इलाम। इलाम फाकफोकथुम गाउँपालिका–२ का सृजन शर्मा अहिले २० वर्षको भए। अहिलेसम्म उनले कुनै पनि निर्वाचनमा मत खसाल्न पाएका छैनन्।
उनी भन्छन् – “२०७० सालको संविधानसभाको निर्वाचनमा मत खसाल्न पाइएन। अबको स्थानीयतहको चुनावमा भने मत खसाल्ने ठूलो रहर छ।” शर्मालाई अबको चुनावमा दलभन्दा पनि व्यक्तिलाई हेरेर मत खसाल्न मन लागेको छ। उनी भन्छन् – “देशमा विकास र समृद्धि आवश्यकता छ। त्यो व्यक्ति हामी आफैँले छनोट गर्नुपर्छ।”
स्थानीय निकायमा जनप्रतिनिधि भएको खण्डमा अहिले जस्तो एकैजना व्यक्तिले सबै गाविसको काम भ्याउनुपर्ने बाध्यता नहुने उनी बताउन्छन्। यो चुनाव नयाँ गाउँपालिका र नगरपालिकाअन्तर्गत हुन्छ भन्ने सुनेको छु। चुनावको प्रत्यक्ष अनुभव बल्ल लिन पाइने भो।
सोयाङकी सङ्गीता सञ्जेललाई पनि कतिबेला निर्वाचनको दिन आउला भन्ने खटपटी भइरहेको छ। अहिलेसम्म चुनावमा भोट खसाल्न नपाएको बताउँदै उनी भन्छीन् – “पहिलो संविधानसभाको निर्वाचनमा उमेर पुगेको थिएन। यसपटक त चुनावको राम्रै अनुभव लिन पाइने भो ।” उनले भने – “अबको चुनावमा गाउँघरको समस्या बुझ्नसक्ने नेतालाई भोट हालिन्छ।”
शर्मा र सञ्जेलमात्रै होइन् पहिलोपटक निर्वाचनमा भोट हाल्ने पर्खाइमा बसेका हजारौँ युवालाई चुनावी उत्साह जागेको छ। समयमै चुनाव भए देशमा विकास निर्माणको कामले गतिलिने र राजनीतिक स्थिरता कायम हुन्थ्यो भन्ने युवालाई लागेको छ। युवा नेताको ऊर्जा देश विकासमा खर्चने वातावरण बनाउनेमा युवावर्ग लागेका छन्।
देशमा निर्वाचन भए रोजगारी खोज्दै युवा पलायन हुनुपर्ने दिन हराउँथ्यो कि भन्ने अधिकांश युवाको भनाइ छ। प्रायः यतिबेला सबै युवाको मनमा विदेश जानुपर्ने बाध्यताचाहिँ संविधान कार्यान्वयन नभएर हो भन्ने पाइएको छ।
जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले गाउँ–गाउँमा सबै क्षेत्र निर्वाचन निर्धारण गरिएको बताए।
कार्यालयले जिल्लाका शिक्षक र सामाजिक परिचालकहरूलाई निर्वाचन शिक्षाबारे जानकारी दिएर निर्वाचन शिक्षाको प्रसारप्रचार गर्ने तयारी गरेको निर्वाचन अधिकृत काफ्ले बताउछन्।
आउँदो निर्वाचनका लागि इलाममा १७ वटा दल दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ। रासस