arrow

निर्वाचनले मतदातामा उत्साह, आफ्नो भन्दा राम्रो मान्छेमा जोड

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
election.jpeg
पाल्पा । आगामी २०७४ वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनले यहाँका मतदातामा उत्साह थपिएको छ । लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय निकायप्रति नागरिकका समस्या तथा गुनासा बढेका बेला स्थानीय तहको निर्वाचन हुने भएपछि मतदातामा उत्साह थपिएको हो । 
 
स्थानीय तहको निर्वाचनमा एकपटक पनि मतदान नगरेका मतदाताले आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न पाउने भएसँगै खुसी देखिएका छन् ।
 
स्थानीय बासिन्दा शिव विश्वकर्माका अनुसार पहिलो पटक स्थानीय तहको निर्वाचनले आफूहरुले नेतृत्व चुन्न पाउनेभएकामा खुसी छन् । 
 
स्थानीय तहको निर्वाचनपछि वडा र गाउँपालिका तथा नगरपालिकामा जनप्रतिनिधि आउने र कर्मचारीको भरमा मात्र कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यतासमेत हट्नेछ ।
 
जनताका काम छिटोछरितो रुपमा सम्पादन हुने आशाका साथ मतदाता निर्वाचनमा सहभागी हुने देखिएका छन् । 
 
स्थानीय बासिन्दा आफूले रोजेको प्रतिनिधि चुन्न पाउने भएसँगै पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकामा उत्साह थपिएको हो । मतदाताले जनप्रतिनिधि चुन्न पाउने भएपछि निर्वाचनपछि वडाध्यक्ष, सदस्य र गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखसमेत चुनिँदा स्थानीय तहमा चहलपहल बढ्ने पनि बताएका छन् । 
 
योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामा मात्र गाउँको विकास हुने भएकाले मतदाताले आफूले रोजेको योग्य, सक्षम, इमान्दारी व्यक्तिले मात्र मत पाउने देखिएको छ । 
 
सक्षम व्यक्तिलाई मात्र मतदान गर्ने र पार्टी नभन्ने स्थिति सिर्जना हुने भएपछि दललाई उम्मेदवारी दिने मोह बढेपनि उम्मेदवार छनौटमा समस्या हुने देखिएको हो । 
 
नेपालकै पुरानो नगरपालिकामा तानसेनमा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 
 
त्यसले प्रतिनिधि छनौटमा ककसलाई उम्मेदवारमा उठाउँदा विजय हुन्छ भन्ने विषय नै दलमा महत्वका साथ उठेको छ । लोकप्रिय र विकासप्रेमी नेतालाई चुनावी मैदानमा उठाउनु बाध्यता रहेको छ । 
 
पाल्पाको पुरानो सहर तानसेनमा को को उम्मेदवार बन्ने हुन् र कसले निर्वाचनमा जित्ने हुन् भन्ने चर्चा चियापसलदेखि चोकचोकमा हुन थालेको छ । 
 
आफ्नो मान्छेभन्दा पनि राम्रो मान्छे मतदाताले रोज्ने कुरा दलले बुझेका छन् । तानसेनमा प्रभाव जमाएका प्रभावशाली नेतालाई निर्वाचनमा उठाउँदा पार्टीको अस्तित्व रहने भएकाले उम्मेदार उठाउने विषयले दलभित्र समेत चर्चा परिचर्चा हुन थालेको पाइन्छ । 
 
नेपाली काँग्रेसले तानसेन नगरपालिकाको प्रमुखमा पार्टी सचिव अजयमान कर्माचार्य, पूर्वनगरसभापति चोकमान शाक्य र राजेन्द्र गोपाल सिंहको नाम यतिबेला चर्चामा छ । 
 
नेकपा (एमाले)ले तानसेन नगरपालिकाको प्रमुखका पूर्वमेयर अशोक शाही, डा पुरन बज्राचार्य र एकप्रसाद भण्डारी तथा तीर्थप्रसाद गौतमको नाम चर्चाको विषय बनेको छ । 
 
त्यसैगरी, नेकपा माओवादी केन्द्रका पूर्वनगर अध्यक्ष केशव पौडेल, गोपाल पौडेल, विन्दु रावल र नवीन थापाको नाम चर्चामा रहेको छ । 
 
दलले यी स्थापित नेतालाई निर्वाचनमा उठेको अवस्थामा निर्वाचन कडा प्रतिस्पर्धा हुने र आफ्नो पक्षमा भारी मत पर्ने दाबी छ । 
 
तानसेन नगरपालिकामा मात्र होइन, दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिका, बगनाँसकाली गाउँपालिका माथागढी, तिनाउ, रिब्दीकोट, रम्भादेवी, छहरा, रैनादेवी, पूर्वखोला र निस्दी गाउँपालिकामा दलले निर्वाचनको माहोल बनाउन बैठक, सभा, सम्मेलन तथा कार्यकर्तासँग भेटघाटलाई निरन्तरता दिँदै आएका छन् । यसले निर्वाचनको माहोल बढेको छ । 
 
तानसेन नगरपालिकामा २१ मतदान केन्द्र, रामपुर नगरपालिकामा १४, बगनाँसकाली गाउँपालिका ११, माथागढीमा १०, तिनाउमा नौ, रिब्दीकोटमा १०, रम्भादेवीमा नौ, छहरा रैनादेवीमा १४, पूर्वखोलामा १० र निस्दी गाउँपालिकामा नौ गरी जिल्लामा एकसय १७ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय पाल्पाको प्रमुख धर्मा अर्यालले बताउनुभयो । 
 
हालसम्म एकलाख ६८ हजार मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । २०७० सालको संविधानसभाको निर्वाचनमा पाल्पामा एकलाख ३६ हजार मतदाता रहेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ