arrow

नेपाल दक्षिण एसियाको तेस्रो खुसी राष्ट्र, पाकिस्तान अगाडि भारत पछाडि

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
happy-sad-face.jpeg
काठमाडौं । नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ । संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४.९६ अंक प्राप्त गरेको छ ।
 
विश्वको खुसी राष्ट्रका सूचीमा नेपाल ९९औँ सूचीमा छ । गत वर्ष भने नेपाल विश्वको १०७औँ खुसी राष्ट्रमा थियो । यस वर्ष नेपालले आठ स्थान सुधार गरेको छ ।
 
नर्वे संसारकै खुसी राष्ट्र
वल्र्ड ह्याप्पिनेस संस्थाको प्रतिवेदनमा युरोपेली राष्ट्र नर्वे संसारको सबैभन्दा खुसी राष्ट्रको सूचीमा परेको छ । गत वर्ष डेनमार्क पहिलो स्थानमा रहँदा नर्वे चौथो स्थानमा थियो । डेनमार्क यस वर्ष दोस्रो स्थानमा झरेको छ । 
 
संसारको सबैभन्दा खुसी हुने राष्ट्रको पहिलो ६ स्थानसम्म युरोपेली देश नै छन् । तेस्रो स्थानमा आइसल्यान्ड, चौथोमा स्विट्जरल्यान्ड, पाँचौँमा फिनल्यान्ड तथा छैटौँमा नेदरल्यान्ड छन् ।
 
दक्षिण एसियामा पाकिस्तान पहिलो 
आतंकवादको चपेटामा रहेको पाकिस्तान दक्षिण एसियाकै सबैभन्दा खुसी राष्ट्रमा परेको छ । समग्र विश्वमा भने पाकिस्तान ८०औँ स्थानमा छ । पाकिस्तानले ५.२६ अंक पाएको छ । 
 
दक्षिण एसियाको दोस्रो खुसी राष्ट्रमा भुटान रहेको छ । भुटानले ५.०१ अंक पाएको छ । बंगलादेश ४.४६ अंकसहित चौथो र ४.४४ अंकसहित श्रीलंका पाँचौँ खुसी राष्ट्रमा परेका छन् ।
 
दक्षिण एसियाकै ठूलो तथा विकसित भारत भने छैटौँ खुसी राष्ट्रमा रहेको छ । भारतले ४.३१ अंक पाएको छ । अफगानिस्तान ३.७९ अंकसहित सातौँ खुसी राष्ट्रमा रहेको ग्लोबल साइन्टिफिक स्टडिज संस्थानको प्रतिवेदनमा उल्लेख छ ।
 
अमेरिका १४औँ राष्ट्र
विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिका खुसी राष्ट्रको शीर्ष दश स्थानमा समावेश छैन । अमेरिका चौधौँ स्थानमा छ । अमेरिका गत वर्षभन्दा एक स्थान तल झरेको प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले यसपटक ६.९९ अंक पाएको छ । चीन भने ६.६५ सहित २०औँ खुसी राष्ट्रको सूचीमा छ ।
 
दुःखीमध्येको पहिलो खुसी राष्ट्रमा हैटी
 
ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले १४५औँदेखि १५४औँ स्थानसम्मकालाई विश्वकै दुःखी राष्ट्र मानेको छ । सबैभन्दा दुःखी राष्ट्रमध्येको पहिलो खुसी राष्ट्रमा ३.६३ अंकसहित हैटी छ । दुःखी राष्ट्रको पनि सबैभन्दा दुःखी राष्ट्रमा २.९० अंकसहित बुरुन्डी रहेको छ ।
 
यसरी हुन्छ अनुसन्धान
 
अमेरिकाको लस एन्जलसमा रहेको ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले ‘वल्र्ड ह्याप्पिनेस’ शीर्षकमा अनुसन्धान गरेको जनाएको छ । एक सय ५० भन्दा बढी देशमा अनुसन्धान गरिएको र प्रत्येक देशका कम्तीमा एक हजार नागरिकसँग सर्भे गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
 
व्यक्तिको औसत आय, औसत आयु, सामाजिक सहयोगको भावना, व्यक्तिगत स्वतन्त्रता, देशको आर्थिक अवस्था, व्यक्तिगत दया तथा क्षमताशीलता एवं भ्रष्टाचारको अवस्थालगायत विषयमा अनुसन्धान गरेर खुसी र दुःखी देशको सूची तयार पारिएको सो संस्थाले जनाएको छ । अनुसन्धानका क्रममा प्रत्येक राष्ट्रलाई एक देखि १० अंक प्रदान गरिएको पनि प्रतिवेदनमा छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ