्रमुख सदभावना भ्रमणमा आउन लागेको बताए।
 
अमेरिकी नौसेना प्रमुख ह्यारी नेपाली सेनाले सोमबारदेखि पाँचखालमा आयोजना गर्न लागेको ‘शान्ति प्रयास’ नामक सैन्य अभ्यासको उद्घाटन कार्यक्रममा सहभागी हुने छन्। संयुक्त सैन्य अभ्यासमा राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहेका २७ देशले सहभगिता जनाउने स्रोतले जनाएको छ।
 
अमेरिकाले नेपाली सेनासँग रणनीतिक सहकार्यलाई निकै प्राथमिकतामा राखेको पाइन्छ। समय—समयमा अमेरिकी सेना र नेपाली सेनाबीच संयुक्त सैन्य अभ्यास हुने गरेका छन्। भारतपछि नेपालले संयुक्त सैन्य अभ्यास गरेको मुलुक अमेरिका हो।
 
‘चीन र भारतका बीचमा रहेको नेपालको भूराजनीतिक अवस्थालाई अमेरिकाले आफ्नो रणनीतिक स्वार्थमा प्रयोग गर्ने रणनीति अपनाउँदै आएको छ। 
 
अमेरिकी नौसेनाका प्रमुखको भ्रमणलाई यस हिसाबले निकै महत्वको छ,’ एक सरकारी अधिकारीले भने।
 
भारतसँगको रक्षा सहकार्यलाई मजबुत पार्दै लगेको अमेरिकाले नेपाललगायत दक्षिण एसियाली मुलुकमा आफ्नो रणनीतिक स्वार्थ पूर्तिका लागि प्रयास गरिरहेको देखिन्छ।
 
अमेरिकाले नेपाललाई भारतको दृष्टिबाट हेर्दै आएको विश्लेषण हुने गरेको छ। जसका कारण अमेरिकी नेपाल नीति भारतले नेपाललाई कुन रुपमा हेर्छ भन्नेमा बढी निर्भर रहने गरेको छ।
 
अमेरिकामा डोनाल्ड ट्रम्पको शासन सुरु भएयता अमेरिकाको एसिया प्रशान्त रणनीति, मुलतः भारत र चीनसंगको अमेरिकाको संबन्धमा आउन सक्ने बदलाव लगायत विषयमा अमेरिकी नीति के हुन्छ भन्नेबारे विश्वकै ध्यान आकर्षित भइरहेका बेला अमेरिकी नौसेनाका प्रमुख नेपालसहित एसिया प्रशान्त क्षेत्रको भ्रमणमा निस्कन लागेका हुन्। 
 
नेपाल तथा चीनबीच संयुक्त सैन्य तालिमको तयारी भइरहेका बखत अमेरिकी नौसेनाका प्रमुखको भ्रमण हुन लागेको छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ