सिक्न त हामी के सिकौंला र !

वसन्तप्रकाश उपाध्याय प्रकाशित मिति : २०७३ चैत ९ बुधबार , ३,४१४ पटक हेरिएको
काठमाडौ छिर्नासाथ मेरो पहिलो आश्रयस्थल बनेको थियो– वागवजारस्थित प्रेमपूर्ण कर्माचार्यको घर । ३४ वर्ष पुरानो यही सम्बन्धलाई बिट मार्दै उहाँ सोमबार बित्नुभयो । अप्रत्यासित खबर सुनेर म मोडल हस्पिटल पुग्दा– चिकित्सकहरुले उहाँको ‘आँखा–दान’को सत्कर्र्म थाल्दै रहेछन् । झ्वास्स भेट भयो – प्रेमसागर दाइ र प्रितमजीसँग । नेपालको रक्तदान इतिहासका उन्नायक प्रेमसागर दाइको मोबाइल बज्ने क्रम सदाझैं तीव्र थियो । त्यस्तैमा ९८५१००४२५९ बाट एउटा फोन आयो । रक्त अभावमा छटपटाइरहेका एक विरामीका आफन्तले उहाँसँग रगत समस्या देखाएका रहेछन् । प्रेमसागर दाइ भन्दै हुनुहुन्थ्यो, ‘मेरो बुबाको ‘डेथ’ भएर म मोडल अस्पतालमा छु । तपाईंहरु यहीं आउनुस् ।’
 
आफ्ना समग्र दुःख लुकाएर अर्काका लागि अहोरात्र खट्ने प्रेमसागर दाइको आनीबानी र बेहोरा मेरो लागि नौलो थिएन । यद्यपि बुबाको निधन–बज्रपात भोगिरहँदा पनि त्यसलाई छिपाएर जुन ‘पुण्य–स्वरुप’ उहाँले देखाउनुभयो, त्यसलाई बुझेर मेरा आँखाले आँसु रोक्न सकेनन् ।
 
वास्तवमा उहाँकै मार्गनिर्देश र मर्मले मैले पनि ३० औं वर्षअघि रक्तदानको यात्रामा होमेको थिएँ । दुर्भाग्य, त्यसलाई मैले नियमित गर्न सकिन । म आफू र आफन्त परिवेशलाई रगत चाहिंदा उहाँलाई सम्झन्थ्यें, उहाँ दिन–रात झरी–वादल केही नभनी सहयोग गर्नुहुन्थ्यो । समाजसेवी बुबाको विहङ्गम र विज्ञ दृष्टिकोणले दीक्षित त्यो परिवारबाट हामीले धेरै कुरा सिक्नु बाँकी छ ।
 
सिक्न त हामी के सिकौंला र ! प्रतिबद्धता नभई कुनै पनि काम कहिल्यै कार्यान्वयन तहमा उत्रदैन । निर्मल र स्वच्छ बहेको टुकुचालाई कालो र मैलो कसले बनाएको हो ? त्यसको पत्तो हामीलाई छ । पढ्ने हो, पढिरहेछन् – त्यही टुकुचा छेउमा कोही शंकरदेवका नाममा कोही वाल्मिकीको भेषमा । तर जिन्दगी उही सबैले खोजेको ‘रमाइलो मेला’ भन्दा किञ्चित फरक रहेनछ । ‘लोट्टो र विङ्गो’ संस्कृतिमा सबैलाई ‘बम्पर’ पार्नुछ । हामीले तरकारीमा ' तटस्थ–स्वाद' खोज्दैनौं । उही खसीबजारको रक्ति–कलेजो र आन्द्राभुँडीको ‘भुटन’ चाहिएको छ ।
 
धेरै देखियो– वागवजारका गल्लीबाट यथास्थिति विरुद्धका क्रान्तिकारी आन्दोलनहरु । पद्यरत्नदेखि केशव स्थापितका भेषमा ‘सूर्य’ चम्किए । रातोघरलाई ‘अखिल’का नाममा कब्जा गरियो । स्वस्थ्य समाजको पक्षमा काम गर्ने क्यान्सर सोसाइटीदेखि रेडक्रसजस्ता संस्थालाई भगाइए त्यहाँबाट । मियाँहरुले अग्लो मस्जिद बनाए त्यतैतिर । तर कहीं कतै मानवताको वकालात गर्ने–गराउने प्रेमको सागर बहेन ।
 
वितृष्णाको बकपत्र स्वरुपमा धेरै कुरा सोच्दै थिएँ– भृकुटी मण्डपतिर लावालश्कर भएका राता टोपीहरु देखें । वैद्य–संस्करणका ती भीडहरु एसएसवी विरुद्धको प्लेकार्डमा थिए । भत्काइएको रक्तसञ्चार केन्द्रको खाली जमिनमा उभिएर योद्धाहरु ‘मुठ्ठी’ कस्दै थिए । अमूल्य मान्छेको जीवनलाई काम लाग्ने ‘एक पिण्ट’ रगत दान नगर्नेहरु त्यहाँ ‘मुलुक’ बचाउने महान् अभियानको कुरा गर्दै थिए । मैले प्रेमसागर दाइलाई हेरें । अर्को फोनमा उहाँ भन्दै हुनुहुन्थ्यो, ‘कुन ग्रुपको ‘ब्लड’ चाहिएको हो तपाईंलाई ?’ आफ्नो बुवा बितेकै क्षणमा पनि आफ्नो कर्तव्यपथबाट थोरै विचलित नहुनु भएका प्रेमसागरलाई देखेर सोचें, ‘अझै आशा मरिसकेको छैन रहेछ हामीबीचबाट ।’

सम्बन्धित समाचार

नयाँ