arrow

नक्कली लाइसेन्स बनाउँदै बेच्दै, होलोग्राम सक्कली

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
licence.jpeg
काठमाडौं । नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्दै आएका दुईजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । गिरोहका सदस्यहरू ३८ वर्षीय अनिलबहादुर पाख्रिन र ३१ वर्षीय गणेशबहादुर गोले मंगलबार पक्राउ परेका छन् ।
 
उनीहरूले सक्कलीजस्तै देखिने दर्जनौँ नक्कली लाइसेन्स बनाएर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । सिन्धुली भद्रकाली स्थायी घर भएका गोले ललितपुरको भनिमन्डल र पाख्रिन सिद्धिपार्कमा बस्दै आएका थिए । 
 
उनीहरूले ६ महिनादेखि नक्कली लाइसेन्स बनाएर बिक्री गर्दै आएको परिसरका एसपी अशोक सिंहले जानकारी दिए । 
 
प्रहरीले उनीहरूको साथबाट एक सय ९० वटा होलोग्राम, एक सय १५ वटा नक्कली लाइसेन्स, ६ वटा फोटोसहित तयारी अवस्थाका लाइसेन्स, कम्प्युटर, प्रिन्टर र छाप बरामद गरेको छ ।
 
पाख्रिनको कोठाबाट लाइसेन्स छाप्ने प्रिन्टरसमेत बरामद गरिएको एसपी सिंहले बताए । पाख्रिनले नक्कली लाइसेन्स बनाउने र गोलेले ग्राहक खोज्ने काम गर्दै आएका थिए ।
 
उनीहरूले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अधिकृतहरूको हस्ताक्षरसमेत नक्कली बनाएर सक्कली लाइसेन्स भएको भ्रममा पारेर नक्कली लाइसेन्स बेच्दै आएका थिए ।
 
सुराकीका आधारमा पहिला गोलेलाई पक्राउ गरेको र गोलेकै सूचनाका आधारमा पाख्रिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गिरोहका अन्य सदस्यबारे अनुसन्धान भइरहेको एसपी सिंहले बताए ।
 
होलोग्राम सक्कली भएको आशंका
प्रहरीले लाइसेन्समा प्रयोग हुने होलोग्राम भने सक्कली भएको आशंका गरेको छ । एसपी सिंहले भने, ‘होलोग्राम हेर्दा सक्कलीजस्तो छ, परीक्षण गर्न यातायात व्यवस्था विभाग पठाउँछौँ ।’ उनीहरूले यातायात व्यवस्था कार्यालय बागमतीको छाप तथा अधिकृतको दस्तखतसमेत नक्कली बनाई लाइसेन्स बिक्री गरिरहेको प्रहरीले जनाएको छ ।
 
अनुसन्धानका क्रममा पक्राउ परेकाले दुई हजार रुपैयाँसम्ममा लाइसेन्स बिक्री गरेको बताएका छन् । 
 
उनीहरूबाट नक्कली लाइसेन्स किन्नेमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकामाथि सरकारी छाप, दस्तखत किर्ते मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । 
 
यातायात व्यवस्था कार्यालय बागमती र कोसीको नाममा उनीहरूले लाइसेन्स बनाउँदै आएका थिए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ