arrow

एमालेले भन्यो–चुनाव गर्नुस् बहाना बनाउन पाइँदैन

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
UML-office.jpg.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमालेले निर्वाचनलाई टार्ने, अन्योल खडा गर्ने र निर्वाचन हुन नदिने कुनै पनि गतिविधिहरुप्रति सजग रहन पार्टीपंक्तिलाई निर्देशन गरेको छ । सोमबार बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले सरकारलाई समेत बहानाबाजी नगरी वैशाख ३१ को चुनावमा जुट्न आग्रह गरेका छ ।

बैठकले वैशाख ३१ का लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न भनेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । निर्वाचनका सन्दर्भमा उठिरहेका द्विविधालाई चिर्दै निर्वाचनको सुनिश्चितता गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको समेत उनले बताएका छन् । बैठकले निर्वाचनका सम्पूर्ण कार्यहरुलाई तीब्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ ।

स्थानीय तह निर्वाचनको मिति घोषणा भएर निर्वाचन आयोगद्वारा आचारसंहिता समेत जारी गरी लागू गरिसकेको भएपनि सरकारका तर्फबाट आचारसंहिताविपरीत बजेटहरुको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरुको सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्यको एमालेले विरोध गरेको छ ।

संविधान संशोधनबारे पार्टीले यस अघि राख्दै आएका अडान यथावत राख्ने र  संविधानको कार्यान्वयन, तीनै तहको निर्वाचन गर्नेतर्फ अघि बढ्ने निर्णय भएको बताइएको छ । बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा विपक्षी ९ राजनीतिक दलका बीचमा छलफल गरी एकीकृत धारणा बनाउने निर्णय गरेको छ । यस्तै, बैठकले स्थानीय तहको संख्या हेरफेर र संविधान संशोधनको नाममा विषयान्तर नगर्न चेतावनी दिएको बैठकमा सहभागि एमाले नेताहरुले बताएका छन् ।

यसैगरी, विहीबार कञ्चनपुरको ओपेरा होटलमा बसेको स्थायी कमिटीको बैठकले नयाँ संरचनाका नगर, उपमहानगर र गाउँपालिका कमिटी निर्माण गर्ने निर्णय गरेको थियो । बैठकले महानगरको बारेमा निर्णय गर्न सकेको थिएन भने, सोमबारको आजको बैठकले समेत सो विषयमा कुनै निर्णय भएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ