arrow

गैर आवासीय नेपाली नेपालको पूँजी : मन्त्री महत

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
mantrimahat.jpeg
मलेसिया । परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गैर आवासीय नेपालीहरु नेपालको विकास र समृद्धिका लागि ठूलो पूँजी रहेको बताएका छन् ।मलेसियाको राजधानी क्लाललम्पुरमा आयोजित गैर आवासीय संघ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौ बैठकलाई आइतबार सम्बोधनगर्दै मन्त्री डा.महतले भने– गैर आवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको सीप, प्रविधि र पूँजी नेपालको विकास र समृद्धिका लागि ठूलो सम्पत्ति हो ।
 
मन्त्री डा.महतले विगतमा राजनीतिक अस्थिरता, द्वन्द्व एवम् अन्य कारणले लाखौँ नेपाली विदेशिन बाध्य हुनुपरेको स्मरण गर्दै उनीहरुले संसारमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई अब नेपालको उन्नति र समृद्धिमा लगाउने बेला आएको बताए । 
 
डा.महतले विश्वमा रहेका सबै गैरआवासीय नेपालीलाई सम्बोधन गर्दै भने– तपाईंहरुले अहिले संसारका कुनै पनि देशमा पुगेर आर्जन गर्नुभएको विशिष्ठ पहिचानको लागि आफ्नो मातृभूमिको योगदान कति छ भनेर मनन् गर्नुहोस र अब जन्मभूमिको उन्नतिका लागि केही गर्नुपर्छ भनेर लाग्नोस् ।  
 
नेपालमा अर्को महिना स्थानीय निर्वाचन हुन लागेको र यसमार्फत संविधानको कार्यान्वयनका साथै नागरिकको स्थानीय सरकारका रुपमा रहेका स्थानीय संरचनाहरुमा जनप्रतिनिधिको चयनसँगै देशको विकासको जग गाँउबाट सुरु हुन लागेको उनले बताए । 
 
नयाँ संविधानको कार्यान्वयनसँगै नेपाल पुनर्संरचित रुपमा स्थीरता र विकासको मार्गमा अघि बढ्न लागेको र विभिन्न क्षेत्रमा लगानीको राम्रो अवसर रहकोले संसारका सबै गैर आवासीय नेपालीलाई नेपालमा लगानीका लागि उनले आग्रह गरे।
 
मन्त्री डा.महतले भने– नेपालले यतिखेर विकास र समृद्धिको मार्ग तय गर्दैछ, बिगतको जस्तो लगानीको वातावरण नरहेको भन्ने अवस्था अब देशमा छैन, त्यसैले म सबै गैर आवासीय नेपालीलाई नेपालको जलविद्युत, सेवा क्षेत्र लगायतका क्षेत्रमा लगानीका लागि आग्रह गर्दछु ।  
 
उनले देशको आर्थिक तथा विश्वमा नै पूँजी र प्रविधिको विकास र आदानप्रदान गर्न सकिने एक प्रभावकारी मञ्चका रुपमा गैर आवासीय संघलाई लिएकोले यस अभियानको सहयोग र प्रवर्धनमा सघाउँदै आएको धारणा पनि राखे।
 
खाडी देशमा ठूलो संख्यामा रहेको नेपाली जनशक्तिको श्रमको सम्मान होस् र उनीहरुको हक अधिकार र सुविधाको संरक्षण र प्रवर्धन होस् भनी नेपाल सरकारले सक्दो प्रयास गरिरहेको जानकारी पनि उनले दिए  ।
 
सो बैठकमा गैर आवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय देशहरु, युरोप र अन्य देशहरुका अगुवाहरुकासाथै नेपालका उद्योगी व्यवसायीहरुको पनि सहभागिता रहेको छ ।  बैठकमा मलेसियाका लागि नेपाली राजदूत डा.निरन्जनमानसिंह बस्नेत, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, पूर्व अध्यक्षहरु जिवा लामिछाने र उपेन्द्र महतोलगायतले सम्बोधन गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ