arrow

राजनीतिक दल सम्बन्धी विधेयक ‘फास्ट ट्रयाक’मा लैजाने कसरत

थ्रेसहोल्डको विषय मिलाउनै मुस्किल

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
nayek-g,,,,-ma.jpeg

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले राजनीतिक दल सम्बन्धी विधेयक केही दिन भित्रै संसदमा पेश हुने बताएका छन् । मंगलबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री नायकले राजनीतिक दल सम्बन्धी विधेयकमा मत भिन्नता देखिएका विषयमा सहमति जुटाउन सरकार आफैले पनि राजनीतिक दलहरुसँग छलफल भइरहेको जानकारी दिँदै छिट्टै संसदमा पेश गरिने जानकारी दिए ।

न्यूनतम मत सीमा (थे्रेसहोल्ड)को विवाद नमिलेपछि विधेयक राज्य व्यवस्था समितिको उपसमितिमै थन्किएको छ । निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने विधेयकहरु मन्त्रालयले समयमै बनाएको बताएपनि मन्त्री नायकले राजनीतिक दल सम्बन्धी विधेयक दलहरुकै असमझदारीका कारण अड्किएको बताए ।

थ्रेसहोल्डमा देखिएको असहमतिका कारण अड्किएको विधेयकलाई छोटो बाटोबाट भएपनि छिट्टै टुंगो लगाउने तयारी भएको बताए । आगामी निर्वाचनमा ५ भन्दा तल र ३ भन्दा माथि थ्रेसहोल्ड कायम हुनु पर्ने ठूला दलको धारणा छ ।

निर्वाचन कानुनमा थ्रेसहोल्डको सीमा कम हुँदा संख्यात्मक प्रतिनिधित्व धेरै देखिएको र दलहरु सरकार निर्माणमा मात्र केन्द्रित भएर राज्य संयन्त्र कमजोर भएको भन्दै समानुपातिक व्यवस्थाको चर्को आलोचना हुन थालेपछि ठूला दल थ्रेसहोल्ड राख्ने पक्षमा लागेका छन् । साना दलले थ्रेसहोल्डको विरोध गरिरहेका छन् । साना दलले समानुपातिक व्यवस्था आफैमा थ्रेसहोल्ड भएको तर्क समेत गरेका छन् । यद्यपि, राज्य व्यवस्था समिति सदस्यहरुले राजनीतिक दलसम्बन्धि ऐनमा थे्रसहोल्ड राखिएरै आउने ठोकुवा गरेका छन् ।

यस्तै,  मन्त्रालयले पत्रकार सम्मेलनमा व्यवस्थापिका संसदबाट ३९ वटा विधेयक पास भईसकेको, ३७ वटा विचाराधीन रहेको तथा ९ वटा विधेयक मन्त्रालयमा सहमति जुटाउने क्रममा रहेको जानकारी गरायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ