arrow

गिरिजाबाबुलाई काँग्रेसले नै बिर्सदै, सातौं स्मृति दिवसमा औपचारिक कार्यक्रम नै भएन

किन यस्ता भए देउवा ?

logo
बाबु नेपाली,
प्रकाशित २०७३ चैत ७ सोमबार
Girija-koirala.jpg.jpeg
काठमाडौं । प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा नेपाली काँग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसमा नेपाली काँग्रेसले कुनै औपचारिक कार्यक्रमको आयोजना गरेको छैन । कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । 
 
लामो समय काँग्रेसको बागडोर सम्हालेका आफ्ना नेताको सम्झनामा काँग्रेसले औपचारिक कार्यक्रम गर्ने सोच नबनाउनु दुःखद भएको काँग्रेसी नेताहरु नै बताउँछन् । कोइरालाको सम्झनामा उनकी पुत्री, केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले शनिबार राजधानीको एक होटलमा कार्यक्रम गरेकी थिइन् । त्यस्तै काँग्रेस सभापति शेरबहादुर देउवा सोमबार नाचघरमा हुँदै गरेको कार्यक्रममा सहभागी हुँदैछन् । 
 
छ दशकसम्म नेपाली काँग्रेसको राजनीतिमा होमिए पनि उनी काँग्रेसबाटै बिर्सिदै गइएका छन् । यो शताब्दीका हरेक राजनीतिक परिवर्तनका साक्षी गिरिजाप्रसादकै कारण नेपाल गणतन्त्रमय बनेको थियो । निर्णयतहमा निकै हक्की र निडर स्वभावका गिरिजाप्रसाद (काँग्रेसजन एवं राजनीतिक वृत्तमा ‘गिरिजाबाबु’) को दूरदृष्टि क्षमता पनि निकै थियो । 
 
कुनै समय ‘माले, मसाले र मण्डले एकै हुन्’ भनेर भाषण ठोक्ने गिरिजाबाबुले कालान्तरमा आफ्नो विचारलाई परिवर्तन गर्दै तिनै माले मसालेसंग एकता गरेर दोस्रो जनआन्दोलनको अगुवाई गरेका थिए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता गिरिजाबाबु जनताको हातबाटै संविधान लेख्ने काम एक जुगमा एकपटक आउँछ भन्दै सबै नेपालीलाई चुनावमा होम्ने काम गरेका थिए । तर उनको असामयिक निधनले भने नेपाली राजनीति तत्काल गतिविहीन बन्न पुगेको थियो । तर ढिलो नै भए पनि नयाँ संविधान त लेखियो तर कार्यान्वयन गर्ने पक्षमा अझै पनि फितलो सावित हुँदैछ । 
 
गिरिजाबाबुकै नाम बेचेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिष्ट पूरा गरिरहेकामात्र छैनन् दोस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा छन् । तर गिरिजाबाबुको इच्छा र राजनीतिक ध्येय पूरा गर्न चुकिरहेका छन् । 
 
किन यस्ता भए शेरबहादुर देउवा ? 
नेपाली काँग्रेसमा एउटा संस्कार थियो –आफ्ना अग्रजलाई सम्झने । तर शेरबहादुर देउवा सभापति भएर आएपछि त्यो संस्कारको अन्त्य भएको काँगे्रसजन बताउँछन् । एक वर्षमात्र भयो शेरबहादुरले काँग्रेसको नेतृत्व सम्हालेको । त्यसपछि पूर्व सभापतिहरु बिर्सिइदै गएका छन् । प्रायः वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला सम्झिइनुपर्ने नाम हुन् । तर देउवाले कसैलाई सम्झने कष्ट गरेका छैनन् । औपचारिकता निभाउनका लागि पनि देउवाले काँग्रेस मुख्यालय सानेपामा कार्यक्रम राख्न सक्थे । अहिले काँग्रेसको एक खेमा देउवा उश्रृंखल बन्दै गएको आरोप लगाउन थालेको छ । एक नेताले भने, ‘उहाँ मुडी हुनुहुन्छ, कसैको कुरा सुन्नुहुन्न ।’
 
कृष्णप्रसाद भट्टराईकै आडमा काँग्रेस लोकतान्त्रिक पार्टी खोलेका देउवाले ‘किसुनजी’लाईसमेत बिर्सन सक्छन् भने गिरिजाबाबु र सुशील’दा उनका लागि केवल चुनावका प्रतिद्धन्द्धीमात्र भएको ती नेताको तर्क छ । हुन पनि काँग्रेस सभापतिमा निर्वाचित भएको एक महिनाभित्र कार्यसमिति पूरा गर्ने कसम खाएका देउवाले अहिलेसम्म वर्तमान कार्यसमिति पूरा गर्ने हैसियत त राख्दैनन् भने पूर्व सभापतिहरु सम्झने झन्झट किन पो गर्थे र ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ