arrow

काठमाडौं महानगरपालिकाको मेयर, एमालेमा आधादर्जन आकांक्षी

जीवनराम अगाडि, योगेशको नाममात्र

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
uml-office-dhumbarahi.jpeg
काठमाडौं । मुलुकको सबैभन्दा पुरानो अनि ठूलो महानगरपालिका काठमाडौंमा स्थानीय निर्वाचन हुँदा रौनक अझै बढी देखिने छ । मुलुककै राजधानी भएको काठमाडौंमा अहिलेसम्म सबै स्रोतसाधन छ । यहाँको मेयर बन्नका लागि शीर्ष दलहरु त लागेकै छन् साना दलबीच पनि चर्को प्रतिस्पर्धा हुने देखिएको छ । अन्तिम प्रतिस्पर्धा भने काँग्रेस र एमालेबीच नै हुने देखिएको छ । 
 
एमालेले कसलाई उम्मेदवार बनाउला भन्ने चर्चा चले पनि हाल आधा दर्जन जति नाम सार्वजनिक भइरहेका छन् । पूर्व मेयर केसव स्थापितदेखि पार्टी केन्द्रीय सचिव योगेश भट्टराईसम्मको नाम मेयरको उम्मेदवारका रुपमा सार्वजनिक भइरहेका छन् । अन्य दावेदारीमा सुनिएका नामहरु कृष्णगोपाल श्रेष्ठ, विदुर मैनाली, सानु श्रेष्ठ, विद्यासुन्दर शाक्य लगायत छन् ।  
 
स्रोतका अनुसार कृष्णगोपाल, केसव, सानु र विद्यासुन्दर सुरुवाती छनोटमै पर्ने छैनन् । पूर्व उपमेयर भएका नाताले विदुर केही समय टिके पनि उनी अन्तिम चरणमा हुने छैनन् । केसव स्थापितमा अब राजनीतिक संस्कार नै नभएको एक एमाले केन्द्रीय सदस्यले बताए ।
 
तर स्थापित चुनावी अभियानमा भने लागिसकेका छन् । सानु ‘पद खोस्न गइँदैन, पाए छोडिंदैन’ भन्दै हिंड्न थालिसकेका छन् । उनले भने, ‘सानु सम्भावित नाम हो, आकांक्षीहरु धेरै छन्, पार्टीले जे निर्णय गर्छ त्यही हुन्छ ।’
 
पार्टी केन्द्रीय सचिव योगेश भट्टराईले हाम्राकुरासंग ‘मेरो कुनै कुरै भएको छैन, पार्टीमा पनि छलफल भएको छैन, बाहिर आएको सबै हल्ला हो’ भने । 
 
भट्टराईले आफूले अहिले मेयरमा उठ्ने मनस्थितिसमेत नबनाएको बताए । उनले पार्टी नीति खोल्दै सुनाए, ‘पार्टीले एउटा मापदण्ड बनाउँछ, विधि र प्रक्रिया तोक्छ, अनि बल्ल उम्मेदवारी घोषणा हुन्छ ।’
 
जीवनराम श्रेष्ठलाई भने सम्भावित उम्मेदवारमा अगाडि राख्न थालिएको छ । स्थानीय निकायको अनुभवी जीवनराम काठमाडौंका रैथाने हुन् । उनी ०४९ को स्थानीय निकाय निर्वाचनमा काठमाडौं १५ नम्वर वडाका वडाध्यक्ष भएका नेता हुन् ।
 
त्योबेला उनले ३० वर्षसम्म एकछत्र राज गरेको व्यक्तिलाई माथ खुवाएका थिए । उनी अहिले पार्टी केन्द्रीय सदस्य हुन् । उनको सकारात्मक पक्ष भनेको महानगरपालिका बन्दा उनी त्यसकै सदस्य थिए । यसमा उनी अनुभवी पनि छन् ।
 
त्यतिमात्र नभइ उनी राष्ट्रिय खेलकुद परिषद दुई पटक सम्हालेका व्यक्ति हुन् । प्रशासनिक काममा तेज उनले २०६५ सालमा बहुदलपछि पहिलो पटक राष्ट्रिय खेलकुद परियोगिता भब्य रुपले सम्पन्न गर्न अहम् भूमिका खेलेका थिए । साथै अन्तर्राष्ट्रिय कुटनीतिमासमेत अगाडि रहेका जीवनराम नेपाल ओलम्पिक कमिटिको अध्यक्ष छन् । 
 
उनी आफ्नो उम्मेदवारीबारे हाम्राकुरासंग भन्छन्, ‘साथीहरु र अग्रजहरुले मेयरमा चुनाव लड्नुपर्छ भनेर सम्झाइरहेका छन्, मेरो स्थानीय तहको लगानी, राष्ट्रिय स्तरको प्रशासक(राखेप) भइरहेको र स्थानीय स्तरमा पनि अनुभवी (ओलम्पिक कमिटि) भएकाले पनि योग्य छु जस्तो लागेको छ ।’
 
जीवनरामको सकारात्मक पक्ष भनेको उनलाई शीर्ष नेताहरुको आशिर्वाद छ । केपी ओली बाहेकका शीर्ष नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमको आशिर्वाद लिएर अगाडि बढिरहेका जीवनराम अन्तिममा एमालेबाट पाउने कोटाका उम्मेदवार बन्नसक्ने देखिएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ