arrow

ओलम्पिक कमिटिमा नयाँ टिमले काम गर्दै, आइओसीलाई जानकारी गराइँदै

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
NOC.png
काठमाडौं । नेपाल ओलम्पिक कमिटिको विवाद बढ्दै जाँदा जीवनराम श्रेष्ठ पक्षलाई बाहिर पठाउँदै रुक्मशमशेर राणा पक्षले बुधबारदेखि औपचारिक रुपले काम थाल्दैछ । गत माघ ११ गते दुवै पक्षले नेपाल ओलम्पिक कमिटिको मुख्यालय सातदोबाटोमा ताला लगाएपछि नियमित काम हुन सकेको थिएन ।
 
सुरक्षाकर्मीको रोहबरमा राणा पक्षले ताला खोलेपछि बुधबारदेखि काम थाल्ने जनाएको छ । रुक्मशमशेर राणा पक्षका कार्यबाहक अध्यक्ष किशोरबहादुर सिंहको नेतृत्वमा मंगलबार दिउँसो ओलम्पिक पुगेको टोलीले प्रहरीको रोहवरमा ताला फोडेको थियो । 
 
सदस्य नारायणदेव राणाले प्रहरीको रोहवरमा मुचुल्का उठाएर सामानहरु बुझेको र बुधबारदेखि नियमित काममा लाग्ने बताए । उनले भने, ‘अब हामीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिलाई हाम्रो मान्यताका लागि सरकारबाटै पत्रहरु लेख्न लगाउने योजनामा छौं, सरकारले नै पत्र लेख्यो भने विवाद पनि रहँदैन ।’
 
लामो समयदेखि ओलम्पिकको विवाद चलिरहँदा सर्वोच्च अदालतले राणा पक्षलाई नै आधिकारिक रहेको फैसला गरेको थियो । सन् २००७ मा रुक्मशमशेर राणा बाहिरिंदा धु्रवबहादुर प्रधान हुँदै ओलम्पिकको नेतृत्व जीवनराम श्रेष्ठको भागमा आइपरेको छ ।
 
तर त्यतिबेलै परेको मुद्दामा फैसला गर्दै सर्वोच्चले राणालाई नै वैधानिकता दिएको हो । 
 
सदस्य नारायणदेव राणाले जीवनराम पक्षलाई हटाएर आफूहरु ओलम्पिक मुख्यालयमा पुगे पनि कर्मचारीहरु रहिरहने स्पष्ट पारे ।
 
‘कर्मचारी स्वतन्त्र हुन्छन् उनीहरुसंग काम गर्दा कुनै आपत्ति छैन’, राणाले भने । 
 
प्रहरीको सहयोगमा ओलम्पिकमा पुगेको राणा पक्षले कसरी काम संचालन गर्ला भनी चासो राखिरहँदा अहिले पनि प्रहरीले सुरक्षा दिइरहनुले भने उनीहरु निरन्तर ओलम्पिक सम्हाल्लान् भन्ने चासो बढेको छ ।
 
यसैबीच, जीवनराम श्रेष्ठ पक्षले बुधबार दिउँसो ३ बजे काठमाडौंको हार्दिक होटलमा पत्रकार सम्मेलन गरी विरोध जनाउने बताएको छ ।
 
जीवनराम पक्षले नेपाली खेलकुदलाई ध्वस्त पार्नका लागि आफूहरुलाई काम गर्न नदिने खेल भइरहेको बताए । उनले सरकारको आलोचनासमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ