arrow

निर्वाचन आयोगले माग्यो देशभरको निजी हतियारको विवरण

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
Election-Commission-hamrakura-3.jpg.jpeg
काठमाडौं । निर्वाचन आयोगले निजी प्रयोजनको लागि अनुमति लिएर हातहतियार राख्नेहरुको विवरण माग गरेको छ । आयोगले २०७४ बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गले सम्पन्न गर्नको लागि निजी व्यक्तिले अनुमति लिएर बोकेका हतियारधारीको हतियार निर्वाचन अवधिभर जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउन सम्बन्धित सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । 
 
आयोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्थाबमोजिम संकलन भएका हातहतियारको जिल्लागत विवरण समेत चैत ११ भित्र आयोगमा उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ । साथै चैत ८ गतेसम्ममा नियन्त्रणमा लिइएका अवैध हातहतियारको सूची र नियन्त्रणमा लिन बाँकी हतियारको सूची समेत उपलब्ध गराउन पनि गृहलाई निर्देशन दिईएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । आयोगले यसअघि कानूनबमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्थाका लागि निर्देशन दिएको थियो । 
 
त्यस्तै, आयोगको बुधबारको बैठकले तालिम, सेमिनार, गोष्ठी, भ्रमण स्थगित गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन पनि दिएको छ । आयोगले स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि तालिम, गोष्ठी, सेमिनार, अवलोकन भ्रमण प्रयोजनार्थ हुने वैदेशिक भ्रमण कार्यक्रम स्थगित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पुनः निर्देशन दिएको हो । यसअघि फागुन २८ गते आयोगले यही प्रकृतिको निर्देशन कार्यालयलाई दिएको थियो । 
 
आयोगको बैठकले स्थानीय तह निर्वाचनका लागि आगामी बैशाखको पहिलो साताबाट निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएकाले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका लागि आवश्यक व्यवस्थापन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न भवन, फर्निचर, सवारी साधन, टेलिफोनलगायत भौतिक सामग्रीको व्यवस्थापन गर्न सो मन्त्रालयमार्फत मातहतका निकायलाई आवश्यक निर्देशन दिन आयोगले निर्देशन दिएको पनि प्रवक्ता शर्माले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ