arrow

'२००७ सालपछि थबाङ पसेको कांग्रेसले अब विकासकाे लहर ल्याउनु पर्छ'

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ चैत ८ मंगलबार
congress-flag.jpg.jpeg.jpeg
 लिबाङ (रोल्पा) । नेपाल कम्यूनिष्ट पार्टीका राप्ती ब्यूरो सदस्य जयप्रकाश रोका (प्रताप) ले २००७ सालपछि नेपाली काँग्रेस औपचारिक रुपमा थबाङ पसेको बताउँदै अबका दिनमा कांग्रेससँगै थबाङमा विकासको लहर पस्नुपर्नेमा जोड दिएका छन् ।
 
नेपाली कांग्रेस रोल्पाका सांसद तथा पार्टी सभापति अमरसिंह पुनको अध्यक्षतामा सरोकारवालाहरुका बीच थबाङमा सम्पन्न समन्वयात्मक बैठकमा रोकाले ७ सालमा काँग्रेस थबाङ पहिलाे पटक पसेकाे बताउँदै त्यसपछि काँग्रेस नदेखिएकाे र बल्ल छिरेकाे स्मरण गरे । उनले भने, '७ सालमा पाइला टेकपनि काँग्रेस थबाङमा अाैपचारिक रुपमा भने भर्खर छिरेकाे छ । अब विकास पनि छिर्नु पर्छ ।' यसैबीच रोकाले थबाङ सैद्धान्तिक रुपले कम्युनिष्टको किल्ला भएपनि बाहिर हल्ला आएजस्तो थबाङी जनता राज्य विरोधी नभएको बताए ।
 
रोकाले इतिहास स्मरण गर्दै भने “हामीले पञ्चायतकालमा पनि वालाराम घर्तीमगरलाई एकछापे भोट दिएकै हौं, २०२२ सालदेखि २०३५-०३६ सालसम्म घर्तीमगरलाई भोट हालेकै हौ तर निर्दलीय पञ्चायतले केही दिन नसकेकोले जनमत संग्रहमा बहुदलमा भोट हाल्नु परेको हो ।”
 
उनका अनुसार बमकुमारी बुढालाई पनि थबाङी जनताको भोट पर्‍यो थबाङले उनिबाट पनि ठूलै अपेक्षा गर्‍यो तर केही भएन । रोकाले भने “हाम्रा बाउ, बाजेले राजा वीरेन्द्रसंग पनि विकास मागेकै हुन तर रोल्पा सधै उपेक्षित भएपछि थबाङी जनता विकासका लागि एकजुट भएका छौं । अब हामीलाई झुठा आश्वासन चाहिदैन हामी थबाङ र समग्रमा सिंगो देशकै विकास चाहन्छौ । 
 
उनले कांग्रेस नेता पुनतिर इगित गर्दै भने थबाङमा कांग्रेस पस्यो भनेर तपाइहरुले पक्कै पनि इतिहास लेख्नुहुन्छ होला तर अब थबाङमा विकास पनि पस्नुपर्छ । नेपाली काँग्रेसले राणा विरुद्ध हतियार उठाएर प्रजातन्त्र ल्याएदेखि कुनै न कुनै रुपमा अहिलेसम्मको इतिहासमा पटकपटक सरकारमा पुगिरहेकोले नेपाली कांग्रेसबाट थबाङले विकासको ठूलो अपेक्षा गरेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ