arrow

प्रधानमन्त्रीमाथि किन खनिए माओवादी सांसद ?

केन्द्र र प्रदेशको चुनाव अघि सिमाङ्कन मिलाउने गरी संविधान संशोधन : प्रधानमन्त्री

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
news-mao-new-a.jpeg

काठमाडौं । सत्ताधारी माओवादी केन्द्रका सांसदहरु प्रधानमन्त्री पुष्पकमल दाहालमाथि खनिएका छन् । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा सहभागि सांसदले सरकार गठनपछि पार्टी संसदीय दलको बैठक नबसेको भन्दै दाहालमाथि खनिएका हुन् ।

उनीहरुले सरकार गठनपछि पार्टी संसदीय दलको बैठक किन नबसेको भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्न गरे । माओवादी सांसदहरुले अब उपरान्त बैठक नियमित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् । राष्ट्रिय राजनीतिमा पेचिला मुद्दाहरु उठिरहेका बेला लामो समयसम्म संसदीय दलको बैठक नडाकेको भन्दै उनीहरुले नेतृत्वको आलोचना गरे । उनीहरुले सरकार मात्रै चलाउने कि पार्टी पनि चलाउने भन्दै तर्क गरे ।

सांसदहरुले लामो समयसम्म बैठक बस्न नसक्नुको कारण स्पष्ट पार्न संसदीय दलका नेता समेत रहेका दाहाललाई भनेका छन् । अन्य दलले स्थानीय तहको निर्वाचनलाई लिएर विभिन्न गतिविधि गरिरहेपनि सत्ताधारी पार्टी चुपलागेर बसेकामा उनीहरुले आपत्ति जनाए ।

बैठकमा व्यवस्थापिका संसद बैठक लम्बिएकोबारे पनि सांसदहरुले प्रश्न गरे ।  संसदको चालु अधिवेशन बर्षे वा हिउँदे के हो भन्नेबारे नै अन्यौल सिर्जना भएको  भन्दै उनीहरुले त्यसबारे पनि स्पष्ट पार्न आग्रह गरे । केही दिनअघि माओवादीका केही नेताहरुले अधिवेशन अन्त्य गर्नका लागि सरकारले अझै संसद सचिवालयमा पत्र पठाउन नसकेको भन्दै आलोचना गरेका थिए ।

छलफलमा सात वटै प्रदेशका संयोजकले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, निर्वाचन, सरकार र पार्टी लगायत विषयवस्तुमा संसदीय दलले पर्याप्त छलफल गर्नु पर्ने भन्दै दलका नेताको ध्यानाकर्षण गराए । संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पार्टीभित्र देखिएका समस्या, चुनौती, साङ्गठनिक अवस्थाका बारेमा बैठकमा छलफल भएको जानकारी दिए ।

उनले भने, ‘सरकारमा गएपछि दलको बैठक बस्न नसकेको प्रति सांसदहरुले विरोध गरे ।’ सरकार गठनपछि बसेको यो नै पहिलो बैठक हो ।

प्रधानमन्त्रीले के भने ?
प्रधानमन्त्री पुष्पकमल दाहालले अब चुनाव हुन्न कि भनेर कुनै पनि आशंका नपाल्न आग्रह गरे । प्रधानमन्त्री दाहालले अवसरवादीहरुले मात्रै चुनाव हुन्न कि भनेर आशंका पाल्ने बताए । प्रधानमन्त्री दाहालले भने, ‘चुनाव घोषणा भइसकेको छ, सिंगो देश यसमा जुटिसकेको छ । चुनाव सफल पार्न सबैलाई आ आफ्नो ठाउँवाट जुट्न आग्रह गर्दछु ।

प्रधानमन्त्रीले मधेश र जनजातिका मुद्दा सम्बोधन गर्न सरकार गम्भीररुपमा लागिरहेको भन्दै सिमाङ्कनलाई केन्द्र र प्रदेशको चुनाव अघि टुंगो लगाउने गरी अहिले अन्य विषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको बताए ।

प्रमुख सचेतक बस्नेतका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणबारे कुरा गरेका थिए । प्रधानमन्त्रीले चीनसँग खुलेर आफ्ना कुरा राख्ने र केही महत्वपूर्ण सम्झौता हुनसक्ने बताएको बस्नेतले जानकारी दिए । दलको बैठक बिहीबार बिहान ८ बजे बस्ने गरी स्थगन भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ