arrow

काठमाडौं उपत्यका थप खुल्ला बन्दै, भित्रिने थप पाँच नाका खुल्दै

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
kathmandu.JPG.jpeg
काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ । त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी नाकालाई थप व्यवस्थित गरिनेछ ।
 
निर्धारित अवधिभित्रै योजना कार्यान्वयनमा आए अबको केही वर्षभित्रै मोफसलवासी व्यवस्थित नाका भएर उपत्यका छिर्न पाउनेछन् । 
 
सडक विभागका अनुसार कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने टीकाभैरव नाका, सीतापाइला–धार्के, दक्षिणकाली–छैमले, साँखु–मेलम्ची, बालाजु–रानीपौवा नाकालाई व्यवस्थित गरिनेछ ।
 
सूर्यविनायक–बनेपा, नागढुंगा–सिस्नेखोला, टोखा–छहरे खोलिन लागिएकामध्ये नयाँ नाका हुन् । त्यस्तै, काठमाडौं–हेटौँडा सुरुङमार्ग र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण पूरा भएपछि नयाँ नाका खोलिनेछ । 
 
सडक विभागका प्रवक्ता दयाकान्त झाले केही वर्षभित्रै मोफसलबाट १० वटा व्यवस्थित नाकाबाट राजधानी काठमाडौं भित्रिन सकिने जानकारी दिए । त्यसमध्ये कतिपयमा काम सुरु भइसकेको र केही योजनाका क्रममा रहेको उनको भनाइ छ ।
 
यहाँ खुल्दै छन् नयाँ नाका
 
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग
 
सडक विभागका अनुसार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अबको चार वर्षभित्र निर्माण भइसक्नेछ । २।४५ किमि लम्बाइको यो सुरुङमार्ग निर्माणको लागत १६ अर्ब रुपैयाँ रहेको छ । 
 
यसका लागि विभागले जापानी दातृनिकाय जाइकासँग सम्झौता गरिसकेको छ । अहिले सुरुङमार्गको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) सम्झौताको काम भइरहेको छ ।
 
टोखा–छहरे–विदुर सुरुङ
 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकार उपत्यकाको उत्तरतर्फको टोखा–शिवपुरी–थानसिङ फाँट जोड्ने नयाँ सुरुङमार्ग निर्माणको तयारीमा जुटेको छ ।
 
यसका लागि मन्त्रालयले चीनको बेइजिङस्थित एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी) मा असारको पहिलो साता प्रस्तावनापत्र पेस गरिसकेको छ । 
 
मन्त्रालयका अनुसार पहिलो चरणमा टोखा–शिवपुरी–थानसिङ फाँटसम्म मात्रै सुरुङमार्ग निर्माण गरिनेछ । सुरुङमार्ग ४.५ किमिको हुनेछ । 
 
यसको लम्बाइ बढीमा ६ किमिसम्मको हुनेछ । चार लेनको सुरुङमार्ग उत्तरी नाका केरुङ जोड्ने गल्छी—त्रिशूली—बेत्रावती—मैलुङ (४८ किमि) सडकखण्डमा जोडिनेछ । 
 
सडक विभागले उक्त सडक निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ । अब दुई वर्षभित्र उक्त सडक निर्माण सक्ने विभागको योजना छ । सोही सडक सुरुङमार्गमा जोडिनेछ । यसले केरुङ नाका र काठमाडौंको दूरीलाई घटाउनेछ ।
 
सूर्यविनायक–धुलिखेल सडक
 
विभागका अनुसार सूर्यविनायक–धुलिखेल सडक निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । 
 
अध्ययन प्रतिवेदनअनुसार सडकको कुल लागत पाँच अर्ब रुपैयाँ हुनेछ । सडक पाँच वर्षभित्र निर्माण भइसक्नेछ । सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकको कुल लम्बाइ १६ किमि हुनेछ । 
 
सडकको चौडाइ २५ मिटरको हुनेछ । सडकको बीचभागमा दुई मिटर चौडा बगैँचा हुनेछ । त्यसले डिभाइडरको काम गर्नेछ । बगैँचाको दुवैतर्फ दुई–दुई लेनको सडक निर्माण हुनेछ ।
 
त्यसपछि सडकको दुवैतर्फ एक–एक मिटरको अर्को डिभाइडर हुनेछ । त्यसलगत्तै सडकको दुवैतर्फ एक–एक लेनको सर्भिस ट्र्याक हुनेछ । बाँकी भाग भने फुटपाथ हुनेछ । 
 
भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगा भञ्ज्याङमा तीन सय मिटरको दुई लेनको सुरुङमार्ग निर्माण गरिनेछ । 
 
लामो दूरीमा चल्ने सवारीसाधन विनाअवरोध सुरुङमार्गबाट आउजाउ गर्नेछन् । छोटो दूरीमा चल्ने सवारीसाधन भने साबिकको सडकमा चल्नेछन् । योजनाअन्तर्गत साबिकको सडक फराकिलो पारिने र घुम्ती घटाइनेछ ।
 
फास्ट ट्र्याक
 
आगामी पाँच वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग ९फास्ट ट्र्याक० निर्माण हुनेछ । यसका लागि सरकारले १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
 
द्रुतमार्गको ७६।४ किमि सडकमध्ये ७० किमि क्षेत्रमा जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्न लागेको यो मार्गले उपत्यकालाई तराईसँग जोड्नेछ । यो मार्ग भएर ५९ मिनेटमै तराई पुग्न सकिनेछ ।
 
हेटौँडा सुरुङमार्ग
 
निजी लगानीमा निर्माण गर्न लागिएको महत्वाकांक्षी हेटौँडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन भइसकेको छ । अध्ययनअनुसार सुरुङमार्ग काठमाडौंको बल्खुबाट सुरु भएर कुलेखानी हुँदै हेटौँडा जोडिनेछ । 
 
यसको कुल लम्बाइ ५८ किमि हुनेछ । यसमध्ये ४.५ किमि सुरुङ हुनेछ । यसभित्र तीनवटा सुरुङमार्ग निर्माण हुनेछन् । दुई–दुई लेनका दुईवटा सुरुङ हुनेछन् । 
 
क्रसओभरका लागि बीच–बीचमा ‘क्रस सेक्सन’ पनि हुनेछन् । दुर्घटना या अन्य कुनै प्राविधिक समस्या परे ‘क्रस सेक्सन’ प्रयोग गरी समस्या समाधान गर्न सकिनेछ । समयमा लगानी जुटाउन सकिए अबको केही वर्षभित्रै यो सडक मार्ग निर्माण हुनेछ ।
 
यी हुन् व्यवस्थित बनाइँदै गरेका नाका
सडक विभागका अनुसार हेटौँडाबाट उपत्यका भित्रिने कान्ति लोकपथ निर्माणाधीन अवस्थामा छ । 
 
६० वर्षदेखि लोकपथ निर्माण जारी रहे पनि अबको दुई वर्षभित्र निर्माण कार्य सकिनेछ । दुई लेनको यो सडक निर्माण भइरहेकाले यस नाकाबाट उपत्यका भित्रन निकै सजिलो हुनेछ ।
 
हेटौँडाबाट छैमले–दक्षिणकाली हुँदै उपत्यका भित्रिने सडक पनि दुई लेनमा विस्तार हुँदै छ । यसका लागि विभागले टेन्डरसमेत आह्वान गरिसकेको छ । 
 
सिन्धुपाल्चोकबाट उपत्यका भित्रिने साँखु–मेलम्ची सडकखण्ड लगभग निर्माण पूरा भइसेकेको छ । दुई लेनमा निर्माण गरिएको यो सडकबाट सजिलै उपत्यका भित्रिन सकिन्छ ।
 
रसुवाबाट नुवाकोट हुँदै उपत्यका प्रवेश गर्ने रानीपौवा–बालाजु सडक पनि दुई लेनमा चौडा गरिँदै छ । ७० किमिको यस सडक निर्माण चाँडै पूरा हुने अवस्थामा छ ।
 
यस्तै, धादिङको धार्के हुँदै उपत्यका भित्रिने धार्के–सीतापाइला सडकखण्डको ट्र्याक खुलिसकेको छ । 
 
दुई लेनमा विस्तार गरिने सडकका लागि विभागले १५ करोड रुपैयाँ बजेट निकासा गरेको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ