arrow

निर्वाचन त भएन नै ३६ क्याम्पसले व्यर्थैमा गुमाए लाखौँ रुपैयाँ

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
NSU-election.jpg.jpeg
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचन सम्पन्न हुन नसक्दा विभिन्न ३६ क्याम्पसले लाखौँ रुपैयाँ व्यर्थमा गुमाएका छन्। 
 
त्रिविका ठूला आंगिक क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु भए पनि सम्पन्न हुन सकेन। जसका कारण विद्यार्थीबाट उठाएको लाखौँ खर्च भए पनि उनीहरूले स्ववियु नेतृत्व पाउन सकेनन्। 
 
त्रिविले शंकरदेव क्याम्पसका लागि आठ लाख रुपैयाँ खर्च गर्न पाउने सिलिङ तोकेको थियो। 
 
एकपटक १८ फागुन र अर्कोपटक सर्वपक्षीय छलफलबाट २३ फागुनका लागि स्ववियु निर्वाचन गर्ने मिति तोकिएको थियो। तर, निर्वाचन हुन सकेन। 
 
क्याम्पस प्रमुख कृष्ण आचार्यका अनुसार यसक्रममा निर्वाचन तयारीमै करिब तीन लाख रुपैयाँ खर्च भइसकेको थियो। क्याम्पस प्रमुख आचार्यले भने, ‘न स्ववियु निर्वाचन सम्पन्न भएर परिणाम आयो, न रकम नै जोगियो।’ 
 
आरआर क्याम्पसमा पनि स्ववियु निर्वाचनका नाममा दुई लाखको हारहारीमा खर्च भएको क्याम्पस प्रमुख डा निर्मलाकुमारी सुवालले बताइन्। सुवालले भनिन्, ‘निर्वाचन सम्पन्न गर्न ९० प्रतिशत काम भएको थियो, तर अन्तिम समयमा रोकियो, रकम भुक्तानी गरेका छैनौँ, के गर्ने अलमलमा छौँ।’ 
 
निर्वाचनका लागि आवश्यक सामग्री सबै जुटाइसकेकाले खर्च भइसकेको उनले जानकारी दिइन्। आवश्यक सामग्री खरिद गरे पनि आरआर क्याम्पसले भुक्तानी भने गरेको छैन।
 
१८ फागुनमा तालाबन्दीका कारण स्ववियु निर्वाचन हुन नसकेपछि आरआर क्याम्पसले २३ फागुनका लागि निर्वाचन तयारी गरेको थियो। 
 
तर, अन्तिम समयमा स्थानीय तहको निर्वाचन आचारसंहिताको कारण देखाएर प्रशासनले निर्वाचन रोकेको थियो। सो क्याम्पसमा निर्वाचन नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिइसकेको छ । 
 
तर, अब कहिले निर्वाचन हुन्छ भन्ने तय हुन सकेको छैन। 
 
के–केमा भयो खर्च ?
त्रिविले क्याम्पसमा विद्यार्थी संख्याका आधारमा खर्चको सिलिङ तोकेको थियो। क्याम्पसहरूले विद्यार्थी कल्याणकारी कोष वा अन्य शीर्षकबाट खर्च गरेका छन्। क्याम्पसको निर्वाचन कमिटीको बैठक भत्ता, खाना, खाजा, स्टेसनरी, छपाइलगायतमा खर्च गरेका छन्। 
 
त्रिविका ठूला आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन। तर, अधिकांशले निर्वाचन प्रक्रिया सुरु भए पनि सम्पन्न गर्न सकेका छैनन्। 
 
त्रिविका ६० वटा आंगिक क्याम्पसमध्ये २४ वटामा मात्र निर्वाचन सम्पन्न भएको छ। उपत्यकाका शंकरदेव, आरआरसहित विश्वविद्यालय क्याम्पस, त्रिचन्द्र, अमृत साइन्स, महेन्द्ररत्न, सरस्वती, नेपाल ल, विश्वभाषाजस्ता ठूला क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न हुन सकेको छैन। ०६५ यता गत फागुनमा त्रिविले स्ववियु निर्वाचनको तालिकाअनुसार आधामा पनि सम्पन्न हुन सकेन । तर, स्ववियुका नाममा लाखौँ खर्च भएको छ। 
 
विद्यार्थीअनुसार खर्च सिलिङ–
त्रिविका विद्याथी कल्याण निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले विद्यार्थीअनुसार खर्चको सिलिङ तोकेको बताए। त्रिविले दिएको सिलिङभन्दा बढी खर्च भए केन्द्रमा जानकारी आउनुपर्ने व्यवस्था गरेको उनले बताए। 
 
त्रिविले दुई सयसम्म विद्यार्थी हुने क्याम्पसलाई ७५ हजार, एक हजारसम्म विद्यार्थी भएका क्याम्पसलाई एक लाख ५० हजार, तीन हजारसम्म विद्यार्थी हुनेलाई तीन लाख, ५ हजारसम्म विद्यार्थी हुनेलाई ६ लाख खर्चको सिलिङ तोकेको थियो। 
 
५ हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा ८ लाखसम्म खर्च गर्न पाउने गरी सिलिङ तोकिएको थियो। 
 
निर्वाचन सम्पन्न भएका क्याम्पस–
पक्लीहवा कृषि क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस, हेटौँडा वन विज्ञान, डडेल्धुरा शिक्षा क्याम्पस, नर्सिङ क्याम्पस वीरगन्ज, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, धौलागिरि बहुमुखी क्याम्पस बाग्लुङ, लमजुङ कृषि क्याम्पस, नर्सिङ क्याम्पस महाराजगन्ज, सानोठिमी शिक्षा क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, डोटी क्याम्पस, सुर्खेत शिक्षा, जनप्रशासन, भक्तपुर क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ। 
 
त्यसैगरी पश्चिमाञ्चल इन्जिनियरिङ, नर्सिङ क्याम्पस, वन विज्ञान, पूर्वाञ्चल इन्जिनियरिङ धरान, महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि, भोजपुर क्याम्पस र मेची क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ। (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ